२०८१ सालको असार मसान्त सकिन लाग्दै गर्दा हाम्रो बजारमा यस्ता दृश्यहरु देखिएका छन्, जसले लगानीकर्तालाई लामो र पट्यारलाग्दो निराशाको घुम्टो फालेर अवसर छोप्ने हतारो भएको भान गराउँछ। यसलाई सुत्रबद्ध रुपमा निम्न प्रकारले व्याख्या र विश्लेषण गर्न सकिन्छ।
१. आधारभुत अवस्था बलियो भएका कयौं कम्पनीको भाउ नेटवर्थभन्दा मुुनि छन्
शेयर बजारमा हेर्नुपर्ने पहिलो कुरा कम्पनीको आधारभुत अवस्था नै हो। लामो निराशाको चक्रबाट गुज्रदै गर्दा हाम्रो शेयर बजारमा आधारभुत अवस्था मजबुत रहेका, लाभांश दिईरहेका वा दिनसक्ने, आगामी दिनमा राम्रो गर्नसक्ने, धितोको रुपमा उच्च महत्वप्राप्त कयौं कम्पनीका शेयर मूल्य प्रति शेयर नेटवर्थ भन्दा मुनी वा हाराहारीमा ओर्लिए। पछिल्ला दिनमा त्यस्ता कम्पनीहरुको शेयर मूल्य केही उचालिए पनि अझै अपेक्षित विन्दुभन्दा धेरै तल नै छन्। कम्पनीहरुको यस्तो अवस्थाले अल्पकालीन होस् वा दीर्घकालीन लगानीकर्ता, दुवैलाई अवसर छोप्न उत्प्रेरित गर्छ। बजारमा कम भन्दा कम जोखिम लिएर लाभांश वा पूँजीगत लाभको हिसाबले लगानीका लागि उपयुक्त अवसरहरु छन्।
२. अधिक तरलताको अवसर
जब बैंकहरुमा अधिक तरलताको अवस्था देखिन्छ, तब हाम्रो शेयर बजारमा शेयरको मूल्य उचालिने गरेका दृष्टान्तहरु छन्। पूँजी बजारलाई जहिले पनि मुद्रा बजारले ठूलो सहयोग गरेको हुन्छ। बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएर कर्जा प्रवाह हुन नसकेको अवस्थामा त्यो पैसा परिचालन गर्ने थलो पूँजी बजार नै हुने गरेको छ। पैसा फालाफाल हुँदा बैंकहरुले पूँजी बजारमा कर्जा प्रवाह बढाउने गर्छन भने पैसाको अभाव हुँदा यस क्षेत्रमा हुने कर्जा प्रवाहलाई नियन्त्रण गर्छन्। केन्द्रीय बैंकको नीतिले त झन् पूँजी बजारमा थोरै भन्दा थोरै कर्जा प्रवाह होस् भन्छ र अन्य कर्जाहरुलाई प्राथमिक पूँजीको सीमा भित्र नराखे पनि शेयर कर्जालाई बैंकको प्राथमिक पूँजीको ४० प्रतिशतको सीमा भित्र राखेको छ। तर बजारमा अधिक तरलता भएर पैसा तान्दा तान्दा अहिले त राष्ट्र बैंककै हालत खराब हुन लागिसकेको छ। बैंकहरु निक्षेपकर्तालाई दिनुपर्ने ब्याज समेत कसरी तिर्ने भनेर कर्जा प्रवाहको उपाय खोज्दै भौतारिन थालेका छन् र पूँजी कोष अनुकुल बनाउने उपाय खोज्दै लचिलो मौद्रिक नीति ल्याईदिन राष्ट्र बैंकसँग अनुनय बिनय गर्दैछन्।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंकहरुमा ६४ खर्ब ५७ अर्बको निक्षेप छ भने जम्मा कर्जा प्रबाह ५१ खर्ब ५४ अर्ब मात्र भएको छ। यसमा झण्डै १३ खर्ब निक्षेप बेकामे बनेर बसेको अवस्था छ। बैंकहरुको पूँजी र जगेडा कोष समेत गणना गर्दा बैंकहरुमा बेकामे बसेको पैसा अझ बढी हुनसक्छ। बैंकहरुको सीडी रेशियोको हिसाब गर्ने हो भने यो ७७.८४ मा झरेको छ, जुन संकटको समयमा ९० प्रतिशत नाघेको थियो। अन्तर बैंक ब्याज दर २.९८ मा झरेको छ, जसले अधिक तरलताको स्पष्ट संकेत दिन्छ। जानकार स्रोतका अनुसार बैंकहरुले ८ खर्ब हाराहारी कर्जामा लगाउनुपर्ने पैसा परिचालन गर्न सकका छैनन्। त्यसको प्रत्यक्ष मार बैंकहरुलाई परेको छ।
विप्रेषण लगातार बढेर गई २० खर्ब नाघेको छ र चाडपर्वहरु नजिकिँदा त्यो अरु बढ्छ। अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत बन्दा आन्तरिक अवस्था भने अझै रुग्ण नै राखिरहने नीतिको समीक्षा जरुरी भईसकेको छ।
३. अन्य क्षेत्रमा कर्जा जानै नसक्ने अवस्था
नेपालमा कर्जाको बढी माग हुने क्षेत्रहरु भनेका घरजग्गा, आयात निर्यात र उद्योग व्यवसाय हुन्। सहकारीको समस्याले घरजग्गा क्षेत्र अहिले धेरै चलायमान हुने अवस्था छैन र वर्षातको बेला भएकाले त्यस क्षेत्रमा तत्कालै ठूलो कर्जा बृद्धि हुन सक्दैन। यस्तो बाढी र भेलको समय कुनै उद्योगी व्यवसायीले ठूलो उद्योग धन्दा सञ्चालनका लागि ठूलो कर्जा माग गर्ने अवस्था छैन। चालु पूँजी कर्जा रकम घटाउनु पर्ने दबाब र कर्जाको ब्याज भुक्तानीबाट चेपुवामा परेका ठूला उद्योगीले लामो समयदेखि ठूलो कर्जा माग गरेका छैनन्। यस कारण पनि बैंकहरुको धेरै रकम प्रवाह हुन नसकेको स्पष्ट छ।
अर्कोतर्फ तीज, दशैं तिहार, छठ लक्षित आयात पनि तत्काल त्यति धेरै बढ्ने संभावना छैन किनभने बजारमा माग नै छैन। माग नबढ्नुको कारण उपभोग गर्नेको क्रय क्षमता नै कमजोर भएर हो। क्रय क्षमता बनाउन आन्तरिक अर्थतन्त्र चलायमान बनाउनुपर्छ। त्यसपछि माग बढ्छ र आयात गर्न व्यापारीहरु सल्बलाउँछन्। आयात गरेर बजारमा सामान पठाउँदा उधारो नउठेर अहिले त व्यापारीहरु नै प्रताडित छन्। तर बिजुली गाडीको आयात भने बढेको आँकडाहरु सार्वजनिक भएका छन्। यतातर्फ बेंकहरुले कर्जा लगानी पनि बढाएका छन्।
४. बजारमा आपुर्ति नथपिएको मौका
दोस्रो बजारमा सूचीकृत शेयरहरुमा अहिले लगानी गर्दा अब मूल्य धेरै नघट्ने अर्को कारण हो, बजारमा आईपीओको बाढीमा अस्थायी विराम लाग्नु। धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिको किचलोले नयाँ आईपीओ स्वीकृतिमा बिलम्ब भएको छ। झन् रिलायन्स स्पिनिङ्ग मिल्सको बुक बिल्डिङ आईपीओको लफडाले नयाँ आईपीओहरुको स्वीकृतिमा अरु विलम्ब हुने सम्भावना बढेर गएको छ। नयाँ आईपीओ स्वीकृतिको लहर चल्दा बजारमा धेरै साना लगानीकर्ता त्यतै बहकिने गरेका छन्। दोस्रो बजारमा पुराना कम्पनीभन्दा आईपीओ ल्याउने नयाँ कम्पनीको मूल्य बढी हुने गरेको छ। नयाँ आईपीओले दोस्रो बजारमा आउने पैसा र दोस्रो बजारमा पहिलेदेखि नै रहेको पैसा तान्ने हुन्छ। यसरी आईपीओको बाढी थामिएको अवस्थामा दोस्रो बजारमा रहका राम्रा कम्पनीको शेयरमा लगानी गरेर कमाउने मौका हो।
५. लगानीकर्ताको मनोविज्ञानमा परिवर्तन
नेप्से सूचक कहाँ छ भन्ने कुराले लगानीकर्ताले कमाउने वा गुमाउने भन्ने कुराको निर्धारण गर्दैन तर शेयर बजारमा केही लगानीकर्ता सूचकले २२०० को विन्दु काट्यो भने लगानी गर्नुपर्छ भन्ने मनोविज्ञान बनाएर बसेका थिए। शेयर बजार भनेको अन्य कुराका साथै लगानीकर्ताको मनोविज्ञान पनि एक प्रमुख कडी हो।
गत बिहीबार अर्थात असार २७ गते त्यो मनोविज्ञानलाई सघाउ पुग्ने गरी सूचक २२०४ मा टेको लगाएर कारोबार बन्द भएकाले सूचक हेरेर लगानी गर्नेहरु अब बजार छिर्ने सुरसारमा लागेका छन्। बैंकमा निक्षेप राखेर वा शेयर बजारबाट निकालिएको पैसा अन्य ठाउँमा पार्किङ गरेर राखेकाहरुले अब पैसा पुनः शेयर बजारमै फर्काउन सक्छन्। त्यसले लगानीकर्ताको मनोबल झन् उच्च बनाउँदा नौलो दृश्य देखिनसक्छ।
६. नयाँ सरकार गठन र विष्णु पौडेलको आश
माओवादी नेतृत्वको प्रचण्ड सरकारको पतन भएर केपी ओलीको नेतृत्वमा संसदका मुख्य दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकार गठन प्रक्रिया शुरु भएको छ। देशमा स्थिर सरकार बन्ने संकेतका साथ यी दुई दलले देशको संबैधाानिक, राजनीतिक र आर्थिक समस्या समाधान गर्छन् भन्ने आशा आम नागरिकमा संचार हुनु स्वभाविक छ। प्रचण्ड सरकारभन्दा ओलीको नेतृत्वमा बन्ने काँग्रेस एमालेको सरकार लगानीकर्ता मैत्री हुन्छ भन्ने आम बुझाई छ।
यो सरकारप्रति लगानीकर्ताको धेरै लगाव हुनुको अर्को कारण अर्थमन्त्रीमा विष्णु पौडेल नै आउँछन् भन्ने लगानीकर्ताको अपेक्षा पनि हो र काँग्रेस र एमालेमा अहिले विष्णु पौडेलको विकल्प पनि देखिन्न। पहिले पटक पटक अर्थमन्त्री भएका पौडेल पूँजी बजार मैत्री एमाले नेता मानिन्छन् र उनी अर्थमन्त्री भएका बेला विगतमा पूँजी बजारमा आशाको संचार भएका पनि छन्। निवर्तमान सरकारका अर्थमन्त्री बर्षमान पुनःले लगानीकर्तालाई उधारो ललिपप मात्र देखाएर पूूँजी बजार सुधार र बिस्तारमा सिन्को समेत नभाँची बिदा भएकाले पौडेलप्रति बढी अपेक्षा हुनु स्वभाविक छ। नयाँ सरकारले पुर्णता पाएर पूर्ण क्षमतामा काम गर्न केही दिन लाग्ने हुँदा शुरुमा अर्थमन्त्रीमा पौडेलको नियुक्ति मात्र भयो भने पनि लगानीकर्ताको दबिएको मनोबल यसै उकासिन्छ। त्यसपछि नयाँ अर्थमन्त्रीले अर्थतन्त्रका समस्याहरुको क्रमबद्ध समाधाान खोज्दै पूँजी बजार सुधार र बिस्तारका कामहरु गर्दै गएर बजारलाई स्थायित्व दिनसक्नुपर्छ।
७. नयाँ मौद्रिक नीतिको अपेक्षा
यसपल्ट कस्तो संयोग परेको छ भने केपी ओलीको नेतृत्वमा काँग्रेस एमालेको नयाँ सरकार बन्नु र राष्ट्र बैकले नयाँ मौद्रिक नीति खुकुलो बनाएर ल्याउनुपर्ने बाध्यता एकसाथ परेको छ। नयाँ प्रधानमन्त्री केपी ओली र गभर्नर महाप्रसाद अधिकारीको साईनो जोडिएको आम चर्चा चल्दै आएको परिप्रेक्षमा नयाँ सरकार आउने वित्तिकै राष्ट्र बैंकले पनि ठूलै नीतिगत परिवर्तन गर्नु संयोग मात्र हो। सरकारलाई लोकप्रिय बनाउन राष्ट्र बैंकले नीतिगत परिवर्तन गर्छ भन्नु तार्किक कुरा हैन तर नयाँ अर्थमन्त्रीको समेत सल्लाहमा राष्ट्र बैंकले आफ्नो समेत आबश्यकता र बाध्यताले लचिलो मौद्रिक नीति ल्याउनुपर्ने कुरालाई स्वभाविक मान्नुपर्छ। राष्ट्र बैंक लचिलो नहुने हो भने अहिले बैंकहरुमा देखिएको तरलता ब्यवस्थापन हुँदैन, कर्जा विस्तार हुँदैन, अर्थतन्त्र चलायमान हुँदैन र सरकारको राजश्व असुली पनि बढ्दैन। उद्योगी, व्यवसायी र हामी लगानीकर्ताको मनोगत चाहनाले हैन, राष्ट्र बैंकलाई नै परेको अफ्ठेरो र बाध्यताले यसपल्ट ठूलै नीतिगत परिवर्तन अपेक्षित छ। विगतमा लिईएका कडा नीतिगत कदमलाई राष्ट्र बैंकले विस्तारै खुकुलो पार्दै आएकै हो, यसपल्ट ठूलै ढोका खुल्छ।
८. लाख रोपेर करोड कमाउने बेला
शेयर बजार अति जोखिमपूर्ण ठाउँ हो। यहाँ गुमाउन सजिलो छ तर कमाउन धेरै गाह्रो छ । यति हुँदाहुँदै पनि अहिलेको अवस्थामा शेयरमा राम्रो रणनीति, जोखिम बहन क्षमता, लगानीयोग्य रकमको जोहो, सही कम्पनीमा सही समयमा प्रवेश र निस्कने योजनासहित लगानी गर्ने हो भने केही लाख लगाएर करोड कमाउन सकिन्छ। थुप्रे कम्पनीहरु छन्, जसको मूल्य पाँच गुणासम्म बढे पनि अन्यथा मान्नुहुँदैन। तर अरुको लहै लहै र लहडमा लगानी गर्नेहरु चाँही बजारमा कमाएर हैन, गुमाएर रित्तो हात हुनेछन्।
खेलाडीहरुले नचाहिँदो रुपमा उचालेका मूल्यहिन कम्पनीहरुमा लगानीकर्ता फस्ने जोखिम पनि उत्तिकै छ। यो बजार त्यस्तो बजार हो, जहाँ मूल्य सधैं बढिरहँदैन। खेलाडीहरुले सधैं एउटै कम्पनी उचालिरहँदैनन्। आधार नभएका कम्पनीलाई जब खेलाडीले छाडिदिन्छन्, सर्वसाधारण लगानीकर्ताहरु पाहा पछारिएको जसरी पछारिने छन्। यो जोखिमलाई ख्याल गरेर सुझबझपूर्ण लगानी गर्न सकियो भने केही लाख लगाएर अवश्य नै करोड कमाउन सकिन्छ। केहीले बितेको चार, पाँच महिनामै करोडौ कमाईसके भने कमाउने संभावना अहिले नै अन्त्य हुनेवाला छैन। तर जोखिम भने सबै रहन्छ।
करोड कमाईन्छ भनेर भन्दै गर्दा जथाभावी र अरुको लहै लहैमा लगानी गर्नेहरु डुब्छन् भन्ने हेक्का राख्नुपर्छ।
९. कस्ता कम्पनी हेर्ने त?
कम्पनीहरु छान्दा सकेसम्म राम्रो नेटवर्थ भएको, दोहोरो अंकको प्रतिशेयर आम्दानी र धनात्मक जगेडा रहेको, अघिल्ला वर्षहरुमा लाभांश दिएको र आगामी साधारण सभामा दिनसक्ने, कारोबार बृद्धि गर्दै लगेको, सुधारिदै गएको, बजारमा शेयर आपुर्ति कम तर मजबुत वित्तीय र कारोबार आधार भएको, संस्थागत सुशासन भएको, बैंकले शेयर कर्जाका लागि स्वीकार गर्ने, एउटै खेलाडी वा समूहको हातमा शेयर कर्नरिड. नभएको, संस्थापक परिवर्तन भएर ठूलो आपूर्ति आई मूल्य घट्ने जोखिम नभएको जस्ता आधारहरु हेर्नुपर्छ। यसो भयो भने कम जोखिम हुनसक्छ। धेरै कम्पनीमा लगानी छर्ने नभई बढीमा ५ वटा कम्पनीसम्मको लगानी विविधिकरण लायदायक देखिन्छ। शेयर बजार जोखिमको क्षेत्र भएकाले पर्याप्त सावधानीका साथ आफैले निर्णय गर्न चुक्नु हुँदैन। डुबेपछि अरुलाई दोष दिएर गुमेको पैसा फिर्ता आउँदैन, न त आफुले कमाएको धन अरुलाई बाँड्नु नै पर्छ।