यस अघि नेप्से सूचकले सर्वाधिक अंकको रेकर्ड कायम गर्दा ताका यति नै रकमको शेयर कारोबार भएको थियो। यस अघि २०७८ साउन ३१ गते दोस्रो बजारमा २१ अर्ब ६४ करोडको शेयर खरिदबिक्री भएको थियो। त्यस यता बुधवार भएको शेयर खरिद बिक्री सबैभन्दा धेरै हो। सूचकले रेकर्ड ब्रेक गर्नु भन्दा अघि नै कारोबार रकमले रेकर्ड ब्रेक गरेको छ।
बुधवार कारोबार रकमले मात्रै रेकर्ड ब्रेक गरेको होइन,कारोबार कित्ताले समेत रेकर्ड ब्रेक गरेको छ। बुधवार पाँच करोड ९ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भयो। जुन अहिलेसम्मकै सर्वाधिक कारोबार कित्ता हो। यसअघि चार करोड ७७ लाख कित्तासम्म शेयर किनबेच भएको थियो। त्यो पनि गत सोमबार उक्त कित्ताको शेयर किनबेच भएको थियो। यसअघि शेयर सूचकले सर्वाधिक अंकको रेकर्ड बनाउँदा तीन करोड २४ लाख कित्तासम्म मात्रै शेयर किनबेच भएका थिए। यस हिसाबले बुधवार कारोबार रकम र कारोबार कित्ताको रेकर्ड ब्रेक भयो।
अब सूचक र बजार पूँजीकरणले रेकर्ड ब्रेक गर्न बाँकी छ। यस अघिको बुलमा शेयर बजार मापक सूचक ३१९८.६० अंकसम्म उक्लिएको थियो। २०७८ भदौ २ गते सूचक उक्त बिन्दुमा उक्लिएको थियो। त्यस बेला बजार पूँजीकरण ४४ खर्ब ६८ अर्बसम्म पुगेको थियो। बुधवार बजार पूँजीकरण ४३ खर्ब ८० करोड रुपैयाँ पुगेको छ। त्यस बेलाको पूँजीकरणको रेकर्ड ब्रेक हुन अब करिब एक खर्ब बढी भए पुग्छ। त्यसैगरि सूचकले रेकर्ड ब्रेक गर्न १५.८७ प्रतिशत बढ्न बाँकी छ। त्यति अंक बढे पछि यस अघिको रेकर्ड ब्रेक हुने छ।
यस पटक सूचकले तल्लो बिन्दुबाट ४० प्रतिशतको वृद्धि कायम गरिसकेको छ। साउन लागे यताको कारोबार रकमले आउने दिनमा नेप्सेले यस अघि बनाएको रेकर्ड ब्रेक गर्ने सम्भावना निक्कै बढी छ। किनकि साउन लागे यताको दैनिक औसत कारोबार रकम १५ अर्ब भन्दा बढीको छ। साउन लागे यताको दैनिक कारोबार रकम १५ अर्ब ४१ करोड छ।
राजनीतिक वृत्तमा भएको परिवर्तन यता शेयर बजार दैनिक माथिल्लो बिन्दु तर्फ दौडिरहेको छ। बजार मैत्री अर्थमन्त्री विष्णु पौडेल आए यता लगानीकर्ताले शेयर बजारमा अलि बढी नै कन्फिडेन्स बढाएका छन्। जसले गर्दा शेयर बजारमा उछाल आएको हो। अझै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरे यता शेयर बजार झन् तीव्र गतिमा बढ्न थालेको छ। यस पटक नेपाल राष्ट्र बैंकले शेयर बजारमा लगाएको संस्थागत ऋणको क्याप खारेज गरेको छ। जसले लगानीकर्ताको मनोबल थप उच्च बनाएको छ। अर्कोतर्फ केन्द्रीय बैंकले ऋण बिस्तारको लक्ष्य बढाएर १२ प्रतिशत राखेको छ। जसले बैंक वित्तीय संस्थाले चालु आर्थिक वर्ष राम्रै ऋण बिस्तार गर्ने सम्भावनाको अनुमान लगानीकर्ताले गरेका छन्।
मौद्रिक नीतिको इफेक्ट आउन अझै केही समय पर्खनु पर्ने हुन्छ। तर शेयर बजारले सम्भावनालाई क्यास गर्ने भएकोले अहिले देखिनै लगानीकर्ताले आँखा चिम्लिएर शेयर बजारमा पैसा खन्याइरहेका छन्। यस अघि पनि शेयर बजारमा बुलिस ट्रेन्ड आउनु भन्दा अघि आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले नयाँ रेकर्ड बनाउन सहयोग गरेको थियो। यस पटक पनि नयाँ रेकर्ड ब्रेक हुन मौद्रिक नीतिले नै सहयोग गर्ने अनुमान लगानीकर्ताहरूको छ। त्यस बेला पनि मौद्रिक नीति निक्कै लचिलो आएको थियो भने यस पटक पनि मौद्रिक नीति लचिलो आएको विश्लेषण बजारमा गरिएको छ।