मध्य भोटेकोसी जलविद्युत आयोजनाले भदौ दोस्रो साता भित्र व्यापारिक रुपमा काम भइरहेको मध्य भोटेकोसी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले बताए ‘निर्माण सम्पन्न भएको मध्य भोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएपछि हाल सुरुङको मर्मत भइरहेको छ,’ उनले भने ‘सुरुङ मर्मत आगामी भदौ दोस्रो साताभित्र सक्ने लक्ष्य राखी काम भइरहेको छ ।’
मध्य भोटेकोसी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडका लागि आवश्यक पर्ने प्रसारण लाइन र सबस्टेसन निर्माणको काम सकिएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०-१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ ।
बाह्रबिसे सबस्टेसनमा २२०-१३२ केभी, १६० एमभीए र १३२-११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु रहेका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणहरुको परीक्षण सम्पन्न भइसकेको छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिने छ । मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने छ ।
२०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी महाभूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, २०७७ असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपासको क्षेत्रमा आएको बाढी–पहिरो र कोभिड–१९ को महामारीको चपेटामा आयोजना परेको थियो ।
प्राकृतिक विपत्ति र सिभिल एण्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यासम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको थियो ।
तर, पछिल्लो समयमा ठेकेदार कम्पनीले उत्साहजनक रुपमा काम गरी आयोजनालाई बिजुली उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा पुर्याउने अवस्थामा पुर्याएको छ ।
आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ रहेको छ । निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।
कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरुमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कं. लि.को १, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लि.को १, सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्रा.लि.को १ र सिन्धु भोटेकोशी हाइड्रोपावर लि.को १ प्रतिशत सेयर रहेको छ ।
४९ प्रतिशत साधारण शेयरधनी समुहमा (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीको १० र सर्वसाधारणको १५ प्रतिशत सेयर) रहेका छन् ।
आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ ।
यसैगरी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी आयोजनको निर्माणको काम सकिएर परीक्षण उत्पादन थालिएको छ । बिजुली उत्पादनका लागि टेष्टिङको काम भइरहेको रसुवागढी आयोजनका एक उच्च कर्मचारीले बताए ।
उक्त आयोजनाहरुको विद्युत निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेसनमा जोडिने छ । चिलिमे तथा त्रिसूली थ्री बी हब सबस्टेसन र चिलेमी–त्रिसूली थ्री बी हब सबस्टेसनको निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । यही प्रसारण लाइनमार्फत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।