५ वर्ष अर्थमन्त्री भएकी भारतकी सितारमणले चुनाव लडन खर्च छैन् भनिन तर नेपालमा २-४ महिना मन्त्री भएकाले पैसाकाे खाेलाे बगाउँछन् कसरी?

Mar 28, 2024 06:28 PM Merolagani

बाबुराम ढकाल

आफूले चाहेको निर्वाचन क्षेत्रबाट आउँदो लोकसभा चुनाव लड्न भाजपा अध्यक्ष जेपी नड्डा तथा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको अनुरोधलाई अस्विकार गर्दै वहालवाला अर्थमन्त्री निर्मला सितारमणले भनिन्-मसँग चुनाव लड्नको लागि पैसा छैन् ।

राज्य सभा सांसदको रुपमा तल्लो सदनमा प्रतिनिधित्व गरिरहेकी निर्मला १० वर्षदेखि मन्त्री छन् । २०१४ मा मोदी सत्तामा आएपछि उद्योग वाणिज्य मन्त्री बनेकी निर्मला २०१९ पछि अर्थ मन्त्री बनिन् । कुनै विवादमा नपरेकी, अब्बल मन्त्री भएकोले पार्टीको तर्फबाट रोजेकै क्षेत्रबाट चुनाव लड्न प्रस्ताव आउँदा उनले पार्टीलाई जवाफ दिइन-मसँग चुनाव लड्ने पैसा छैन।

निर्मलाका अनुसार पार्टीबाट चुनाव लड्नको लागि प्रस्ताव आएपछि उनले त्यसबारेमा ८-१० दिन सोंचिन । उनलाई लाग्यो-चुनाव महँगो छ, त्यसको लागि खर्च गर्ने हैसियत मेरो छैन् ।

निश्चय पनि अरु नेता जस्तै निर्मला पनि पार्टी र शुभचिन्तकको सहयोगको भरमा चुनाव लड्न सक्थिन, तर आफूले पनि केही न केही खर्च गर्नु परिहाल्छ, सहयोगको भरमा मात्रै हुँदैन । त्यसको लागि आफ्नो पारिवारिक अवस्था र मन्त्री हुँदा आउने तलव सुविधाको बचतले पुग्ने अवस्था नभएपछि उनले घोषणा गरिन-चुनावमा खर्च गर्ने पैसा छैन, म चुनाव लडदिन ।

भारतको मात्रै होइन, अपवादमा वाहेक विश्वभरकै चुनावी प्रणाली अति नै महंगो भएको छ । त्यसमाथि पनि भारत, नेपाल जस्ता दक्षिण एशियाली मुलुकहरुमा त चुनाव जित्नको लागि ‘मनी र मसल’ अनिवार्य शर्त बनेको छ । सामान्य आर्थिक अवस्था भएका परिवारका सदस्यहरुको लागि चुनावमा टिकट पाउनु र चुनाव जित्नु असम्भव बन्दै गएको छ । त्यहीकारण नेपालमा पनि इमान्दार र
त्यागी नेता कार्यकर्ताहरु चुनावी प्रकृयाबाट टाडिँदैछन् र राजनीतिक पार्टीहरु ‘चुनाव जित्न सक्ने’ भन्दै गुण्डा, डन र व्यापारीहरुलाई टिकट दिने, सांसद र मन्त्रीहरु बनाउने क्रम बढ्दो छ । एमाले उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीले दिएको टिकट नलिनु र संजय टक्ला, दिपक मनाङगे र रोज राणाहरु मन्त्री बन्नुले धेरै कुरा स्पष्ट पार्छ ।

नेपालको सन्दर्भमा अर्थमन्त्री भनेको सबैभन्दा ‘हट’ मन्त्रालय हो । एक पटक अर्थमन्त्री भएपछि स्वतः उस्को वर्ग परिवर्तन हुन्छ । मन्त्री बन्दाको दिन जुन अवस्थामा भएपनि अर्थमन्त्री (अझ नेपालमा त जुनसुकै मन्त्री पनि) भएपछि उस्को आर्थिक हैसियत रातारात चुलिन्छ र उ देशकै धनी वर्गहरुको श्रेणीमा पुग्छ । रामशरण महतदेखि महेश आचार्यसम्म भरतमोहन अधिकारीदेखि विष्णु पौडेलसम्म बाबुराम भट्राईदेखि महरा र वर्षामान पुन, जनार्दन शर्माहरुको विगत र वर्तमानलाई अलिकति विश्लेषण गर्ने हो भने धेरै कुरा छर्लङग हुन्छ । अपवादका केही पात्रहरुको कुरा बेग्लै हो ।

अरु बेलाको काम-कमिसनको लेखाजोखा गर्नै पर्दैन, बजेट निर्माणको क्रममा विवादास्पद व्यवसायीहरुसँग मिलेमतोमा गरिने छलकपटले नै अर्थमन्त्रीलाई ‘पुग्नेगरी’ मालामाल बनाउँछ । अर्थमन्त्री मात्र होइन, उनका आसेपासेहरुको आर्थिक हैसियतसमेत चुलिएको हुन्छ ।

त्यहीकारण नेपालमा अर्थमन्त्री बन्नको लागि मरिहत्ते हुन्छ । अर्थमन्त्री बनेर देशको आर्थिक स्थितिलाई गति दिने इच्छा शक्तिले होइन कि पुस्ता, दरपुस्ताको लागि आफ्नो पारिवारिक हैसियत सुरक्षित गर्ने उद्देश्यको लागि मन्त्री बन्न हारालुछ हुन्छ । र, सबैभन्दा गजब, यस्तो प्रवृत्ति कम्युनिष्ट भनिएका नेता कार्यकर्तामा सबैभन्दा बढी छ ।

यस्तो अवस्थामा भारत जस्तो विशाल देशको अर्थमन्त्रीले मसँग पैसा छैन, चुनाव लडिदन भनेर घोषणा गर्दा अहिले भारतको मात्रै होइन, विश्वकै अर्थराजनीति तरंगित हुनु स्वभाविक हो । जबकी ‘जनताको आँखा’ बाट हेर्ने हो भने यो स्वभाविक हो । किनकी भ्रष्टाचार नगरिकन राजनीति गर्ने हो भने जसोतसो जीवन निर्वाह होला, अकुत सम्पत्ति कमाउन असम्भव छ । लगातार १० वर्षसम्म (त्यसमध्ये ५ वर्ष त अर्थमन्त्री नै) भारतको संघीय मन्त्री रहेकी निर्मला सितारमण जस्तो नेता त खर्च जुटाउन नसकेर चुनाव लड्न सक्दिनन् भने २-४ महिना मन्त्री भएकाहरु कसरी राजसी ठाँडबाँठसहितको जीवन जिउँछन् र चुनावमा पानी सरह पैसाको खोला बगाउँछन् भन्ने प्रश्नको जवाफ खोज्न कुनै कसरत गर्नै पर्दैन । ‘स्वंयसिद्ध तथ्य’ ले नै प्रमाणित गर्छ । त्यसैले देश बनाउने हो भने सबैभन्दा पहिलो काम भ्रष्टाचार नियन्त्रण गर्नु पर्छ र त्यसको शुरुवात चुनावी प्रणालीबाटै गरिनु पर्छ । चुनावमा हुने अनियन्त्रित खर्चलाई नियन्त्रण नगर्ने हो भने भारतमा मात्र होइन, नेपालमै पनि निर्मला सितारमणहरु राजनीतिबाट बाहिरिदैँ जानेछन् र देश सम्पूर्णरुपमा डन र तस्करहरुको नेतृत्वमा जानेछ ।

त्यसैले निर्मला सितारमणको घोषणालाई साक्षी राखेर नेपालका राजनीतिक दल र नेताहरुले पनि गंभिर ‘चुनावी मन्थन’ गर्न ढिलाई भइसकेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।