बुल मार्केट र लगानीकर्ताले ध्यान दिनुपर्ने विषयहरु

Jul 22, 2024 11:32 AM Merolagani



कुलचन्द्र रिजाल

विगत केही समयदेखि निराशाजनक रुपमा रहेको पूँजीबजार एक्कासी बृद्धि भएकाे तथा बजारप्रति आम लगानीकर्ताको पनि चासो र सक्रियता उल्लेखनीय रुपमा बढेको पाइन्छ।

पछिल्लो समय नेपाली पूँजीबजार निरन्तर बढी रहेको (नेप्से परिसूचक तथा कारोबार रकम दुवै) अवस्थामा धेरैले अब मार्केट बुलतिर लम्किरहेको बताएका छन्। सामान्यतया कुनै पनि पूँजीबजारमा शेयर बजार निरन्तर बढी रहेको तथा अझै निरन्तर बढ्ने आशाका किरणहरु देखिएको अवस्थालाई बुल मार्केटको रुपमा लिइन्छ। बुल मार्केटमा सामान्य तया पूँजीबजारको मापन इण्डेक्स न्यून विन्दुबाट २० प्रतिशतभन्दा बढी रहेको अवस्थालाई बुल मार्केटको रुपमा चित्रित गरिन्छ।

हाल नेपालको सन्दर्भमा कोरोनाकालमा निरन्तर बजार परिसूचक बढी २०७८, भाद्र २ मा अहिलेसम्मकै उच्चतम विन्दु ३,१९९ पुगी त्यसपश्चात् निरन्तर खस्किएको नेप्से परिसूचक २०८०, कात्तिक १९ मा १८२६ विन्दुसम्म तल झरेको थियो। यसरी न्यूनतम विन्दु १८२६ लाई आधार मान्दा बजार २० प्रतिशतभन्दा बढी बढेको देखिन्छ। जसले गर्दा बजार बुलिश ट्रेण्डमा गएको देखिन्छ। लगानीकर्ताले निकै रुचाएका पात्र विष्णु प्रसाद पौडेल अर्थमन्त्री बन्ने हल्ला पश्चात् बजार निरन्तर बढिरहेको थियो। साथै विष्णु प्रसाद पौडेलले अर्थमन्त्रीको रुपमा २०८१, असार ३१ गते पदबहाली गर्दा नेप्से परिसूचक २,२४०.४१ मा रहेको थियो र त्यसपश्चात् बजार निरन्तर बढेर २०८१, साउन ६ गते २,४८५.९४ सम्म पुगेको र अझै निरन्तर उकालो लाग्ने देखिन्छ। यी सबै आँकडालाई आधार मान्दा नेपालको पूँजीबजारले बुल मार्केटको यात्रा तय गरेको देखिन्छ।

यसरी निरन्तर खस्किएको बजार परिसूचक निरन्तर बढीरहनुमा केही उल्लेख्य कारणहरु नदेखिए पनि देशमा निरन्तर राजनितिक अस्थिरता कायम रहेको विद्यमान समयमा देशका प्रमुख दुई राजनितिक दलहरु मिलेर नयाँ सरकार गठन भएको र नवगठित सरकारले आमजनतामा रहेको चरम निराशालाई चिर्दै देशको विद्यमान अवस्थालाई सुधार गरी सुशासन, विकास र कमजोर अर्थतन्त्रलाई चलायमान गर्ने तथा वर्तमान संविधानमा रहेका बाधा अड्चनलाई संशोधन गर्दै राजनीतिक स्थायीत्व प्रदान गर्ने उद्घोष गरेकोले पनि आम लगानीकर्तालाई आत्मविश्वास जगाएको देखिन्छ। साथसाथै करिब ६३ लाख जनता प्रत्यक्ष रुपमा जोडिएको पूँजीबजारमा आम लगानीकर्ताले रुचाएका पात्र विष्णु प्रसाद पौडेलले पनि विभिन्न सरोकारवालाको भेटघाट लथा सार्वजनिक फोरममा सरकारले शेयर बजारलाई सन्तुलित तथा मर्यादित ढङ्गले अघि बढाउने, बजारका सरोकारवालाको यावत् समस्याका बारे सुन्ने र उचित समाधान गर्न तप्पर रहेको बताएकोले पनि आम लगानीकर्तामा पुनः आत्मविश्वास जागृत भएर पूँजी बजार निरन्तर बढिरहेको पाइन्छ। साथसाथै निरन्तर रुपमा कर्जाको ब्याजदर घटिरहेको तथा बाह्य क्षेत्रसँग सम्बन्धित अर्थतन्त्रका परिसूचकहरुमा निरन्तर सुधार हासिल भइरहेको र नेपाल राष्ट्र बैंकले पनि आगामी आर्थिक वर्षको मौद्रिक नीति खुकुलो ल्याउने तयारीले पनि पूँजी बजारलाई टेवा दिइएको देखिन्छ।

बुल मार्केटका विशेषताहरुः

साधारणतया बुल मार्केटमा निम्नानुसारका विशेषताहरु देख्न सकिन्छः

  • निरन्तर रुपमा बजार परिसूचक तथा कारोबार रकममा वृद्धि हुने,
  • आम लगानीकर्ताहरुले निरन्तर रुपमा शेयर किन्ने र अझै वृद्धि हुने आशामा शेयर होल्ड गरिरहने,
  • भविष्यमा अझै मूल्य वृद्धि हुने आशामा शेयरको मूल्यमा निरन्तर वृद्धि भइरहने र लगानीकर्ताहरु धेरै मूल्यमा शेयर किन्न तयार हुनु,
  • आमलगानीकर्ताले बजारमा शेयर किनबेचको मात्रा बढ्नाले तरलता उपलब्धता बढ्ने,
  • सबैभन्दा महत्वपूर्ण विशेषता भनेको आमलगानीकर्ताको पूँजीबजार प्रति निरन्तर आत्मविश्वास बढ्न गई पूँजीबजारमा गतिशिलता बढ्नु।

बुल मार्केटमा लगानीकर्ताहरुले ध्यान दिनुपर्ने विषयहरु

नेपालको पूँजीबजारमा जब जब बजार बुल ट्रेण्डमा जान थाल्दछ, तब आमलगानीकर्ताहरु पनि पूँजी बजार प्रति बढी आकर्षित हुने, सक्रिय कारोबार गर्ने र लगानी रणनीति बिना बजारको हल्लामा आधारित भएर अन्धाधुन्ध लगानी गर्ने चलन व्यापक रुममा पाइन्छ। यसले के देखाउँछ? भने जब बजार निरन्तर बढ्न थाल्दछ त्यस्ता लगानीकर्ताहरु अझै कमाउन सकिन्छ कि भनेर बिना अध्ययन, बिना तयारी तथा बिना रणनीति बजारमा हौसिएर लगानी गरिरहेको पाइन्छ, जसले गर्दा उनीहरु बुल ट्रेण्डको अवधि सकिएको चाल पाउदैनन् र बजारबाट लगानीको प्रतिफल त परै जाओस् लगानी समेत नराम्ररी डुबाउन बाध्य भएको उदाहरण प्रशस्तै पाइन्छ। यस अघिको बुल मार्केट जहाँ नेप्से परिसूचक ३१९९ सम्म पुगेको थियो र त्योबेला धेरैले बजारका हल्लाका भरमा लगानी त गरे तर बुल मार्केटबाट कमाउनुको साटो धेरैले लगानी गुमाएको पीडा आमलगानीकर्तामा व्याप्त छ। त्यसैले बुल मार्केटमा लगानी गर्दा पक्कै पनि लगानीकर्ताहरुले शेयर बजार सम्बन्धि अध्ययन गर्नुका साथसाथै उचित प्रतिफल प्राप्त गर्न तयारीका साथै केहि रणनीतिहरु अवश्य पनि अपनाउन जरुरी देखिन्छ। साथसाथै अहिले पूँजी बजारमा देखिएको वृद्धिका भरपर्दा कारणहरु नदेखिएकोले आमलगानीकर्ताहरुले निकै संयमित र चनाखो भएर मात्र शेयर कारोबार गर्नुपर्नेमा पूँजी बजारका विज्ञहरुले सुझाव दिएको पाइन्छ।

 बुल मार्केट ट्रेण्ड रहिरहेको बजारमा लगानीकर्ताहरुले शेयर कारोबार गर्दा निकै नै अध्ययन, सुझबुझ र उपयुक्त रणनीति मात्र अपनाएर लगानी गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ। बुल मार्केटमा आमलगानीकर्ताहरुले के–कस्ता रणनीतिहरु अपनाउन आवश्यक छन्? जसलाई निम्नानुसार उल्लेख गरिएको छः

  • समग्रमा बुल मार्केट पूर्ण आशावादिता,लगानीकर्ताको आत्मविश्वास र बजार निरन्तर बढोत्तरीमा आधारित हुने भएकोले बजारको प्रवृत्ति कहिले बदलिन्छ भनेर अनुमान गर्न कठिन हुने भएकोले निकै संयम भएर लगानी गर्नुपर्ने देखिन्छ।
  • लगानी विविधिकरण गरी विभिन्न सेक्टरका राम्रा कम्पनीहरुमा लगानी गर्न सकियो भने यसले एउटा सेक्टरबाट भएको घाटालाई पूर्ति गर्न सहयोग गर्दछ।
  • बुल मार्केटमा आमलगानीकर्ताले ध्यान दिनुपर्ने विषय भनेको लगानीकर्ताको आर्थिक योजना पनि हो। तपाईँसँग कती लगानीको स्रोत छ? कति सीमासम्म सहज लगानी गर्न सक्नुहुन्छ त्यसलाई पनि उचित ध्यान दिनु आवश्यक छ।
  • बुल मार्केटको दौरानमा केही कम्पनीको शेयर मूल्यमा उतारचढाव भइरहेको हुन्छ, त्यस्तो बेलामा मूल्य घटेको कम्पनीको शेयर खरिद गरी बढेको मूल्यमा बेच्न सकिन्छ। जसलाई रिट्रेसमेन्ट एडिसन भनिन्छ।
  • अर्को महत्वपूर्ण रणनीति अन्तर्गत लगानीकर्ताहरुले बुल मार्केट ट्रेण्डमा पनि केही शेयरको मूल्यमा गिरावट आउन सक्ने प्रक्षेपण गरी शर्ट सेलिङ्ग गर्न सक्दछन् जसले बजारबाट उचित प्रतिफल प्राप्त गर्न सकिन्छ।

(लेखक रिजाल नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का वरिष्ठ अधिकृत हुन्)




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।