हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयोः अध्यक्ष ढकाल

Mar 28, 2024 06:12 PM Merolagani

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सरकारले लगाएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्। अध्यक्ष ढकालले हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भएकाले नेपालमा यात्रा गर्ने विदेशीहरु कम भएकाले पर्यटन व्यवसायमा नकारात्मक असर परेको दाबी गरे । उनले सरकारले हवाई टिकटमा गत वर्षको बजेटमार्फत सरकारले व्यवस्था गरेको १३ प्रतिशत अतिरिक्त कर करेक्शन गर्न आवश्यक रहेको बताए। सरकारले रोयल्टीमा ५ प्रतिशत शुल्क लगाउने नीतिले नेपालमा गुणस्तरीय अन्तर्राष्ट्रिय होटलमा लगानी आउन र सञ्चालनमा समेत कठिन भएको उनकाे भनाइ थियाे। उनले भारतीय र गैरआवासीय भारतीय नागरिकहरुको विवाहको इभेन्ट भारत भन्दा बाहिर गर्ने प्रचलन रहेको भन्दै उक्त इभेन्ट नेपालमा गर्नसक्ने गरी नीतिगत रुपमा व्यवस्था गर्न आवश्यक रहेको उल्लेख गरे । अध्यक्ष ढकालले उक्त विवाहका इभेन्ट नेपालमा ल्याउन सके नेपालले धेरै लाभ लिनसक्ने अवस्था रहेको र सीमामा पर्यटनसँग सम्बन्धित सबै कुराहरु सहज बनाउन आवश्यक रहेको बताए ।

उनले भने,‘पाँच तारे होटलका ५ प्रतिशत सर्भिस चार्जको कारणले गुणस्तरीय विदेशी ब्राण्ड नेपालमा आउनको लागि असजिलो भइरहेको छ । गत वर्षको बजेटले हवाई टिकट र लक्जरी भ्याट थप गरेको छ । त्यसले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरेको छ । उक्त भ्याटमा करेक्शन हुनुपर्छ भन्ने हाम्रो माग छ । भारतीय र गैरआवासीय भारतीय नागरिकहरुको विवाहको इभेन्ट भारत भन्दा बाहिर गर्ने प्रचलन रहेछ । उनीहरु थाइल्याण्ड,फिलिफिन्स,इण्डोनेसिया,दुबईमा गइरहनुभएको छ । यो इभेन्टहरु धेरै संख्यामा भइरहेको छ । भारतसँग खुला सीमाना भएकाले नेपालमा विवाह इभेन्ट प्रोत्साहन गर्ने हिसाबले कानूनहरु बनाउनसके छोटो समयमा धेरै पर्यटन ल्याउन सकिने हुन्छ । विवाहको लागि उहाँहरुले ल्याउने सुनका गहनाहरु समेत सहज रुपमा ल्याउने वातावरण बनाउन सक्नुपर्छ । त्यसबाट धेरै ठूलो फाइदा लिन सकिन्छ । सीमामा पर्यटनसँग सम्बन्धित सबै कुराहरु सहज बनाउन सकियो भने धेरै राम्रो हुन्छ । पर्यटन बोर्डलाई निजी क्षेत्रको समेत सहभागिता गराएर अझ प्रभावकारी बनाउन आवश्यक छ । सरकारले भैरहवा र पोखरा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलहरु धेरै ठूलो लगानीमा बनाए पनि सञ्चालनमा आउन सकेको छैनन् । सरकारले विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्छ । तत्काल सञ्चालनमा ल्याउन सकियो भने नेपालमा पर्यटनको धेरै सम्भावना रहेको छ ।’

उनले पर्यटन बोर्डलाई प्रभावकारी बनाउनको लागि निजी क्षेत्रको समेत सहभागिता गराउन माग गरे। उनले पर्यटन बोर्डमा निजी क्षेत्रको सहभागिताले मात्रै पर्यटन प्रवद्र्धन थप प्रभावकारी बनाउन सकिने बताए । अध्यक्ष ढकालले सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरु तत्काल सञ्चालनमा ल्याउन आवश्यक रहेको भन्दै विमानस्थल सञ्चालनमा ल्याउन सक्दा मात्रै नेपालमा पर्यटनको धेरै सम्भावना देखिएको बताए ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।