बीमा कम्पनीहरुको शेयर बजारमा लगानी २५ अर्ब भन्दा बढी, नेपाल लाइफ एक्लैको २ अर्ब ८० करोड लगानी

Aug 21, 2024 05:45 AM Merolagani



बाबुकृष्ण महर्जन

नेपाल बीमा प्राधिकरणले सञ्चालन अनुमति प्रदान गरेका विभिन्न बीमा कम्पनीहरुले नेप्सेमा सूचीकृत साधारण शेयरमा २५ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छन् ।


प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले गत आवको मसान्तसम्म १९ अर्ब १२ करोड ६४ लाख रुपैयाँ, निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ८६ करोड ५ लाख रुपैयाँ, पुनर्बीमा कम्पनीले १ अर्ब १७ करोड ५४ लाख रुपैयाँ र लघु जीवन बीमा कम्पनीहरुले ८८ लाख ८४ हजार गरी कुल २५ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रकम नेप्सेमा सूचीकृत कम्पनीहरुको साधारण शेयरमा लगानी गरेका छन् ।

बीमा प्राधिकरणले अनुमति दिएका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये मेटा लाइफ इन्स्योरेन्स बाहेक सबै कम्पनीले शेयर बजारमा लगानी गरेका छन् । प्राधिकरणको लगानी निर्देशिका अनुसार कुल लगानीयोग्य कोषको १० प्रतिशतसम्म रकम शेयर बजारमा लगानी गर्न सकिने भएपनि कुनै पनि जीवन बीमा कम्पनीले आफ्नो कुल लगानीको १० प्रतिशत रकम पुँजी बजारमा लगानी गरेको देखिंदैन ।

तथ्यांक अनुसार सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेन्सले कुल लगानीको ८.६६ प्रतिशत अर्थात ६५ अर्ब ३९ करोड ६३ लाख ८४ हजार रुपैयाँको लगानी पोर्टफोलियोमा ५ अर्ब ६६ करोड ४५ लाख ७५ हजार रुपैयाँ शेयर बजारमा लगानी गरेकाे छ । प्रतिशतका आधारमा सबैभन्दा कम नेशनल लाइफ इन्स्योरेन्सले कुल लगानीको शुन्य दशमलब ८२ प्रतिशत मात्रै शेयर बजारम लगानी गरेका छन् । कम्पनीको ६४ अर्ब ३२ करोड ३० लाख ९८ हजार रुपैयाँको लगानी पोर्टफोलियोमध्ये शेयर बजारमा ५२ करोड ९९ लाख २८ हजार रुपैयाँ मात्रै लगानी गरेको देखिएको छ ।

सबैभन्दा ठूलो बीमा कोष रहेको नेपाल लाइफ इन्स्योरेन्सको लगाानी पोर्टफोलियो २ खर्ब ३ अर्ब १४ करोड १२ लाख ३८ हजार रुपैयाँ भए पनि त्यसको एकदमै सानो हिस्सा १ दशमलब ३८ प्रतिशत अर्थात २ अर्ब ८० करोड १८ लाख २३ हजार रुपैयाँ मात्रै शेयर बजारमा लगानी गरेकाे छ । लगानी रकमको हिसाबले सबैभन्दा कम शेयर बजारमा लगानी भने सिटिजन लाइफ इन्स्योरेन्सको देखिएको छ । कम्पनीले शेयर बजारमा २९ करोड ४५ लाख ५३ हजार रुपैयाँ मात्रै लगानी गरेकाे छ।

रिलायवल नेपाल लाइफले १ अर्ब ५ करोड ६ लाख ५२ हजार रुपयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ७७ करोड ९ लाख ५६ हजार रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सले ५८ करोड ६६ लाख १० हजार रुपैयाँ शेयर बजारमा लगानी गरेको देखिएको छ । लगानी पोर्टफोलियोको हिसाबले सबैभन्दा सानो लगानी पोर्टफोलियो भने सन नेपाल लाइफ इन्स्योरेन्सको देखिएको छ । जीवन बीमा कम्पनीहरुको समग्र लगानी पोर्टफोलियो ६ खर्ब ८२ अर्ब २९ करोड २२ लाख रुपैयाँ रहे पनि शेयर बजारमा भने त्यसको २ दशमलब ८० प्रतिशत मात्रै लगानी रहेको छ । सम्पूर्ण जीवन बीमा कम्पनीहरुको शेयर बजारमा गरेको लगानी कुल १९ अर्ब १२ करोड ६४ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

निर्जीवन बीमा कम्पनीको शेयरमा लगानी ३ अर्ब ८६ करोड रुपैयाँ

१४ वटा निर्जीवन बीमा कम्पनीमध्ये १२ वटा कम्पनीले शेयर बजारमा कुल ३ अर्ब ८६ करोड ५ लाख रुपैयाँ लगानी गरेका छन् । लगानी निर्देशिका अनुसार कुल लगानीको १० प्रतिशतभन्दा बढी शेयर बजारमा लगानी गर्न नपाउने प्रावधानका बाबजुद पनि प्रभु इन्स्योरेन्सले कुल लगानीको १३.३१ प्रतिशत लगानी शेयर बजारमा गरेकाे छ । कम्पनीको कुल २ अर्ब ४६ करोड ९१ लाख ५३ हजार रुपैयाँको लगानी पोर्टफोलियोमध्ये ३२ करोड ८६ लाख ३६ हजार रुपैयाँ शेयर बजारमा लगानी गरेको देखिएको छ ।

राष्ट्रिय बीमा कम्पनी र नेको इन्स्योरेन्सले भने लगानी निर्देशिकाको प्रावधान भित्र रहेर नै लगानी गरेका छन् । राष्ट्रिय बीमा कम्पनीले ८ अर्ब ८ करोड ५१ लाख रुपैयाँको लगानी पोर्टपोलियोमा ७९ करोड ४१ लाख ८८ हजार रुपैया र नेको इन्स्योरेन्सले ६ अर्ब १० करोड २ लाख रुपैयाँको लगानी पोर्टफोलियोमा ५५ करोड ६ लाख रुपैयाँ लगानी शेयर बजारमा गरेका छन् जुन कुल लगानीको १० प्रतिशतभन्दा कम नै हुन आउँछ ।

निर्जीवन बीमा कम्पनीमा राष्ट्रिय बीमा कम्पनीले शेयर बजारमा सबैभन्दा बढी लगानी गरेकाे छ भने एनएलजी इन्स्योरेन्सले सबैभन्दा कम ४ करोड ९ लाख ९१ हजार रुपैयाँ लगानी गरेकाे छ ।

लगानी पोर्टफोलियोको आधारमा सबैभन्दा ठूलो लगानी पोर्टफोलियो सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको देखिन्छ । कम्पनीको लगानी पोर्टफोलियो ८ अर्ब ४६ करोड ३ लाख ४७ हजार रुपैयाँ रहेकोमा ४५ करोड ३१ लाख ४१ हजार रुपैयाँ मात्रै शेयर बजारमा लगानी गरेको देखिएको छ । कुल १४ बीमा कम्पनीको ६६ अर्ब ५२ करोड रुपैयाँको लगानी पोर्टफोलियो रहेकोमा त्यसको ५.८० प्रतिशत अर्थात ३ अर्ब ८६ करोड ५ लाख रुपैयाँ मात्रै शेयर बजारमा लगानी रहेको छ ।

हिमालयन रिइन्स्योरेन्सको लगानी बढी शेयर बजारमा

दुई पुनर्विमा कम्पनीमध्ये हिमालयन रिइन्स्योरेन्सको शेयर बजारमा बढी लगानी देखिएको छ । कुल १७ अर्ब ७७ करोड ७८ लाख रुपैयाँको लगानी पोर्टफोलियोमा ६.०८ प्रतिशत अर्थात १ अर्ब ७ करोड ७ लाख रुपैयाँ लगानी शेयर बजारमा गरेको देखिएको छ । लगानी पोर्टफोलियो भने नेपाल पुनर्विमा कम्पनीको ठूलो छ । नेपाल पुनर्विमाको लगानी पोर्टफोलियो २९ अर्ब ७८ करोड ७० लाख रुपैयाँ लगानी पोर्टफोलियो भए पनि शेयर बजारमा भने ९ करोड ४७ लाख रुपैयाँ मात्रै लगानी गरेको देखिन्छ ।

लघु बीमा कम्पनीको शेयर बजारमा लगानी न्यून

लघु जीवन तथा निर्जीवन बीमा कम्पनीमध्ये लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले मात्रै शेयर बजारमा लगानी गरेकाे छ । ४ वटा निर्जीवन लघु बीमा कम्पनीमध्ये अरु कुनै पनि कम्पनीले शेयर बजारमा लगानी नगर्दा लघु जीवन बीमा कम्पनीतर्फ भने लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले मात्र ८८ लाख ८४ हजार रुपैयाँ लगानी गरेकाे छ ।

 




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।