स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीका अनुसार क्षति पुगेका हाइड्रोपावरको क्षति विवरण संकलन गर्ने कार्य भइरहेको र करिब २० वटा हाइड्रोपावरको २ अर्ब रुपैयाँ बराबरको क्षति भएको विवरण संकलन भएको र यो अझै बढ्न सक्ने उनले बताए ।
शुक्रबार र शनिबारको वर्षा तथा त्यसपछिको पहिराले हाइड्रोपावरमा ठूलो क्षति भएपछि त्यसको असर आइतबारको शेयर बजारमा समेत देखा परेको छ । नेपालको शेयरमा बजारमा अहिले सबैभन्दा बढी हाइड्रोपावरकै कम्पनीहरु सूचीकृत छन् । नेप्सेका विभिन्न समूहहरुमध्ये हाइड्रोपावर समूहमा ९१ वटा कम्पनीहरु सूचीकृत छन् । पुँजीकरणका आधारमा हाइड्रोपावरको हिस्सा वाणिज्य बैंकपछि दोस्रो स्थानमा आउने गरेको छ । आइतबारको शेयर बजारमा समग्र बजार परिसूचक २२.३६ अंकले घटेर २४६४.४० विन्दुमा पुग्दा हाइड्रोपावर समूह भने सबैभन्दा धेरै २.३६ प्रतिशत अर्थात ७१.४९ विन्दुले घटेर २९५७.०४ विन्दुसम्म झरेको छ । ४ अर्ब रुपैयाँको शेयर कारोबार हुँदा १ अर्ब २९ करोड रुपैयाँ बराबरको हाइड्रोपावरको मात्रै शेयर कारोबार भएका छन् । आइतबारको कारोबारमा ८२ हाइड्रोपावर कम्पनीको शेयर मूल्य घटेको छ भने २ वटाको मूल्य स्थिर रहँदा ७ वटा कम्पनीको शेयर मूल्य भने झिनो अंकले बढेको छ । सबैभन्दा बढी शेयर मूल्य बढ्ने हाइड्रोपावर कम्पनीमा इङवा हाइड्रोपावर २६ रुपैयाँ अर्थात ५.४६ प्रतिशतले बढेर ५ सय २ रुपैयाँमा अन्तिम कारोबार भयो ।
इप्पान अध्यक्ष कार्कीका अनुसार प्रायः हाइड्रोपावरले सबै आयोजनाको बीमा गरेको हुने हुँदा बाढीले आयोजनामा क्षति गरे पनि त्यो बीमा कम्पनीबाट भपाई हुने हुँदा कम्पनीलाई त्यति धेरै नोक्सानी नदेखिने उनले बताए । ‘हाइड्रोपावर कम्पनीहरुले विभिन्न शर्तहरुको अधिनमा राखेर बीमा गर्ने हुँदा के कति रकम क्षतिपूर्ति पाउँछ भनेर यकिन भन्न नसकिए पनि प्रायः सबैले बीमा भने गरेकै हुन्छन् । इप्पानले ऊर्जा मन्त्रालयका प्रतिनिधिलाई भेटेर बीमा रकम सकेसम्म चाँडो भुक्तानी गर्ने व्यवस्था गर्न अनुरोध गरेको छ ।’–उनले भने–‘क्षति बापतकाे रकम दाबी गर्ने हुँदा कम्पनीलाई त्यति ठूलो आर्थिक क्षति नभए पनि मर्मत सम्पन्न नभएसम्मको बिजुली उत्पादन नहुने हुँदा सो क्षति भने कम्पनीले व्यवहोर्नु पर्नेछ ।’ प्रायः क्षतिपूर्ति बीमा कम्पनीबाट व्यहोरिने हुँदा कम्पनीको ब्यालेन्ससिटमा ठूलो घाटा भएको नदेखिने उनले दाबी गरे । बीमा दाबी प्रक्रियामा भने केही समय लाग्न सक्नेमा भने उनी सहमत देखिए ।
क्षति भएको रकम बीमाबाट दाबी गर्न सकिने हुँदा हाइड्रोपावरका लगानीकर्ता त्रसित हुनुपर्ने अवस्था भने नभएको उनले बताए । अहिलेसम्मको तथ्र्याक अनुसार मान्डु हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, पाँचथर पावर, साहस ऊर्जा, सगरमाथा जलविद्युत कम्पनी, फेमेखोला जलविद्युत, सिउरी खोला जलविद्युत, सपुर न्यादी जलविद्युत, इलेप खोला तातोपानी जलविद्युत, माथिल्लो त्रिशुली जलविद्युत आयोजना, हेवाखोला जलविदुत आयोजना, सभा खोला बी जलविद्युत, लान्द्रुक मोदी जलविद्युत आयोजना, सुपरश त्रिशुली जलविद्युत, लाङटाङ खोला जलविद्युत आयोजना, टुङ्गुन ठोस्ने जलविद्युत अयाोजना र मायाखोला जलविद्युत आयोजनामा क्षति पुगेको विवरण सार्वजनिक भएको छ ।