यो २ महिना लामो रोमाञ्चक अभियान, २१ बैशाख २०८१ मा शुरू भएको थियो । यस अभियानले नेपालका १८ शहरहरूमा तीव्र गतिको बलरहरूको प्रतिभा पत्ता लगाउने र तिनीहरूको क्षमता विकास गर्ने उद्देश्य राखेको थियो।
नेपालका १८ शहरहरुबाट उत्कृष्ट ७ जना खेलाडीहरुलाई काठमाडौंमा दोश्रो चरणको प्रतिस्पर्धाका लागि ल्याइएको थियो ।
उनीहरूले नेपाल ए टिमका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल र बलिङ प्रशिक्षक कलाम अलीको निर्देशनमा त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विशेष प्रशिक्षण प्राप्त गरेका थिए।

अन्तिम चरणको प्रतिस्पर्धामा ७ प्रतियोगीहरूले आफ्नो बलिङ कौशल प्रदर्शन गरेका थिए। निर्णायकहरूले खेलाडीहरुको दौडने शैली, बल रिलिज, ग्यादर र गति जस्ता पक्षहरूको गहन मूल्याङ्कन गरेका थिए। सो प्रतिस्पर्धामा प्रदीप जैसवालले १२५ किमी प्रति घण्टाको नयाँ कीर्तिमान बनाउँदै यस प्रतियोगितामा जित हासिल गर्न सफल भए। सन्देश थापा र राहुल कुमार यादवले क्रमशः १२२ किमी प्रति घण्टा र १२१ किमी प्रति घण्टाको गति प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन देखाएका थिए।
भावी सम्भावनाको पहिचान गर्दै प्रतिश्पर्धी रवि दमाईलाई "इमर्जिङ्ग ट्यालेन्ट"को रूपमा नगद पुरस्कार सहित सम्मानित गरिएको थियो। वर्ल्डलिंकको यस "बिट द स्पीड" अभियानको विजेता प्रदीप जैसवालले पनि नगद पुरस्कार जित्नुका साथै, वर्ल्डलिंकको प्रायोजनमा भारत स्थीत चेन्नईको एमआरएफ पेस फाउन्डेसनमा प्रशिक्षणको अवसर प्राप्त गर्न सफल भएका छन् ।
१२१ किमी प्रति घण्टाको गतिमा बलिङ्ग गरेका १४ वर्षीय राहुल कुमार यादवलाई पनि दर्शकहरुले निकै रुचाएका थिए । यसका साथै उनको बलिङ्ग एक्सनलाई धेरै दर्शकहरुले “लसिथ मलिङ्गा” सँग समेत तुलना गर्दै भविष्यमा उनी एक उत्कृष्ट खेलाडीका रुपमा स्थापित हुने सम्भावना रहेको टिप्पणी गरेका छन् ।
समापन समारोहमा,"हामी बिट द स्पीड"मा प्राप्त भव्य प्रतिक्रियाबाट अत्यन्तै उत्साहित छौं," वर्ल्डलिंकका मार्केटिङ प्रमुख तेन्जिन छोगेलले भने, "यो पहल क्यानको सहयोग बिना सम्भव थिएन, र हामी आगामी वर्षहरूमा थप प्रतिभा पत्ता लगाउन र उनीहरूको विकासमा सहयोग पुर्याउन उत्साहित छौं।"
"बिट द स्पीड" अभियानले केवल उदयमान क्रिकेटरहरूलाई एक महत्वपूर्ण मञ्च प्रदान गर्नुका साथै नेपालले विश्वस्तरका तीव्र गतिको बलरहरू उत्पादन गर्न सक्ने सम्भावनालाई पनि उजागर गरेको छ।
वर्ल्डलिंक र क्यानको उत्कृष्टता प्रवर्द्धन गर्न र खेलकुदका नयाँ नायकहरूलाई प्रेरणा दिन सदा प्रतिबद्ध रहन्छ। यो अभियानले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने छ। यस संस्करणका सम्पुर्ण भिडियोहरु कम्पनिको फेसबुक तथा युट्युबमा उपलब्ध छन् ।