न्यून चुक्ता पुँजी र ऋणात्मक इपीएस भएका कम्पनीको शेयर मूल्य उच्च किन ?

Jun 20, 2024 06:16 AM MeroLagani

पछिल्लो समय न्यून चुक्ता पुँजी र नकारात्मक प्रति शेयर आम्दानी भएका कम्पनीको शेयर मूल्य उच्च दरले बढ्न थालेको छ । पछिल्लो समय पालैपालो ट्रेन्डिङमा आएका माइक्रोफाइनान्स, फाइनान्स र हाइड्रोपावर कम्पनीको उच्च मूल्य भएका कम्पनीहरु प्रायः न्यून चुक्ता पुँजी र ऋणात्मक प्रति शेयर आम्दानी भएका कम्पनी नै छन् ।

चालु आवको तेस्रो त्रैमाससम्मको रिपोर्ट अनुसार ऋणात्मक प्रति शेयर आम्दानी भएका माइक्रोफाइनान्स कम्पनीहरु 

८ वटा छन् । ८ वटा कम्पनीमध्ये ६ वटा माइक्रोफाइनान्स कम्पनीको शेयर मूल्य १ हजारभन्दा माथि छ । माइक्रोफाइनान्समा सबैभन्दा न्यून चुक्ता पुँजी र ऋणात्मक प्रति शेयर आम्दानी रहेको समाज लघुवित्तको शेयर मूल्य बुधबार २६ सय ४७ रुपैयाँमा अन्तिम कारोबार भयो जसको प्रति शेयर आम्दानी १३ रुपैयाँ ४० पैसाले ऋणात्मक छ । समाज लघुवित्तको चुक्ता पुँजी २ करोड २९ लाख रुपैयाँ मात्रै छ । त्यस्तै माइक्रोफाइनान्समा ऋणात्मक प्रति शेयर आम्दानी हुँदाहुँदै पनि १ हजार रुपैयाँभन्दा माथि शेयर मूल्य रहन सफल अर्को कम्पनी विन नेपाल लघुवित्त हो । ७ करोड ९२ लाख रुपैयाँ चुक्ता पुजी रहेको विन नेपाल लघुवित्तको प्रति शेयर आम्दानी ८ रुपैयाँले नकारात्मक छ । १४ करोड ८५ लाख रुपैयाँ मात्रै चुक्ता पुँजी भएको मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य १४ सय ६० रुपैयाँ हुँदा त्यसको प्रति शेयर अम्दानी भने ९ रुपैयाँ ८७ पैसा छ । माइक्रोफाइनान्समा सबैभन्दा ऋणात्मक प्रति शेयर आम्दानीरहेको धौलागिरी लघुवित्तको बजार मूल्य १२ सय ५५ रुपैयाँ रहेको छ । धौलागिरी लघुवित्तको चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ मात्रै रहेको छ । त्यसैगरी १० करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको मानुषी लघुवित्तको शेयर मूल्य १३ सय ३८ रुपैयाँ ९० पैसा रहेको छ । २५ करोड रुपैयाँ चुक्ता पुँजी र ११ रुपैयाँ ९१ पैसाले ऋणात्मक प्रति शेयर आम्दानी रहेको अभियान लघुवित्तको शेयर ९ सय २० रुपैयाँ ९० पैसामा कारोबार भइरहेको छ ।

ऋणात्मक प्रति शेयर आम्दानी भएका माइक्रोफाइनान्स मध्ये तुलनात्मक रुपमा उच्च चुक्ता पुँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको एनएमबी माइक्रोफाइनान्स शेयर भने सबैभन्दा कम ७ सय ११ रुपैयाँमा कारोबार भइरहेको छ । ‘साइडवेज मार्केटमा आधारभूत रुपमा कमजोर भए पनि थोरै पुँजीले चलाउने कम्पनी मात्रै चल्ने गरेकाले त्यस्तै कम्पनीको शेयरमा आकर्षण बढेको छ । आधारभूत रुपमा बलियो भए पनि छिमेकी लघुवित्त, डिप्रोक्स लघुवित्त जस्ता कम्पनीहरु चल्नै सकेका छैनन ।–इन्भेष्टमेन्ट भन्दा ट्रेडिङमै रमाउने गरेकाे काठमाडौं बानेश्वरका लगानीकर्ता रमण नेपालले बताए । उनका अनुसार माइक्रोफाइनान्सको हकमा ५० करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएका कम्पनी जस्तोसुकै वित्तीय अवस्था भए पनि ट्रेडरहरुले चलाउने गरेका छन् । इन्भेष्टर भन्दा ट्रेडर बढी भएको नेपालको पुँजी बजारमा छोटो समयको लागि मात्रै लगानी गर्ने हुँदा कम्पनीको फन्डामेन्टललाई धेरै महत्व नदिएको उनकाे भनाइ छ ।

तथ्यांक हेर्दा यही अवस्था फाइनान्स कम्पनीको शेयर मूल्यमा पनि देखिएको छ । ६९ करोड चुक्ता पुँजी रहेको जानकारी फाइनान्स जसको प्रति शेयर आम्दानी २० रुपैयाँ ९७ पैसाले ऋणात्मक छ, त्यो कम्पनी ५ सय ५५ रुपैयाँमा कारोबार रहेको छ । जानकी फाइनान्सको नेटवर्थ समेत ७९ रुपैयाँ ९४ पैसा मात्रै छ । प्रति शेयर आम्दानी १२ रुपैयाँ १७ पैसाले नकारात्मक इपीएस रहेको गुडवील फाइनान्स ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ भने ८ रुपैया ६३ पैसा ऋणात्मक प्रति शेयर आम्दानी रहेको सेन्ट्रल फाइनान्स समेत ४ सय ३३ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले पुँजीको आधारमा क ख ग र घ गरी ४ वर्गमा बैंक तथा वित्तीय संस्थाहरुलाई बाँडफाँड गरेको छ तर शेयर मूल्यको आधारमा हेर्दा भने न्यून चुक्ता पुँजी भएको लघुवित्तको शेयर मूल्य सबैभन्दा उच्च छ । माइक्रोफाइनान्स कम्पनीको शेयर मूल्य ६ सय रुपैयाँभन्दा माथि नै रहेको छ । त्यसपछि दोस्रो उच्च मूल्य भएको कम्पनीहरुमा फाइनान्स कम्पनीहरु पर्छन् । फाइनान्स कम्पनीहरु ३ सय रुपैयाँ भन्दा माथि नै कारोबार भइरहेका छन् भने तेस्रो कम मूल्यमा विकास बैंकका कम्पनीहरु कारोबार भइरहेका छन् । विकास बैंकहरु न्यूनतम २ सय ५० रुपैयाँभन्दा माथिल्लो मूल्यमा कारोबार भइरहेका छन् । चुक्ता पुँजीको हिसाबले सबैभन्दा धेरै रहेको वाणिज्य बैंकको शेयर मूल्य भने पछिल्लो समय १ सय ३८ रुपैयाँदेखि ५ सय ५० रुपैयाँको बीचमा कारोबार भइरहेका छन् ।

हाइड्रोपावर कम्पनीको हकमा समेत रेगुलर लाभांश दिने कम्पनीहरु बुटवल पावर, चिलिमे हाइड्रोपावर, सानिमा हाइड्रोपावरको शेयर मूल्य खासै बढ्न सकेको छैन तर न्यून चुक्ता पुँजी भएको शुभम पावर, कुथेली बुखारी स्मल हाइड्रोपावर जस्ता कम्पनीको शेयर भने एकदमै उच्च रहेको छ । कुथेली बुखारी स्मल हाइड्रोपावर न्यून चुक्ता पुँजी हुनाको साथै रिभर्ज र इपीएस समेत सकारात्मक रहेको हुँदा यसको मूल्य बुधबार १७ सय ३ रुपैयाँमा अन्तिम कारोबार भयो । यहाँ हामीले ऋणात्मक इपीएसका बाबजुद पनि उच्च मूल्यमा कारोबार भइरहेका हाइड्रोपावर कम्पनीहरुको सूची राखेका छौं जसको नेटवर्थ १ सय रुपैयाँभन्दा मुनि छ र अधिकांशको रिजर्भ पनि ऋणात्मक नै छन् तर नेपालको पुँजी बजारमा यस्तै कम्पनीको शेयर मूल्य २ सय रुपैयाँभन्दा माथिल्लो मूल्यमा कारोबार भइरहेकोछ । २० करोड रुपैयाँ मात्रै चुक्ता पुँजी रहेको शुभम पावर बुधबार ७ सय ७० रुपैयाँमा कारोबार भयो । ६ सय ८७ पैसाले ऋणात्मक इपीएस रहेको शुभमको नेटवर्थ ८७ रुपैयाँ २३ पैसा मात्रै रहेको छ भने रिजर्भ समेत २ करोड ५५ लाख रुपैयाँले नकारात्मक छ।

comments powered by Disqus

'नोक्सानी पाल्नु मृत शरिरलाई कुरेर बस्नु जस्तै हो, समयमा शेयर बिक्री गर्न जान्नु पर्छ'

Jun 22, 2024 10:59 AM

शेयर बजारमा निरासा छ । यो निरासाका बीचमा पनि केहि कम्पनी र सेक्टरहरु चलेका छन । जसले लगानीकर्तालाई धेरैथाेरै भएपनि कमाउने मौका दिएको छ ।