'बुल राइड गर्ने कम्पनीमा लगानी गर्दा सँधै जितिन्छ, लगानीकर्ताले क्यापिटल प्राेटेक्सनलाई पहिलाे प्राथमिकतामा राख्नुपर्छ'

Sep 14, 2024 11:08 AM Merolagani



पछिल्लो समय शेयर बजार निकै अस्थिर देखिएको छ। २००० विन्दुबाट लगातार बढेर ३००० सम्म पुगेको बजार अहिले पुनः २६०० हाराहारी झरेको छ। बजार घट्दा कारोबार रकम पनि घटेको छ।

उच्च विन्दुबाट नेप्से सूचक करिब १५ प्रतिशतले घटेको छ भने कारोबार रकम करिब ७० प्रतिशतले घटेको छ। यसले गर्दा लगानीकर्ता प्यानिक बनेका छन्। पछिल्लो बजारको अवस्थाको विषयमा एनआइसी एशिया क्यापिटलका चिफ मर्चेण्ट बैंकिङ्ग अफिसर दामोदर रायमाझीसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • अहिले बजार एकदमै भोलाटाइल छ। यो बजारलाई कसरी नियालिरहनु भएको छ?

यो बजार बढ्नको लागि धेरै कुराले टेवा पुर्याएको छ। लामो समयको वियरिस ट्रेण्डपछि ३ वर्षको साइकल पुरा गरिसकेकोले बजार बृद्धि हुने क्रममा नै थियो। पछिल्लो ६ महिनादेखि बजार सकारात्मक नै थियो। अर्कोतर्फ राजनीतिक रुपमा पनि स्थिर सरकार आएपछि बजारमा राम्रो बृद्धि देखिएको हो।

लामो समयसम्म स्ट्रेसमा रहेकोले छोटो समयमा नै बजार उच्च अंकले बढ्यो र ३००० आसपास पुगेपछि मास साइकोलोजी नै बजार करेक्सन हुनुपर्छ भन्ने भयो। सेन्टिमेन्ट नै घट्नुपर्छ भन्ने भयो। त्यसले पनि बजारमा केहि करेक्सन सुरु भयो। माथि शेयर बेचेकाले खरिद गर्न केहि गिरावट कुर्नुपर्यो त्यहि बीचमा सरकार ढल्नसक्छ भन्ने हल्लाहरु बढी आयो र त्यसले गर्दा छोटो समयमा नै उच्च अंकले घटेको देखिन्छ।

  • छोटो समयमा धेरै घट्दा लगानीकर्तामा यो बुल नै होइन कि, बजारमा पम्प एण्ड डम्प मात्रै थियो कि भन्ने पनि परेको छ नि?

बजार बढेपछि हामी सबैले बजारमा केहि करेक्सन आउनुपर्छ भनेर स्वीकारेकै कुरा हो। आजको बजारमा ६० लाख लगानीकर्ता पुगे भनिन्छ। तर सक्रिय रुपमा कारोबार गर्ने निकै कम छन्। टिएमएस खाता २० लाखको हाराहारी पुगे पनि सक्रिय रुपमा कारोबार गर्ने अझै कम छन्।

अहिले सोसल मिडिया लगायतका माध्यमबाट पनि कमन भोइस जेनेरेट हुने गरेको छ। त्यही अनुसार कारोबार गर्दा पनि बजार बढ्दा पनि अलि धेरै नै बढ्ने र घट्दा पनि अलि धेरै नै घट्ने गरेको छ।

  • बजारको साइज ठुला भयो सिमित मान्छेले कन्ट्रोल गर्न सक्दैनन् भनिन्छ। तर पनि बजार समय समयमा धेरै नै भोलाटाइल हुने गरेको छ। किन होला?

लगानीकर्ता बढ्दै गएपनि बजारको बारेमा शिक्षा दिन सकेका छैनौ। लगानीकर्तामा अवेरनेस नै पुगेको छैन्। यसले पनि बजारलाई केहि अस्थिर बनाएको छ।

लगानीकर्तामा आज किनेपछि आजै बढ्नु पर्छ भन्ने अपेक्षा छ। बैंकमा राख्दा पनि वर्षमा ९/१० प्रतिशतको प्रतिफल पाइदैन तर लगानीकर्तालाई आजको भोलि नै १० प्रतिशत चाहिन्छ। त्यो कुरामा चाँहि रिस्क र रिवार्ड कसरी हेर्ने, कम्पनीको वास्तविक अवस्था हेरेर लगानी गर्न सिकाउन पनि अहिले लगानीकर्तामा शिक्षाको चाँहि आवश्यकता छ।

  • हाम्रो बजारमा लो क्याप कम्पनीको मूल्य उचालिएको छ, राम्रो रिटर्न दिने र हाइ क्याप कम्पनीहरु बढ्न सकेको देखिदैन। यसमा संस्थागत लगानीकर्ताको भूमिका कम भएर हो?

हाम्रोमा संस्थागत लगानीकर्ता कम छन्। चिनिएको संस्थागत लगानीकर्ता भनेको म्युचुअल फण्ड हो। म्युचुअल फण्डहरुको कुल फण्ड भनेको ६० अर्बको हाराहारी छ। त्यसमा बजारमा जाने भनेको ३० देखि ३५ अर्ब हो।

संस्थागत लगानीकर्ता भन्दा व्यक्तिगत लगानीकर्ता बढी छ। व्यक्तिगत लगानीकर्तामा पनि दीर्घकालिन लगानीकर्ता भन्दा ट्रेडरहरु धेरै छन्। ट्रेडरले सर्ट टर्ममा रिटर्न खोज्छन्।

वित्तीय अवस्था हेरेर लगानी गर्दा घाटा हुने सम्भावना कम हुन्छ तर प्राविधिक रुपमा कम्पनी हेरेर लगानी गर्दा कतिपय लो क्याप कम्पनीमा बजार घट्ने हो भने त्यसलाई बेचेर लिक्वीड गर्न नै गाह्रो हुन्छ। बेच्नै कठिन हुन्छ।

हाम्रोमा वित्तीय रुपमा सबल कम्पनीमा लगानीकर्ताको आकर्षण कम हुनुको कारण संस्थागत लगानीकर्ता कम हुनु हो। संस्थागत लगानीकर्ता कम हुदाँ राम्रा कम्पनीको शेयरमूल्य बढ्न सकेको छैन। यसले गर्दा लगानीकर्ता यसको शेयरमूल्य बढ्दैन भन्ने हिमाबले पनि अन्य खराब कम्पनीहरुमा लगानी गरिरहेका छन्।

  • बजार भोलाटाइल हुँदा म्युचुअल फण्डले भूमिका खेल्नुपर्छ भन्ने कुरा सुनिन्छ। यसमा म्युचुअल फण्डकाे भूमिका कति रहन्छ?

म्युचुअल फण्डले बजारलाई बचाउनुपर्छ भन्ने कुराहरु सुनिन्छ। म्युचुअल फण्डहरुले बजारमा लगानी गर्ने रकम भनेको ३० देखि ३५ अर्ब छ। बजारको पूँजीकरण ४४ खर्ब माथि पुगिसकेको अवस्थामा त्यो ३०/३५ अर्ब फण्ड भएका म्युचुअल फण्डले कसरी बजार घटेको बेलामा थेग्नुपर्छ भन्न सकिन्छ।

हामी पनि प्रोफेस्नल म्यानेजर मात्रै हो। हाम्रो पनि अल्टिमेट गोल भनेको इकाइधनीलाई कसरी बढी रिटर्न दिने भन्ने हुन्छ। बजार घट्छ भन्ने सेन्टिमेन्ट बजारमा छ भने त्यसको विरुद्धमा गएर काम गर्न सकिदैन। त्यसले गर्दा बजार घट्दा म्युचुअल फण्डले खरिद गरेर बजार होल्ड गर्नुपर्छ भन्ने कुरा व्यवहारिक रुपमा सम्भव पनि हुदैन र म्युचुअल फण्डसँग भएको फण्डको साइज पनि कम हुन्छ।

  • बजार प्रबेश गर्दा सबैभन्दा पहिले म्युचुअल फण्डबाट प्रबेश गर्नुपर्छ भनिन्छ। तर अहिलेको समयमा पनि म्युचुअल फण्डमा आकर्षण नदेखिनुको कारण के होला?

म्युचुअल फण्डमा सरकारबाट करछुट लगायतका केहि सहुलियत दिएको भए केहि आकर्षित हुने थिए। त्यो छैन। अहिले म्युचुअल फण्डहरुको रिटर्न हेर्दा नराम्रो छैन।

कसैले बैंकमा राख्छ भने ७/८ प्रतिशत रिटर्न छ। म्युचुअल फण्डहरुको रिटर्न त्यो भन्दा धेरै छ।

म्युचुअल फण्डले लगानी गर्दा धेरै प्यारामिटरहरुको आधारमा लगानी गरिरहेका हुन्छन्। हाम्रो पहिलो प्राथमिकता पूँजी जोगाउनु हो। व्यक्तिगत रुपमा लगानी गर्ने लगानीकर्ताले भन्दा म्युचुअल फण्डले गर्ने लगानी बढी सुरक्षित हुन्छ। त्यसमा रिटर्न पनि केहि कम हुन सक्छ।

व्यक्तिगतबाट गर्दा रिस्क पनि धेरै लिने गर्छन र त्यसमा रिटर्न पनि केहि बढी हुन सक्छ।

  • अहिले म्युचुअल फण्डहरुको औसतमा रिटर्न कति छ?

हामीले सञ्चालन गरिरहेका ३ वटा म्युचुअल फण्डहरुको रिटर्न औसतमा १५ प्रतिशतभन्दा धेरै छ। एउटामा १० प्रतिशतको औसत रिटर्न छ।

अरु बजारमा सञ्चालनमा रहेका म्युचुअल फण्डहरुको औसत रिटर्न हेदा पनि नेप्सेको वार्षिक रिटार्नभन्दा म्युचुअल फण्डहरुको रिटर्न केहि धेरै नै छ।

  • संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्न नै राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको क्याप हटाएको छ, त्यसको असर बजारमा कस्तो देखिन्छ?

अहिले संस्थागत लगानीकर्ता कति छन् भन्ने कुरा सबैभन्दा पहिला आउछ। राष्ट्र बैंकले क्याप हटाएपछि सेन्टिमेन्ट चाँहि केहि सकारात्मक बनेको छ तर त्यसको असर धेरै देखिदैन्।

कसैले शुद्ध रुपमा इन्भेष्टमेन्ट कम्पनी खोलेर लगानी गरिरहेको छ भने त्यसलाई फाइदा हुन्छ। तर राष्ट्र बैंकले क्याप खोल्दैमा धेरै कर्जा जान्छ जस्तो लाग्दैन। सबै कम्पनीको क्यापासिटि धेरै कर्जा लिनसक्ने हुँदैन।

राष्ट्र बैंकको यो नीतिले सेन्टिमेन्टवाइज राम्रो गरेको छ तर बजारमा ठुलो प्रभाव भने पर्दैन।

  • अहिले कारोबार रकम निरन्तर घटेको छ, कारोबार घट्दा बजारको पैसा बाहिरियो कि भन्ने आशंका पनि गर्न थालिएको छ। कारोबार रकम एकैपटक किन यसरी घट्यो?

बजार बढ्दै जाँदा लगानीकर्ताको पैसा ५ गुणासम्म बजारमा घुमिरहेका हुन्छ। खरिदबिक्री गरिरहँदा ब्रोकरको सेटलमेन्ट साइकल पनि मिलिरहेको हुन्छ। तर बजार घट्ने वित्तीकै मल्टिपल खरिदबिक्री रोकिन्छ र कारोबार घट्छ। कसैले माथि बेचेको छ भने पनि खरिद गर्न केहि समय कुर्ने भयो र खरिद गरेर बस्ने लगानीकर्ता पनि कुरेर बस्नुपर्ने हुन्छ।

बजार घट्दा बिक्री गरेर बस्ने र खरिद गरेर बस्ने पनि चुप लागेर बस्छन्। अहिले चाडपर्ब नजिक भएकोले केहि उपभोगमा गयो होला तर बजारमा कारोबार रकम घट्नुमा मल्टिपल कारोबार कम हुनु नै हो। अब बजार बढ्दै जाँदा फेरि मल्टिपल कारोबार सुरु हुन्छ र कारोबार बढ्छ।

  • लगानीकर्ताहरु अझै एउटा कुरामा अड्किरहेका छन्, यो बुल हो कि होइन?

पुरानो साइकल हेर्ने हो भने बियरिस ३ वर्ष चल्ने बुल १ डेढ वर्ष चल्ने देखिएको छ। अहिलेको अवस्थामा स्थिर सरकार आएको छ। अर्थतन्त्र पनि केहि चलायमान हुन थालेको देखिएको छ।

आर्थिक गतिविधि चलायमान हुँदा बजारमा प्रभाव पर्छ। आजसम्म जति पनि बढेको छ एक्सपेटेसनमा बढेको छ, अब एक्पेटेसन अनुसार अर्थतन्त्र पनि चलायमान हुँदै जाने, राजनीतिक अवस्थाले पनि स्थिरता पाउने हो भने बजार सकारात्मक नै देखिन्छ।

नेप्सेको ३२०० इन्डेक्समा त्यसपछि सूचीकृत भएका कम्पनीहरुको भ्यालु निकाल्ने हो भने नेप्से सूचक अझै धेरै तल छ। त्यसले गर्दा अहिले नेप्से सूचक भन्दा पनि कम्पनीको अवस्था र मूल्य हेरेर कारोबार गर्नुपर्छ।

बुल बजारमा केहि समयसम्म ट्रेडिङ स्टक चल्छ र बजार बुलमै जाने हो भने वित्तीय रुपमा सबल कम्पनी चल्नुपर्छ। अहिले पनि केहि कम्पनी ओभरभ्यालुड छ भने केहि कम्पनी अझै अन्डरभ्यालुड छ। अहिले बजार बुल साइकलमा चल्दै गर्दा पनि सहि कम्पनी छानेर लगानी गर्न सक्नुपर्छ।

बजार बुलमा जाँदै गर्दा नयाँ लगानीकर्ता बजार भित्रिन्छन्। त्यतिबेला अहिलेका ट्रेडिङ स्टक धेरै माथि पुगिसक्छन्। त्यसले गर्दा नयाँ लगानीकर्ता वित्तीय रुपमा राम्रा कम्पनीमा आकर्षित हुन्छन्। यो अवस्था आयो भने बजार अपवार्ड नै रहन्छ।

  • अहिलेको बजारमा लगानीकर्ताले कसरी लगानी रण्नीति बनाउँदा सफल हुन सकिएला?

पहिला त आफू दीर्घकालिन लगानीकर्ता बन्ने हो कि अल्पकालिन कारोबारी बन्ने भन्ने कुरा क्लियर हुनुपर्यो। दीर्घकालिन लगानीकर्ता बन्ने हो भन्ने राम्रो ग्रोथ स्टक खरिद गरेर बस्नुपर्छ।

लगानी गर्दा बुल राइड गर्ने कि क्यापिटल गेनको लागि ट्रेड गर्ने भन्ने कुरा हुन्छ। बुल मार्केटमा बुल राइड गर्नेले सधै जित्छ। कुनै दिन १० प्रतिशत बढ्ला कुनै दिन घट्ला तर अन्तिममा एक दिन न एक दिन त बढ्छ।

कम्पनी छनोटमा पनि लगानीकर्ताले ध्यान दिनुपर्छ। मिडक्याप कम्पनीहरु र लाभांश वितरण गर्न सक्ने कम्पनीहरु छान्नुपर्छ। लो क्याापमा हाइ रिस्क हाई गेन हुन्छ। मिडक्याप केहि सुरक्षित हुने भएकोले धेरै रिटर्न रहन्छ।

बजारमा लगानी गर्दा अर्काले भनेको भरमा लगानी गर्नुभन्दा कसैले कुनै पनि कम्पनीको खरिद बिक्रीको लागि सुझाव दिँदा त्यसको आफैले विष्लेषण गरेर लगानी गर्नुपर्छ।

आफ्नो पूँजी सुरक्षित हुने गरी सचेत भएर लगानी निर्णय गर्नुपर्छ। बजारको अझै धेरै ग्रोथ हुन बाँकी नै छ, आउने दिनमा बजार राम्रौ देखिन्छ।

 




comments powered by Disqus