चैत लागेदेखि नै घटेको बजारमा सबैभन्दा बढी कुन सेक्टर घट्यो ? कुन कम्पनी बढ्यो ? (सूची सहित)

Apr 03, 2024 06:14 AM Merolagani

सुवास निरौला

चैत लागेयता शेयर बजार निरन्तर घट्दो लयमा छ। गएको २० दिनमा नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ३.४० प्रतिशतले घटिसकेको छ। गत चैत १ गते २०८०.८७ अंकमा रहेको नेप्से सूचक मंगलबार २०१०.२१ अंकमा झरेको छ। जुन ३.४० प्रतिशतको गिरावट हो।

सूचकमा साढे तीन प्रतिशतको गिरावट आउँदा उपसूचकहरू पनि अछुत रहन सकेका छैनन्। सबै जसो उपसूचक घटेका छन्। नेप्सेले वर्गीकरण गरेका १३ उपसमूहमध्ये १२ उपसमूह घटेका छन् भने लघुवित्त समूह मात्रै बढेको छ।

सबैभन्दा ठूलो धक्का वाणिज्य बैंक समूहलाई लागेको छ। उसको उपसूचक ५.१९ प्रतिशतले घटेको छ। वाणिज्य बैंक समूहमा सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको शेयर मूल्य ७.०१ प्रतिशतले घटेको छ भने विकास बैंकमा मुक्तिनाथ विकास बैंकको ६.०४ प्रतिशतले घटेको छ।

बजार बढ्दा पनि खासै बढ्न नसक्ने र घट्दा पनि सोही क्षेत्रलाई प्रेसर पर्दा वाणिज्य बैंकमा लगानी गर्ने लगानीकर्ता हैरान छन्।

तर यस अवधिमा लघुवित्तका लगानीकर्ताले भने निराश हुनु परेको छैन। शेयर बजारलाई चैतको खडेरीले च्याप्दा लघुवित्त समूहलाई भने कुनै प्रेसर परेको छैन। बरु यो समूहमा हरियाली छाएको छ। यस अवधिमा समग्र लघुवित्त समूहको उप सूचक १.२४ प्रतिशतले बढेको छ। गत चैतको पहिलो दिन ३८६२.४२ अंकमा रहेको सूचक मंगलबार ३९१०.३४ अंकमा उक्लिएको छ। 

 

वाणिज्य बैंक पछि सबैभन्दा धेरै गुमाउने समूहमा अन्य परेको छ। अन्य समूहमा परेका सूचीकृत कम्पनीहरूको शेयर मूल्य बेस्सरी घट्दा अन्य समूहको कारबार मापन गर्ने उपसूचक ५.०९ प्रतिशतले घटेको छ।  अन्य समूहमा ६ कम्पनी सूचीकृत छन्। जुन समूहमा हाइ क्याप कम्पनीहरू छन्। नेपाल टेलिकम, नेपाल रि इन्स्योरेन्स, नेपाल रिपब्लिक मिडिया, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ् कम्पनी र हिमालयन रि इन्स्योरेन्स छन्। नेपाल टेलिकम, नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्स कम्पनी हाइ क्याप कम्पनी हुन्। अन्य समूहमा रहेका सबैजसो कम्पनीको शेयर मूल्य घटेका कारण उक्त समूहमा बढी प्रेसर परेको हो। यस समूहमा रहेको नेपाल रि इन्स्योरेन्स कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ६.७७ प्रतिशतले घटेको छ भने मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य १.१५ प्रतिशतले बढेको छ। ट्रेडिङ समूहमा रहेको साल्ट ट्रेडिङको शेयर मूल्य १६.२४ प्रतिशतले घटेको छ भने विशाल बजार कम्पनीको शेयर मूल्य ३.२० प्रतिशतले बढेको छ।  

यस अवधिमा जलविद्युतमा समूहमा परेका कम्पनीहरूको शेयर मूल्य मिश्रित देखिएको छ। केहीको मूल्य घटेको छ भने केहीको मूल्य बढेको छ। जसमा सबैभन्दा बढी गुमाउनेमा माउन्टेन इनर्जी नेपाल छ। उसले प्रति कित्ता १०.६३ प्रतिशत गुमाएको छ। कमाउनेमा पिपल्स पावर छ। उसको शेयर मूल्य ६४.७५ प्रतिशत बढेको छ।

यस अवधिमा बिमा समूह तर्फ सूचीकृत सबै कम्पनीको शेयर मूल्य घटेको छ। जीवन र निर्जीवन तर्फ कुनै पनि कम्पनीका मूल्य बढेका छैनन्। जीवन बिमा तर्फ सबैभन्दा बढी गुमाउने कम्पनीमा सूर्य ज्योति लाइफ इन्स्योरेन्स छ। उसले प्रति कित्ता शेयर मूल्य ७.११ प्रतिशतले घटेको छ । निर्जीवन बिमा तर्फ सबैभन्दा बढी गुमाउने कम्पनीको सूचीमा एनएलजी इन्स्योरेन्स छ। उसले प्रति कित्ता ७.१८ प्रतिशत गुमाएको छ।

यस अवधिमा वित्त कम्पनी र होटेल मिश्रित देखिएका छन्। वित्त कम्पनीहरूमा सबैभन्दा बढी गुमाउने कम्पनी गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी हो। उसले प्रति कित्ता ४.९३ प्रतिशत गुमाएको छ। यता होटेल तर्फ सबैभन्दा बढी गुमाउनेमा सोल्टी होटेल परेको छ। उसले प्रति कित्ता ४.८२ प्रतिशत गुमाएको छ।  

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।