सातामा ३ प्रतिशतभन्दा बढी बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Jul 06, 2024 07:07 AM Merolagani



यस साता नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। गत साता २०५१.९२ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.३० प्रतिशत अर्थात ६७.७८ अंक बढेर २११९.७० विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो। यस साताको पहिलो कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

यस साता नयाँ सरकार गठन हुने समाचारले शेयर बजार प्रभावित भएको हो। नेकपा एमालेले अर्थसहित ९ र नेपाली कांग्रेसले गृहसहित १० मन्त्रालय लिने र पहिलो चरणमा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने प्रारम्भिक सहमति भएसँगै यस साताको शेयरबजारले सकारात्मक गति लिएको हो।

यस साता सेन्सेटिभ इण्डेक्स ३.७४ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ३.८८ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.८० प्रतिशत बढेको छ।

नेप्सेसँगै यस साता भोल्यूम पनि बढेको छ। गत साता दैनिक औषतमा ४ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ५५ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ६.२४ प्रतिशत बढी हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ४२.१७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या २.४५ प्रतिशत बढेको छ।

नेप्सेको कुल बजार पूँजीकरण पनि यस साता ३ प्रतिशतभन्दा बढी बढेको छ। गत साताको तुलनामा यस साताको कुल बजार पूँजीकरण ३.३३ प्रतिशत बढेको छ।

१३ उपसमूहमध्ये यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.८१ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन २८३४.२६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २७८.०८ अंक बढेर ३११२.३४ विन्दुमा पुगेको छ।

त्यसैगरी, यस साता विकास बैंक उपसमूहको परिसूचक करिब ९ प्रतिशत बढेको छ भने वित्त उपसमूहको परिसूचक ७ प्रतिशतभन्दा बढी बढेको छ। अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३९२.५८ अंक बढेको छ।

यस साता दुई कम्पनीको ४७ लाख ८७ हजार ५६६.३७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता सूर्यज्योति लाइफ इन्स्योरेन्स र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

कारोबारमा आएको आईसीएफसी फाइनान्सको शेयरमूल्य यस साता सर्वाधिक १८.५९ प्रतिशत बढेको छ। गत साता ५४२ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयरमूल्य यस साता ६४३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस साता मञ्जुश्री फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र समाज लघुवित्तको शेयरमूल्य १६ प्रतिशतभन्दा बढी बढेको छ। यस साता मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सर्वाधिक १०.४१ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता रिभर फल्स पावर, सृजनशील लघुवित्त, सिवाईसि नेपाल लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने नेपाल दूरसञ्चार कम्पनी, बाराही हाइड्रोपावर, भगवती हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।