खेमराज लकाईको नेतृत्वमा पाटा नेपाल च्याप्टरमा नयाँ कार्यसमिति

Jun 07, 2024 04:18 PM MeroLagani

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले “नेपाल टुरिजम २.०ः भविष्यको मार्गचित्रण” भन्ने मूल नाराका साथ २४ जेठ २०८१ का दिन पार्क भिलेज रिसोर्टमा आयोजित ४५ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । साधारणसभाले ग्लोबल एकेडेमी अफ टुरिजमका प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ ।


नवनियुक्त अध्यक्ष खेम लकाइले नयाँ जिम्मेवारीका साथ पाटाको अध्यक्षको भूमिकामा प्रवेश गरेको भन्दै संस्थाको गरिमालाई उँचो बनाउँदै पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाको सहकार्यमा प्रवद्र्धनात्मक काममा सक्रिय हुने बताए । अध्यक्ष लकाइले भने, “म यो सम्मान र अवसरका लागि सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु । यस सम्मानित संस्थाको विरासतमा सुम्पनु एक विशेषाधिकार हो । पाटा फाउन्डेसनको बोर्ड अफ ट्रस्टीको रूपमा होस् वा पाटा मुख्यालयबाट निर्वाचित बोर्ड सदस्य, पाटा नेपाल च्याप्टर भित्र व्यापक सेवा सहित मेरो पाटासँगको सम्बन्ध र आवद्धता धेरै वर्षदेखि सक्रिय रहेको छ ।”

उनले पाटा नेपालका संस्थापक अध्यक्ष स्वर्गीय श्री प्रभाकर शमशेर जबराको सम्झनामा सम्मान व्यक्त गर्दै यस प्रतिष्ठित संस्थालाई नेपालमा ल्याएर पर्यटन उद्योगको प्रवद्र्धन र विकासका लागि सक्रिय भूमिका निर्बाह गर्नुका साथै नेपाललाई विश्वसँग जोड्ने उहाँको दृष्टिकोण अहिले हाम्रो काँधमा आएको बताए । अध्यक्ष लकाइले सम्पूर्ण पर्यटनमा आवद्ध संघसंस्था र सरोकारवालाहरुलाई पर्यटनको माध्यमबाट देशको विकास र समृद्धिको साझा सपना साकार पार्न एकजुट भई लाग्न अनुरोध गरे ।

साधारणसभाले पाटाको महासचिवमा नरेन्द्रदेव भट्ट (प्रबन्ध निर्देशक–हेरिटेज टुर्स एण्ड ट्राभल), कोषाध्यक्षमा रीतल राणा (प्रबन्ध निर्देशक–मिड भ्याली इन्टरनेशनल कलेज) चयन गरेको छ । अन्य कार्यकारी सदस्यहरुमा लाक्पा फुटी शेर्पा (संस्थापक–लक्जरी डीएमसी ट्राभल), रुपेश जोशी (निर्देशक–बुद्ध एयर), विनोद अधिकारी (निर्देशक–आर्य भिलेज ट्राभल्स), सुनीलबहादुर भट्टराई (कार्यकारी निर्देशक–बीजीबी क्याफे), हिम्मत पुरी (निर्देशक–डेस्टिनागो टुर्स एण्ड ट्राभल), सरिता लामा (प्रवन्ध निर्देशक–अफ द वाल ट्रेकिङ) र तेन्जिङ प्याङ लामा (निर्देशक–होटल ल्हासा इन्टरनेशनल (दुसित प्रिन्सेस काठमाडौं) चयन भएका छन् ।

त्यसैगरी, कार्यसमितिमा डा. स्मृति कला पन्त (बीएचएम÷बीएचटीएम प्रमुख–लिटिल एन्जलस कलेज अफ म्यानेजमेन्ट), प्रकाशचन्द्र लोहनी (अध्यक्ष–अल्पाइन उद्धार सेवा), सुमन घिमिरे (कार्यकारी निर्देशक–जंगल सफारी लज), इमु रेग्मी (निर्देशक–बसेरा बुटिक होटल) प्रोक्सी पदाधिकारी तथा सदस्यहरूमा चयन गरेको छ ।

साधारण सभाको साँझ औपचारिक समारोह तथा वार्षिक अवार्ड वितरण समारोहमा पाटा नेपाल च्याप्टरले वरिष्ठ पर्यटन तथा होटल व्यवसायीहरु अम्बिका श्रेष्ठ (द्वाराकाज होटल्स एण्ड रिसोर्ट्सका अध्यक्ष) र श्यामबहादुर पाण्डे (होटल सांग्रिलाका संस्थापक) लाई पर्यटन तथा आतिथ्य उद्योगको विकास र विस्तारका लागि निर्बाह गरेको अमूल्य योगदान, जीवन्त स्वैच्छिक सेवा, नेतृत्व र समर्पणको सम्मान स्वरुप ‘पाटा लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरेको थियो ।

त्यसैगरी, यती ग्रुपका अध्यक्ष लाक्पा सोनम शेर्पालाई उनको असाधारण नेतृत्व, अग्रगामी पहल र नेपालको पर्यटन उद्योगको प्रवद्र्धन, विस्तार र विकासमा उत्कृष्ट योगदानको लागि “टुरिज्म ट्रेलब्लेजर अवार्ड २०२४“ बाट पुरस्कृत गरिएको छ । एक्सप्लोर नेपालका संस्थापक भरत बस्नेतलाई नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन र दिगो विकासका लागि निःशर्त सहयोग, निरन्तर सक्रियता, वकालत र सराहनीय संलग्नताका लागि “पाटा पर्सनालिटी अफ द इयर २०२४” पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी, हेरिटेज टुर्स एण्ड ट्राभल्सका संस्थापक नरेन्द्रदेव भट्टलाई उनको अटल प्रतिबद्धता र नेपाली पर्यटनमा उल्लेखनीय योगदानका साथै संस्थालाई उहाँले प्रदान गर्नुभएको कानुनी मार्गदर्शन र सहयोगका लागि “पाटा स्पेसल कन्ट्रिब्युसन अवार्ड–२०२४“बाट सम्मानित गरियो । यस्तै, प्रिमियर होटल स्कुल, इटहरीलाई सन् २०२३ मा संस्थाको विविध पहल तथा कार्यक्रमहरूमा उत्कृष्ट संलग्नता र योगदानको कदरस्वरुप “पाटा बेस्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२३”अवार्ड प्रदान गरिएको छ ।
कार्यक्रममा, जर्मनिस्थित मिनिङफुल टुरिजम सेन्टरका संस्थापक प्रा.डा. वोल्फगाङ जर्ज अर्ल्टले पाटा नेपाल च्याप्टरले जुन ५, २०२४ मा आयोजना गरेको ‘एक्सपर्ट मिट’ को निष्कर्ष सार्वजनिक गर्दै “नेपाल टुरिजम २.०” मा मुख्य वक्ताको रुपमा मन्तव्य दिएका थिए । उनले कम्युनिटी होमस्टे नेटवर्क, टाइगर माउन्टेन, पोखरा लज र केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्ट्सलाई “मिनिङफुल टुरिजम गोल्ड अवार्ड” प्रदान गरे । त्यसैगरी उनले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई “मिनिङफुल टुरिजम रजत अवार्ड प्रदान गर्नुका साथै नेपाल वायुसेवा निगम र होटल हिमालयलाई “मिनिङफुल टुरिजम कास्य अवार्ड” प्रदान गरे ।

प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै अहिले मुलुकमा संस्था र संघसंस्थाबीच यस्तो एकता दुर्लभ भएको बताए । उनले सन् २०२४ मा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई साझा गर्दै पर्यटकको आवागमनलाई बढावा दिन निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्रोत बजारमा नयाँ र सिर्जनशील पर्यटन उत्पादन प्रवद्र्धन गर्न आमन्त्रण गरे । साथै, उनले पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्न हवाई टिकटमा लगाइएको भ्याट र अन्य अनावश्यक कर हटाउन आफू सक्रिय रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निवर्तमान अध्यक्ष विभूति चन्द ठाकुरले सम्पूर्ण सदस्य, संघसंस्था तथा सरोकारवालाहरूलाई निरन्तर साथ र सहयोगको लागि विशेष धन्यवाद धन्यवाद व्यक्त गर्दै देशको दिगो पर्यटन विकास र विस्तारका लागि एकजुट भएर लाग्न उपस्थित सबैलाई आह्वान र अनुरोध गरे ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।