पछिल्लो समय बैंकहरुले मुद्दती निक्षेपमा दिने ब्याज दर विस्तारै घटाउँदै लगेका छन् भने बैंकहरुको ऋणपत्रको प्रतिफल १० प्रतिशत भन्दा बढी भएका कारणले पछिल्लो समय लगानीकर्ताहरु ऋणपत्रमा समेत आकर्षित भएको एक क्यापिटलका प्रमुख कार्यकारी अधिकृतले बताए । अहिले संस्थागत निक्षेपकर्तालाई बैंकहरुले साढे ५ देखि ६ प्रतिशतको हाराहारीमा मात्रै ब्याज दर प्रदान गरिरहेको छ जबकि बैंकहरुले ऋणपत्रमा दिने प्रतिफल भनेको १० प्रतिशतभन्दा माथि छ त्यसकारण अहिले संस्थागत लगानीकर्ताको साथै सर्वसाधारण लगानीकर्ता समेत ऋणपत्र कारोबारमा आकर्षित भइरहेको उनले बताए । अहिले असार मसान्तको समयमा ऋणपत्र खरिद गर्दा ६ महिनाको कुपन रेट समेत पाउने हुनाले पनि ऋणपत्रको कारोबार बढी हुन गएको उनले बताए ।
एनआइसी एसिया क्यापिटलका मुख्य मर्चेन्ट बैकिङ अधिकृत दामोदर रायमाझीले आर्थिक वर्षको क्लोजिङको समय पारेर मुद्दती निक्षेपको ब्याज दर घटेको हुँदा बढी ब्याज दिने ऋणपत्र तिर आकर्षित भएको हुन सक्ने उनले बताए । विशेषगरी बैंकहरुको रिटायरमेन्ट फन्ड, बीमा कम्पनीहरुले बैंकको मुद्दती निक्षेपमा लगानी गर्नु भन्दा अहिलेको अवस्थामा यस्ता ऋणपत्रहरुमा फाइदा देखेको हुन सक्ने उनले बताए । ऋणपत्र बिक्रीकर्ताले कुपन रेट भन्दा बढी बेच्न पाउँदा केही प्रिमियममा पाएका छन् भने खरिदकर्ताले पनि म्याचुरिटी पिरियड धेरै भएको हुँदा यो वर्ष केही बढी दरमा ऋणपत्र खरिद गर्नुपरे पनि आगामी दिनमा फाइदा हुने आँकलनमा खरिद गरेको हुन सक्ने उनले बताए ।
आइतबार १५ वटा ऋणपत्रको कारोबार भएकोमा ३ वटाको मूल्य घटेर कारोबार भयो भने १२ वटा बढेर कारोबार भयो । ११ प्रतिशत कुपन रेट रहेको महालक्ष्मी ऋणपत्र २०८९ नामक ऋणपत्र ११४४ मा १ सय कित्ता कारोबार भयो भने १०.३५ प्रतिशत कुपन रेट रहेको एग्रिकल्चरल डेभलपमेन्ट बैंक ऋणपत्र २०८३ भने ११३ रुपैयाँमा ८ सय ४२ कित्ता कारोबार भयो । नेपाल एसबीइ बैंकको १०.२५ प्रतिशत कुपन रेट भएको ऋणपत्र सबैभन्दा बढी १२ सय १५ कित्ता कारोबार भयो ।
ऋणपत्रमा अघिल्ला अंग्रेजी छोटा शब्दले बैंक तथा वित्तीय संस्थाको कोड नाम जनाउँछ । जुन बैंकले ऋणपत्र जारी गरेको हो, त्यहीं बैंकको कोड नाम लेखिन्छ । कोडनाममा जोडिएको डीको अर्थ डिवेन्चर (ऋणपत्र) हो । पछाडिका दुई अंकले ऋणपत्र परिपक्व हुने साललाई जनाउँछ ।
बजारमा विभिन्न बैंक तथा वित्तीय संस्थाका कुल ७४ नामका ऋणपत्रहरु सूचीकृत छन् । एउटै बैंकका पनि ४–५ नामका ऋणपत्रहरु सूचीकृत छन् । दोस्रो बजारमा पछिल्लो समय ऋणपत्रको कारोबार बढ्नुको मुख्य कारण हो - बैंक ब्याजदरभन्दा ऋणपत्रको प्रतिफल (ब्याजदर) बढी हुनु । हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीमा अधिकतम ७ प्रतिशत मात्रै ब्याजदर दिन्छन् । संस्थागत मुद्दतीमा झन् १ प्रतिशत कम अर्थात् ६ प्रतिशत मात्रै छ ।
ऋणपत्रको अंकित मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ हुन्छ । त्यहीं १ हजार रुपैयाँमा प्राथमिक बजारमा जारी भएका ऋणपत्र बजारमा कारोबार हुँदाको मूल्य भने फरक फरक छ । केही ऋणपत्रको मूल्य प्रतिकित्ता ९ सय हाराहारीमै छ भने केहीको ११ सय हाराहारीमा छ । ऋणपत्रको प्रतिफल दर (ब्याजदर) आधारमा बजारमा मूल्य तय हुने गरेको छ । धेरै ब्याजदर दिएका ऋणपत्रको मूल्य स्वभाविक रुपमा केही बढी हुने गरेको छ भने धेरै ब्याजदरको साथमा म्याचुरिटी पिरियड धेरै भएका ऋणपत्रको पनि मूल्य बढी हुने गर्दछ ।
ऋणपत्रमा लगानी गर्दा कसरी, कहिले पाइन्छ प्रतिफल ?
प्राथमिक बजारमा १ हजारका दरले किनिएका कतिपय ऋणपत्र बजारमा अझै पनि १ हजारमुनी छन्। तर पछिल्ला केही महिनामा ऋणपत्रको भाउ बढेको छ । १० प्रतिशत प्रतिफल दिने कतिपय ऋणपत्रको मूल्य अहिले १ हजारभन्दा माथि पुगेको छ । ऋणपत्र कम्तीमा २५ कित्ता खरिद बिक्री गर्न सकिन्छ, सोभन्दा तलको लगानी भने यसमा हुँदैन । ऋणपत्रको प्रतिफल ६–६ महिना (सामान्यतया असार मसान्तको भोलिपल्ट र पुस मसान्तको भोलिपल्ट) पाइन्छ ।
कुनै व्यक्तिले फागुन २५ गते १० प्रतिशत ब्याजदरको एबीसी–८५ नामको ऋणपत्र खरिद गर्यो भने उसले आगामी असार मसान्तपछि (साउनको पहिलो साता) वार्षिक १० प्रतिशतका दरले गणना गरी ६ महिनाको ब्याज प्रतिफल पाउँछ । असार मसान्त र पुस मसान्तमा ऋणपत्र होल्ड गरेकाहरुले ६ महिनाकै ब्याज पाउँछन् ।
ऋणपत्रमा लगानी भइसकेपछि तोकिएको अवधिसम्म नै एउटै ब्याजदर हुन्छ । प्रायः ऋणपत्रको अवधि ५ देखि १० वर्षसम्मको हुन्छ । सो अवधिसम्म साँवा रकम फिर्ता हुँदैन । यद्यपि बजारमा त्यहीं ऋणपत्र बेचेर बाहिरिन सकिन्छ । प्राथमिक बजारमा १ हजारका दरमा ऋणपत्र किनिए पनि बजारमा अंकित मूल्य १ हजार रुपैयाँभन्दा तलमाथि हुन सक्छ । अर्थात् मूल्य घट्न र बढ्न पनि सक्छ । चलनचल्तीको बैंक ब्याजदरभन्दा ऋणपत्रको ब्याज न्यून भएमा मूल्य घट्छ । बैंकको चलनचल्ती ब्याजभन्दा ऋणपत्रको ब्याज बढी हुन गएमा ऋणपत्रको मूल्य थप बढेर पुँजीगत लाभ पनि लिन सकिन्छ ।