अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति आउने, माैद्रिक नीतिले गर्न सक्ने हदैसम्मको प्रयास गर्ने गभर्नरकाे घाेषणा

Jul 04, 2024 05:58 PM Merolagani



नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउने गरी आउने बताएका छन्। मौद्रिक नीति तर्जुमाको पूर्वसन्ध्यामा गभर्नर अधिकारीले यस्तो बताएका हुन्।

अहिलेको अवस्थामा मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने मुख्य विषय अर्थतन्त्रलाई चलायमान बनाउने भएको भन्दै राष्ट्र बैंकले सोही अनुसारको मौद्रिक नीति ल्याउने उनले बताए।

अहिले बैंकहरुको नाफा घट्दै गएकोमा पनि गभर्नर अधिकारीले चिन्ता व्यक्त गरे। उनले अहिले व्यवसायीको कर्जा तिर्न सक्ने क्षमतामा पनि कमी आएको बताए।

अहिले बैंकहरु नयाँ कर्जा दिन समेत डराएको बताउँदै राष्ट्र बैंकले सकेसम्म सहजीकरण गरेर जाने बताए। हिजोको दिनमा ग्राहकको क्षमताभन्दा बढी कर्जा दिँदा समस्या आएको भन्दै उनले अब त्यस्तो गल्ति दोहोर्याउन नहुने बताए।

यस्तै गभर्नर अधिकारीले मौद्रिक नीतिलाई जादुको छडी जस्तो चट्ट यसले निको पार्छ भन्ने किसिमले लिन नहुने बताउँदै मौद्रिक नीतिले गर्न सक्ने हदैसम्मको प्रयास गर्ने बताए।