'एक लाखको शेयर किन्दै छ भने २५ हजार बुझाएपछि कारोबार गर्न पाइन्छ,यो नै प्रमुख समस्या हो'

Sep 07, 2024 11:13 AM Merolagani



नेपालको शेयर बजार परम्परागत शैलीमा चलेको आरोप आउने गरेको छ । अन्तराष्ट्रिय बजारको विकास द्रुत गतिमा हुँदै गर्दा नेपालमा नयाँ प्रविधिलाई अबलम्वन गर्न ढिला गर्ने गरेको आरोप लगानीकर्ताले लगाउने गरेका छन् ।

पछिल्लो समय दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । बजारमा आधारभूत र प्राविधिक अध्ययन गरेर लगानीको योजना बनाउने लगानीकर्ताको संख्या बढ्दो छ । यस्तो अवस्थामा दास्रो बजारमा इन्ट्र डे कारोबार सुरु हुनु पर्ने लगानीकर्ताको माग छ । यसै विषयमा नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीसँग सुधा देवकोटाले गरेको कुराकानीः

बजारमा बु्ल आयो भनेर उत्साहित भएको थियो । तर पछिल्लो समयको करेक्सनले लगानीकर्तामा दुविधा उत्पन्न बनाएको छ । बजारमा बुल आउन के हुनु पर्छ ?

सामान्यतया जब बटमबाट २० प्रतिशत भन्दा धेरै बढ्यो तथा दुई महिनासम्म निरन्तर बढ्छ तब बजारमा बुल आएको भन्ने मान्यता छ । टपबाट २० प्रतिशत सूचक घट्यो भने बजारमा बियरिस सुरु भएको भन्ने मान्यता छ । यो विधि कानुनले निर्धारण गरेको कुरा होइन । बुल र वियरको बीचको अवस्थालाई साइडवयज भन्ने अर्थमा बुझ्छौं ।

बुल र वियर निर्धारण गर्ने उक्त मान्यतालाई नै मान्ने हो भने बजार बटमबाट २० प्रतिशत बढेको छ । तर करेक्सन गतिमा छ । खासै ठूलो भइसकेको अवस्था छैन । यो करेक्सनले बजारको गति निर्धारण गर्ने छ । बजार निरन्तर बढ्दैन । बजारमा सानो ठूलो उतारचढावहरु आउँछन । लामो समयसम्म साइडवयजमा बस्न सक्छ । बजारको हरेक अवस्थाले लगानीकर्तालाई शिक्षा दिएको हुन्छ । बजारलाई अझै बुझ्न सिकाएकाे हुन्छ ।

शेयर बजार अर्थतन्त्र ऐना भनिन्छ । फेरि नेपाली पूँजी बजारले अर्थतन्त्रलाई प्रतिबिम्बित गर्दैन भनिन्छ । किन होला ?

नेपाली पूँजी बजार अर्थतन्त्र ऐना हुने उन्मुखमा छ । पूँजी बजार विकासका चारवटा चरणहरु हुन्छन् । जस्तो पहिलो चरणमा पूँजी बजार लगानी गर्न लायक क्षेत्रको रुपमा पहिचान हुन्छ । दोस्रो चरणमा अर्थतन्त्रसँग एकीकृत हुन्छ । तेस्रो चरणमा पूर्णरुपमा स्थापित हुन्छ । चौथो चरणमा अन्तराष्ट्रिय बजारसँग एकीकृत हुँदै जान्छ ।

नेपालमा बल्ल पूँजी बजार पनि लगानी योग्य क्षेत्र हो भनेर पहिचान गरेका छौं । हाम्रो अर्थतन्त्रसँग एकीकृत हुन बाँकी नै छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा सबै भन्दा बढी योगदान कृषि क्षेत्रको हो । तर कृषिको एउटा कम्पनी पनि बजारमा सूचीकृत हुन सकेको छैन । जब कुल ग्राहस्थ उत्पादनमा योगदान पुर्याएका क्षेत्रका कम्पनीहरु बजारमा सूचीकृत हुन्छ तब पूँजी बजारले अर्थतन्त्रलाई प्रतिबिम्बित गर्ने छ । अहिले बजारमा बैक तथा वित्तीय संस्थाहरुको बाहुल्यता छ । बैंक तथा वित्तीय संस्थाको अवस्था राम्रो भए त्यसको प्रभाव बजारमा देखिने भयो । विस्तारै रियल सेक्टरका कम्पनीहरु पनि भित्रने क्रममा छन् । त्यसैले नेपालको पूँजी बजार अर्थतन्त्रसँग तालमेल हुने प्रकृयामा छ ।

बजारमा रियल सेक्टरलाई ल्याउन किन सकिएको छैन ? कम्पनीहरु आउन चाहेका छैनन वा सरकारले सहजीकरण नगरेको हो ? 

विस्तरै सिमेन्ट कम्पनीहरु थपिदै छन् । होटल तथा पर्यटन कम्पनीहरु भित्रदै छन् । त्यसको लागि पनि प्रयासहरु भइराखेका छ । त्यस्ता कम्पनीलाई बजारमा ल्याउनको लागि नै बुक बिल्डिङ्ग बिधि सुरु गरिएको हो । यस बिधि मार्फत बजारमा भित्रने कम्पनीहरुको संख्या विस्तारै बढ्ने छन भन्ने विश्वास गर्न सकिन्छ ।

सुरुवात मै ढुङ्गा लागेको जस्तो, बुक बिल्डिङ्ग बिधिलाई नै लगानीकर्ताले विश्वास नगरेको जस्तो देखिएको छ । किन यस्तो भयो ?

यसलाई बृहत रुपमा हेर्नु पर्दा,सार्वजनिक क्षेत्रमा के हुन्छ भने पहिलो नीतिगत पूर्वाधारणहरु बनाइएको हुन्छ । उक्त नीतिगत व्यवस्थामा रहेर संस्थागत संरचना निमार्ण गरिन्छ । जस्तो नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससी र ब्रोकरहरु जस्ता सस्थागत संरचनाहरु तयार गरिन्छ । अनि प्रविधि र जनशक्ति विकास गरिन्छ । यि मध्ये मध्ये केहिमा कमजोरीहरु भयो भने विकृतीहरु सतहमा आउँछन् ।

बुक बिल्डिङ्ग बिधि सुरु भएको छ । समस्या छ भन्ने देखिएको छ । समाधान पनि पहिचान हुँदैछ । अहिले परिक्षणकालमा नै छ । देखिएका समस्यालाई समाधान गर्दै व्यवस्थित गराउनु पर्ने हुन्छ ।

नेपालमा दास्रो बजारको इतिहास लामो भइसकेको छ । यद्यपि इन्ट्रा डे कारोबार आउन सकेन भन्ने गुनासो लगानीकर्तामा बढ्दो छ । बजारको विकासमा किन जोड दिन सकिएन ?

इन्ट्रा डे करोबारको रहर गरेका छौं । विकसित बजारमा लामो इतिहास पछि इन्ट्रा डे सुरु गरेका हुन । यसको लागि पनि नीतिगत व्यवस्था सँगै पूर्वाधारको विकास गर्नुपर्ने हुन्छ । इन्ट्रा डे कारोबारलाई उतारेका मुलुकहरुमा पनि विभिन्न समस्याहरु देखिएका छन् । हामीले इन्ट्रा डे कारोबार अभ्यासमा ल्याएका मुलुकमा देखिएको समस्याबाट सिक्दै छौं । यस्तो व्यवस्था राम्रो तयार गरेर मात्रै ल्याउन पर्ने हुन्छ ।

नेपालका धेरै लगानीकर्तालाई वित्तीय साक्षरता बनाउनु पर्ने हुन्छ । सानो सानो पूँजी लिएर पनि बजारमा प्रवेश गर्नेहरु हुनुहुन्छ । त्यस्ता लगानीकर्तालाई पनि सम्बोधन गर्नुपर्ने हुन्छ । विस्तारै इन्ट्रा डे प्रति लगानीकर्ताहरुको चासो बढेको छ । यो कस्तो खालको कारोबार शैली हो भन्नेबारेमा जिज्ञाशा बढ्दैछ । यो संख्या विस्तारसँगै इन्ट्रा डे कारोबार पनि सुरु हुनेछ ।

बजारमा ३० अर्बसम्मको कारोबार भयो । यति रकम बराबरको कारोबार हुँदा ब्रोकरको भुक्तानी प्रकृयामा समस्या भयो भन्ने सुनिन्छ । यहि कारण बजारमा दबाव परेको आरोप छ । खासमा भएको के हो ?

नेप्सेले ट्रेड म्यानेजमेन्ट स्टिम तयार पार्दा ब्रोकरलाई केन्द्रमा राखेर तयार पार्नु पर्ने हुन्छ । नेपालमा भीडले दबाव दिएर कतिपय कुराहरु ल्याउने परिपाटी बनेको छ । वास्तवमा यस्तो सस्कृतिले बजारमा राम्रो विकास हुन दिदैन ।

कारोबार सिस्टम बनाउँदा ब्रकेरलाई केन्द्रमा राखेर गराउनु पर्ने हुन्छ । जस्तै लगानीकर्ता ब्रोकरमा पुगेपछि केहि गर्न नपर्ने सिस्टम बनाउनु पर्ने हो । शेयर तथा कारोबार रकम भुक्तानी, ब्रोकरको ब्याकप, टिएमएस व्यवस्थापन सम्बन्धी कुराहरु बुझाउन सकिएन । नेप्से अनलाईन प्रणाली आउनेमा नै विश्वास गरिएको थिएन । तर समयमा नै व्यवहारमा आयो । त्यस्तै ब्रोकरहरुलाई उनीहरुको आफ्नै टिएमएस ल्याउनु पर्छ भन्दा अनलाईन प्रणालीको लागि किन खर्च गर्ने भनेर ब्रोकरहरुले पनि बिरोध गर्नु भएको थियो । विस्तारै त्यो कुरालाई मनन गरेर ब्रोकरहरुको आफ्नै सिस्टम आउँदै छ । एउटाले सुरु गरिसक्नु भएको छ । अरु आउने क्रममा छ ।

२५ प्रतिशत शेयर मार्जिनमा कारोबार कुनै देशमा हुँदैन । नेपालमा एक लाख रुपैयाँको शेयर किन्दै छ भने २५ हजार रुपैयाँ बुझाएपछि कारोबार गर्न पाइन्छ । त्यो व्यवस्थालाई तत्काल परिमार्जन गर्ने अवस्था पनि छैन । यो  प्रमुख समस्या हो । अर्को ब्रोकरहरु विश्वासको आधारमा उधारो कारोबार गर्ने गरेका छन् । त्यसरी कारोबार गर्ने ब्रोकरहरुकोमा समस्या भएको छ । धितोपत्र बजार भन्दा बाहिरको कारोबार पनि शेयर कारोबार मार्फत नै सेटल गर्न खोजिन्छ । लगानीकर्ताहरु ब्रोकर खाता खोल्दा सर्तहरु राम्रोसँग पढ्ने बानी छैन । बिधिको शासन मान्ने हो । बिधि अनुसार नै चल्नु पर्छ । कसैले आएर गुनासो गरेको भरमा कारवाही हुदैन ।

कुल ग्राहस्थ उत्पादन (जीडीपी) सँग बजार पूँजीकरणको तुलनाले सडकदेखि संसदसम्म तताएको छ । नेप्सेको बजार पूँजीकरण व्यवहारिक नभएको आरोप छ । साच्चिकै गणना बिधि व्यवहारिक नभएकै हो ?

यो विषय अचम्मसँग अगाडि आयो । ३१ वर्षको इतिहासमा यो विषय पहिले चर्चामा आएको थिएन । तर पनि बजार पूँजीकरण गणना बिधी यूनिभर्सल बिधि अनुसार नै गणना हुने गरेको छ । लगानीकर्ताको फरक परेको हो ।

मुलुकको कुल ग्राहस्थ उत्पादनसँग बजार पूँजीकरण तुलना गर्न सकिदैन । किनभने जीडीपी भनेको आर्थिक वर्ष भित्रमा उत्पादन भएका वस्तु तथा सेवाहरुको अभिवृद्धि हो । यो भनेको अर्थतन्त्रका हरेक वस्तुसँग निर्धारित हुन्छ । बजार पूँजीकरण भनेको लगानीकर्ताले मानेको भ्यालु हो । यो बजारको आकार र विकासको चरण पत्ता लगाउनको लागि गणना गरिन्छ । यस्तो अवस्थामा स्मार्ट लगानीकर्ताले पूँजीकरण भन्दा लगानी गर्ने कम्पनीलाई ध्यान दिने हो । पूँजीकरण व्यवहारिक नभएको कुरा छ । यो भन्दा उपयुक्त गणना बिधि कसैसँग छ भने त्यसलाई पनि परिक्षण गर्न सकिन्छ ।




comments powered by Disqus

नेप्सेमा Falling Wedge Pattern: बुलिश सिग्नलको उदय

Sep 12, 2024 02:58 PM

हालै बजारमा FALSE Head and Shoulders जस्तो तर्साउने प्याटर्न देखिएपछि,नयाँ एक आशावादी प्याटर्न देखा परेको छ, जसलाई Falling Wedge प्याटर्न भनिन्छ। यो क्लासिक बुलिश (बजार उकालो जाने) प्याटर्न आशाको किरण मात्र होइन; यो आगामी बजारको माथिल्लो चालको संकेत पनि हो, साथै बजारमा लगानी गरेर उत्कृष्ट नाफा कमाउने अवसर पनि हो ।