बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक बढ्यो, ‘टप टेन गेनर्स’ मा भने अधिकांश जलविद्युत कम्पनी

Jul 14, 2024 03:10 PM Merolagani



साताको पहिलो कारोबार बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक बढेको छ। यस दिन सो उपसमूहको परिसूचक सबैभन्दा बढी ३.७४ प्रतिशत बढेको छ।

त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक पनि ३ प्रतिशतभन्दा बढी बढेको छ भने जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विकास बैंक, वित्त, होटल, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक बढेपनि ‘टप टेन गेनर्स’ अर्थात शेयरमूल्य सर्वाधिक बढेका शीर्ष १० कम्पनीको सूचीमा अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन्। यस दिन रिडी पावर र माण्डु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन जानकी फाइनान्स र हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बलेफी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ५.१२ प्रतिशत घटेको छ।

आइतबार नेप्से परिसूचक ५२.९७ अंक बढेर २२५७.५९ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ९.५९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४८ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ७ अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ९६ हजार २७४ पटकको कारोबारमा ७ अर्ब ६५ करोड ४ लाख रुपैयाँ बराबरको २ करोड २० लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २४ करोड २७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको २० करोड ७५ लाख रुपैयाँ बराबरको संस्थापक शेयर काराबार भएको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।