३६ औं वार्षिक साधारण सभाले आव २०७९/०८० को लागि अद्यावधिक चुक्ता पूँजी ५ अर्ब १ कराेड १६ लाख ६६ हजार ४२५ रूपैयाँमा १० प्रतिशतका दरले नगद लाभांश ५० कराेड ११ लाख ६६ हजार ६४२ रूपैयाँ ५० पैसा र ४ प्रतिशतका दरले वोनस शेयर लाभांश २० कराेड ४ लाख ६६ हजार ६५७ रूपैयाँ साथै उक्त नगद एवं वोनस लाभांशमा कर प्रयोजनको लागि ३ कराेड ६९ लाख २८ हजार ६८ रूपैयाँ ३९ पैसा नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी ५ अर्ब १ कराेड १६ लाख ६६ हजार ४२५ रूपैयाँमा ४ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी ५ अर्ब २१ कराेड २१ लाख ३३ हजार ८२ रूपैयाँ पुगेको छ ।
आ.व.२०७९/०८० मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको कम्पनीले जनाएकाे छ । कम्पनीको कूल बीमाशुल्क १६.६६ प्रतिशतले बृद्धि भई १,६८०.९० करोड रूपैयाँ पुगेको छ । समिक्षा वर्षको संचालनवाट जम्मा ९३१.८३ करोड रूपैयाँ खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले बृद्धि भई वर्षान्तमा ६,५४०.४० करोड रूपैयाँ पुगेको छ । कूल लगानी १५.७२ प्रतिशतले बृद्धि भई ४,९७८.२० करोड रूपैयाँ पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०७९/०८० मा सो दर ९.४५ प्रतिशत कायम रहेको छ ।
कम्पनीका सबै लगानीहरु नेपाल बीमा प्राधिकरणले जारी गरेका लगानी निर्देशिका अनुसार रहेका छन् यी सबै सुरक्षा र प्रतिफलको हिसाबले राम्रा छन् । सोही लगानी निर्देशिका अन्तर्गत रहेर कम्पनी आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आगामी दिनहरुमा आफ्नो स्वामित्वमा जग्गा रहेका शाखाहरुमा ब्यापारिक भवन निर्माण गर्ने प्रयोजनको लागि स्थिर सम्पत्तिमा थप लगानी गर्दै जाने नीति अवलम्बन गरेको छ । यसै परिप्रेक्षमा कम्पनीको नेपालगन्ज स्थित भवन निर्माण कार्य सम्पन्न हुने स्थितिमा छ र यथाशिघ्र सो भवन संचालनमा ल्याउन प्रयास भै रहेको छ ।
कम्पनीले मर्चेण्ट क्षेत्रमा नेशनल क्यापिटल लिमिटेड नामक एक सहायक कम्पनीको स्थापना गरी संचालनको प्रकृया अघि बढाएको छ भने आ.व.२०८१/०८२ मा सहायक कम्पनी कै रुपमा एउटा इन्भेष्टेमेन्ट कम्पनी खोल्न प्रयासरत रहने छ । यसबाट लगानी विविधीकरणमा सहयोग पुग्ने र यसले कम्पनीको प्रवर्धनमा टेवा पुर्याउने कम्पनीको विश्वास छ ।
कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको १ प्रतिशतले ९७,३३,१५० रूपैयाँ बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गर्न सफल भएको छ ।
सभामा अध्यक्षले समिक्षा वर्ष २०७९/०८० मा राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्थिक परिदृष्यहरु धेरै उत्साहप्रद नरहेको र अहिले विश्व अर्थतन्त्र सुधार उन्मुख भए तापनि सो चुनौतपूर्ण रही यसको लागि लामो समय लाग्ने देखिएको बताइन् । पृष्ठभूमीमा बढ्दो ब्याजदरको कारणले लगानीमा प्रतिकूल प्रभाव पारी पूँजीगत खर्च एवं समग्र मांगमा आएको कमिले स्वदेशी अर्थ ब्यवस्थामा प्रतिकूल प्रभाव परेको स्थितिमा आ.व.२०७९/०८० मा जीवन बीमा ब्यवसाय आशातित रुपमा विस्तार हुन नसकेको भएतापनि आ.व.२०८०/०८१ मा जीवन बीमा ब्यवसायले सुधारको वाटो तय गरेको उल्लेख गरिन् ।
सभामा अध्यक्षले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास ब्यक्त गरिन् ।