शेयर बजार फर्काउन प्राकृतिक विपद सहयोगी बन्यो, लगानीको अवसर खोज्दै शेयर बजार पस्ने बढ्दा सूचकले सेन्चुरी मार्‍यो

Oct 01, 2024 06:02 PM merolagani



सुवास निरौला

लामो समय देखि सुस्ताउँदै आएको शेयर बजार प्राकृतिक विपद आए सँगै बढ्न सुरु गरेको छ। साताको सुरुवाती दिन आइतबार देखि नै बढ्ने सङ्केत गरेको बजारले मंगलबार आएर सेन्चुरी नै मारेको छ।

मंगलबार शेयर कारोबार मापक सूचक ११४.७० अंकले बढेको छ। ४.५७ प्रतिशतको वृद्धि सँगै सूचक २६२३.५६ अंकमा उक्लिएको छ। कारोबारमा आएका दुई सय ४५ कम्पनी मध्ये २४३ कम्पनीको शेयर मूल्य बढेकाे छ। मंगलबार शेयर सूचक मात्रै बढेन, कारोबार रकम समेत उल्लेख्य बढ्यो। मंगलबार एक करोड ७५ लाख कित्ता शेयर ७ अर्ब  ६१ करोड रुपैयाँमा कारोबार भए। जबकि सोमबार ३ अर्ब ७१ करोड रुपैयाँको मात्रै शेयर किनबेच भएका थिए।

सोमबार ब्रोकर कम्पनीहरूले अब शेयर बजार बढ्छ भन्ने अनुमान लगाएका थिए। जस अनुरूप नै मंगलबार शेयर बजारले सेन्चुरी मार्‍यो। आज आएर ब्रोकर कम्पनीहरू शेयर बजार बढ्न प्राकृतिक विपदले बढी सहयोग गरेको बताउँछन्। “नेपालको शेयर बजार प्राकृतिक विपद पछि बढ्ने गरेको इतिहास छ। यस अघि चाहे २०७२ सालको भूकम्प होस् वा यस अघिको कोभिडको महामारी त्यति बेला शेयर बजार बढेको थियो। अहिले पुनः मुलुकभर बाढी पहिरो गएको छ। लगानीको अवसर कम छ। दशैंको मुखमा व्यापार व्यवसाय छैन। राजधानी जोड्ने सडक मार्ग देखि नेपाल चीन नाकासम्म यति बेला अवरुद्ध हुन पुगेका छन्। व्यवसायी अहिले अवसर खोज्दै शेयर बजार पस्न थालेका छन्। जसले गर्दा बजार बढेको हो,” एक ब्रोकर कम्पनीका सञ्चालकले मेरो लगानीसँग भने।

शेयर बजार बढ्ने वा घट्ने त्यो शेयर बजारले नै तय गर्ने विषय हो। यद्यपि प्राकृतिक विपद पछि भने शेयर बजार बढेकै इतिहास छन्। प्राकृतिक विपद पछि केही समय इकोनमीको साइकल धिमा हुने गर्छ। जब इकोनमीको साइकल निक्कै धिमा हुन्छ। तब लगानीको अवसर खोज्दै टुरिस्ट लगानीकर्ता शेयर बजार आउने गर्छन्। जुन मंगलबारको कारोबारले सङ्केत गरेको छ। तर प्राकृतिक विपदको समयमा बढेको बजार भने लामो समय टिकाउ हुने गरेको छैन। जसले गर्दा मंगलबार बढेको बजार टिकाउ हुनेमा आशङ्का गर्न सकिन्छ। तथापि मुलुकको आर्थिक अवस्था मजबुत हुँदै जानु, ब्याजदर कम हुनु र तरलता अहिले पनि व्यापक हुनुले भने शेयर बजारलाई बढ्ने आधार भने दिएको देखिन्छ। अर्को तर्फ राज्य नै शेयर बजार बढाउने पक्षमा रहेकोले पनि मंगलबारको वृद्धिले निरन्तरता पाउने ब्रोकर कम्पनीहरूको अनुमान छ।

अर्को तर्फ रेखा चित्र हेर्नेहरूले समेत अब बजार बढ्दो लयमा नै रहने अनुमान गर्न थालेका छन्। यस अघि बजार बढ्ने निश्चित नभएसम्म होल्ड पोजिसनमा रहेका रेखाचित्र हेरेर लगानी गर्नेहरूले पनि मंगलबार बढेको बजारले अब बजारमा इन्ट्रि गर्दा हुने सङ्केत दिएको  बताउन थालेका छन्। जसले गर्दा आउने दिनमा थप बाईङ पोजिसन लिने बढेमा बजारले बढ्दो लय नै रहने अनुमान गर्न सकिन्छ।

अर्को तर्फ बैंक वित्तीय संस्थामा लिमिट लिएर बसेकाहरूले समेत पछिल्लो समय आफ्नो लिमिट चलाउन थालेको बुझिएको छ। जसले गर्दा बैंकको पैसा समेत शेयर बजारमा आउन थालेको छ। जसले शेयरको माग बढाउन टेवा पुर्‍याउने छ। अझै बैंक वित्तीय संस्थाबाट २५/५० लाख रुपैयाँ ऋण चलाउने भन्दा एक करोड माथिको ऋण चलाउने बढ्दै जान थालेका छन्। जसले बजारमा शेयरको माग बढाउन ठुलो टेवा दिने छ। किनकि साना लगानीकर्तामा भन्दा ठुला लगानीकर्तामा जोखिम लिने क्षमता बढी हुन्छ भने उनीहरूले सानाले भन्दा बढी नै शेयर होल्ड गर्ने क्षमता पनि राख्छन्। जुन बजारको लागि सकारात्मक पक्ष हो।




comments powered by Disqus

ब्रोकर भन्छन-'सबैको माग पुरा भयो, अब बजार बढ्छ', कारोबार रकम घट्नुको कारण भने यस्तो

Sep 30, 2024 06:11 PM

सुवास निरौला

सोमबार शेयर बजारको कारोबार मापक सूचक फराकिलो अंकले बढेपछि दोस्रो बजारमा पुनः शेयर बजार बढ्ने अनुमान आउन थालेका छन्। दोस्रो बजारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका ब्रोकर कम्पनीहरूले बजार बढ्ने प्रक्षेपण गर्न थालेका छन्।