असारमा पनि निक्षेपको ब्याजदर घटाउने बैंकहरुको तयारी, कोभिड कै समयमा जस्तै झर्दै ब्याजदर

Jun 10, 2024 05:22 PM Merolagani



आगामी असार महिनामा पनि बैंकहरुले निक्षेपको ब्याजदर घटाउने तयारी गरेका छन्। निरन्तर तरलता बढेको तर कर्जा लगानी नभएको कारण बैंकहरुले निक्षेपको ब्याजदर अझै घटाउने तयारी गरेका हुन्।

जेठमा नै बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ७.०६ प्रतिशतमा झरेको छ भने संस्थागत मुद्दती निक्षेपको ब्याजदर औसतमा ५.८९ प्रतिशतमा झरेको छ।

अहिले पनि बैंकहरुमा अधिक तरलता कायमै छ। केन्द्रीय बैंकले बैंकहरुमा अधिक तरलता भएको भन्दै झण्डै डेढ खर्ब रुपैयाँ बजारबाट खिचेको छ। बैंकहरुको सिडि रेशियो औसतमा ८० प्रतिशतमा झरेको छ। यसले बैंकहरुमा अहिले करिब ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको देखाउँछ।

अहिले बैंकहरुको कर्जा लगानीको तुलनामा निक्षेप संकलन निकै धेरै छ। निक्षेप निरन्तर बढ्दा पनि कर्जा लगानी हुन सकेको छैन्। असार महिनामा बैंकरहरु कर्जा लगानी भन्दा बढी कर्जा असुलीमा केन्द्रित हुन्छन्। जसले गर्दा बैंकहरुको कर्जा लगानी सुस्त हुन्छ भने निक्षेप धेरै बढने छ।

असारमा तरलता थप बढ्ने भएको कारणले पनि अहिले धेरै बैंकरहरु निक्षेपको ब्याजदर थप घटाउने पक्षमा देखिएका छन्। "कर्जा लगानी बढन् सकेको छैन। निक्षेप मात्रै बढ्दा लगानीयोग्य रकम थुप्रिएको छ," एक बैंकरले भने "ब्याजदर न्युन विन्दुमा आइसकेको छ तर पनि अझै केहि घटाउनै पर्ने हो कि जस्तो देखिन्छ।"

अहिले कतिपय बैंकहरुको पूँजीकोष दबावमा रहेको कारण पनि थप कर्जा लगानी गर्ने ठाँउ छैन। यसले गर्दा पनि निक्षेपकै ब्याजदर घटाएर लागत घटाउनुपर्ने अवस्था देखिएको ती बैंकरले बताए। "धेरै घटाउने ठाँउ त छैन तर सामान्य भने ब्याजदर घट्न सक्छ," उनले भने ।

अहिले झण्डै एक दर्जन बैंकको पूँजीकोष अनुपात टाइट छ। जसले गर्दा उनीहरु थप कर्जा विस्तार गर्न सक्ने क्षमतामा छैनन्। त्यसले गर्दा निक्षेपको ब्याजदर बढाएर लागत बढाउने पक्षमा बैंकरहरु छैनन्।

असारमा सरकारी खर्च पनि धेरै हुने भएकोले बैंकहरुको निक्षेप अझै बढ्ने अवस्था छ। लगानीयोग्य रकम मात्रै थुपारेर पनि हुँदैन ती बैंकरले भने सकेसम्म स्रोतको लागत घटाउनै पर्ने अवस्था देखिन्छ।

अहिले बैंकहरुले लगानीयोग्य रकम अधिक भएकै कारण ३ प्रतिशत ब्याजदरमा नै १ खर्ब बढी पैसा राष्ट्र बैंकमा राखेका छन्। निक्षेपकर्तासँग त्यो भन्दा बढी ब्याज तिरेर लिएको रकम सस्तो ब्याजदरमा राष्ट्र बैंकमा राख्दा बैंकहरु उल्टो घाटा ब्यहोरिरहेका छन्। यसले गर्दा नै बैंकरहरु थोरै भए पनि ब्याजदर घटाएर जानुपर्ने बताउन थालेका छन्।

यसअघि कोभिडको समयमा पनि बैंकहरुको ब्याजदर निकै तल झरेको थियो। व्यक्तिगत मुद्दतीको ब्याजदर ६ प्रतिशतकै हाराहारीमा झरेको थियो भने कर्जाको ब्याजदर औसतमा साढे ८ प्रतिशतसम्म झरेको थियो। अहिले पनि बैंकहरुमा निरन्तर अधिक तरलता हुँदा ब्याजदर सोहि अवस्थामा आउन लागेको देखिन्छ।




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।