किन दुई दिनमै ३३ प्रतिशत घट्यो कारोबार रकम ? के बजार साइडवेज जान खोजेको हो ? यसो भन्छन् जानकार

Aug 22, 2024 06:04 PM merolagani



सुवास निरौला

गत साउन ३१ गते बिहीबार दोस्रो बजारमा अहिलेसम्मकै सर्वाधिक रकमको शेयर कारोबार भयो। उक्त दिन दोस्रो बजारमा २९ अर्ब ९५ करोडको शेयर किनबेच भयो। यो नै अहिलेसम्मको सबैभन्दा बढी कारोबारको रेकर्ड हो।

उक्त दिन साउन महिनाको अन्तिम दिन पनि थियो भने भदौ लागे यता भने बिस्तारै कारोबार रकम घट्दै आएको छ। भदौ २ गते कारोबार रकम घटेर २८ अर्ब ८३ करोडमा झर्‍यो। त्यस पछिका दिनमा भने थप कारोबार रकम घट्यो। गत बुधवार कारोबार रकम घटेर १८ अर्ब ९० करोडमा झर्‍यो। यस साताको बिहीबार भने अघिल्लो दिनको तुलनामा कारोबार रकम थोरै बढ्यो। बिहीबार १९ अर्ब १६ करोडको शेयर किनबेच भयो।

तर गत आइतबारको तुलनामा कारोबार रकम ३३.५६ प्रतिशतले घट्यो। दुई दिनको अन्तरालमै एक चौथाइ भन्दा बढी कारोबार रकम घट्यो। गत आइतबार भएको कारोबार रकमसँग बिहीबार भएको कारोबार रकम तुलना गर्दा सबैभन्दा बढी कारोबार रकम वाणिज्य बैंकको घटेको छ। यस अवधिमा सबै सेक्टरको कारोबार घट्दै गर्दा विकास बैंक समूहको कारोबार रकम भने गएको दुई दिनमा उल्लेख्य बढेको छ। विकास बैंक समूहको कारोबार रकम १३१ प्रतिशतले बढेको छ। विकास बैंकको शेयर मूल्य बढेका कारण पनि गएको दुई दिनमा लगानीकर्ताले उक्त समूहमा गर्ने लगानी बढाएका छन्।

दोस्रो बजारमा करेक्सन आउँछ भन्ने व्यापक हल्ला बढ्दै गएपछि कारोबार रकम सुस्ताउन पुगेको बताइएको छ। घट्दै गएको कारोबार रकमले केही दिन शेयर बजारले शक्ति सञ्चयमा खर्चिने अनुमान गरिएको छ। “एक/दुई अर्बको दैनिक कारोबार रकम बढेर झण्डै ३० अर्ब सम्म पुग्यो। अर्को तर्फ सूचक पनि बेस्सरी बढ्यो। बिना करेक्सन बजार बढ्दै जाँदा बजारमा राम्रो करेक्सन आउँछ भन्ने जमात बढ्दै गयो। जसको प्रभाव कारोबारमा पनि देखिन थालेको छ। यो घट्नको लागि भन्दा पनि दोस्रो बजारले थप उचाइ लिन थोरै समय शक्ति सञ्चय गरिरहेको रुपमा बुझ्नु पर्ने हुन्छ। जसले अब केही दिन बजारले शक्ति सञ्चयमा खर्चिने अनुमान गर्न सकिन्छ” नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले मेरो लगानीसँग भने।

कारोबार रकम घट्दै गए पुरानो रेकर्ड ब्रेक गर्न सूचकलाई सकस पर्ने छ। किनकि कारोबार रकम बढ्दै गए मात्रै शेयरको मूल्यहरू बढ्दै जान्छन् र त्यसले सूचकलाई पनि माथि लैजान टेवा दिन्छ। तर दोस्रो बजारमा भेटिने धेरै जसो लगानीकर्ता भने अब केही दिन बजार साइड वेजमा रहने अनुमान गरिरहेका छन्। जसले गर्दा लगानीकर्ता बजार केही तल झरेपछि शेयर बजार पस्ने भन्दै पर्ख र हेरको अवस्थामा धकेलिएका छन्। यति बेला लगानीकर्ताले आफूसित भएको रकम केही जोहो गर्न थालेका छन्। जबकि साउनसम्म लगानीकर्ताले आफूसित भएको सबै पैसा शेयर बजारमा खन्याउँदै आएका थिए। उनीहरूले केही रकम जोहो गर्न थालेपछि कारोबार रकम घटेको बताइएको छ।

खासगरि दोस्रो बजारका साना लगानीकर्ता भन्दा पनि ठूला लगानीकर्ता अहिले सजग देखिन थालेको बताइएको छ। ठूलो ठूलो कित्ताको होल्डिङ बढाउँदै आएका लगानीकर्ताले धेरै जसो शेयर फ्याकेका छन् भने उनीहरू अब बजार करेक्सनको पर्खाइमा बसेका छन्। ठूला लगानीकर्ताले शेयर फ्याँक्ने निर्णय गर्नु कतिको सही या गलत साबित हुने हो त्यो भने आउने दिनको सूचक र कारोबार रकमले बताउने नै छ। यदि आउने दिनमा कारोबार र सूचक दुवै बढे उनीहरूले गरेको निर्णय गलत साबित हुने छ भने यदि कारोबार रकम थप घट्दै गएर सूचकमा पनि दबाब देखिन थाल्यो भने उनीहरूको निर्णय सही साबित हुने छ।  




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।