जता बढी माग भयो र सर्किट लाग्यो लगानीकर्ताहरु त्यतै बढी झुम्मिने आम प्रवृत्ति हुन्छ, जुन अहिले देखिएको छ।
शेयर बजारमा हल्ला र लहै लहैमा कुद्नेहरुको भीड त हुन्छ तर लगानीकर्ताले हेर्नुपर्ने मुख्य कुरा के हो भने कस्ता कम्पनीको शेयरमा कम जोखिम छ र बढी फाईदा छ? भन्ने हो। कम भन्दा कम जोखिम लिएर बढी फाईदा लिन सक्नेले नै शेयर बजारमा ढुक्कले कमाउँछ र आरामको जिन्दगी जिउँछ। खराब कम्पनीमा उचालिएर धेरै जोखिम लिनेले गुमाउने सम्भावना पनि त्यति नै हुन्छ।
पूँजी बजारमा लिने फाईदा भनेको राम्रो कम्पनीको सस्तो शेयरमा लगानी गरेर लिने लाभांश र पूँजीगत लाभको दाहोरो फाईदा हो। जब लगानीकर्ताहरु कमपनीको आधारभुत अवस्था विचारै नगरी पूँजीगत लाभको लोभमा मात्र दौडन्छन्, त्यसले जोखिम बढाउँछ र बजारमा बढी अस्थिरता ल्याउँछ। कम्पनीको आधारभुत अवस्था पनि हेरेर लाभांशको पनि आँकलन गरी लगानी गर्नेहरुले दोहोरो लाभ लिनसक्छन्। अहिलेको शेयर बजारमा दुबै लाभ लिएर सुरक्षित लगानी गर्न सकिने संभावना प्रशस्त छन्।
लाभांश र पूँजीगत लाभ दुबै हेरेर सुरक्षित लगानी गर्न चाहनेहरुका लागि अहिले सस्ता मूल्य भएका लगानी कम्पनीहरु र बाणिज्य बैंकका शेयर नै सही विकल्प हुनसक्छन्। संस्थागत सुशासन, कम्पनीको बलियो वित्तीय अवस्था, आकर्षक नेटवर्थ, भविष्यमा राम्रो प्रगति विवरण पस्कन सक्ने सम्भावना र गत वर्षको नाफाबाट लाभांश पनि वितरण गर्नसक्ने अवस्था विचार गर्दा दुई सय रुपैयाँ तल शेयर मूल्य रहेको लगानी कम्पनी र प्रति शेयर नेटवर्थको दोब्बर मूल्य ननाघेका वाणिज्य बैंकहरु सही छनौट हुनसक्छन्।
यस्ता कम्पनीहरुमा लगानी गर्दा एकातिर कम दाममा धेरै कित्ता शेयर आउँछ भने अर्कोतिर शेयरको मूल्य बढेर जाँदा कम्पनीले दिने लाभांश निशुल्क हुने संभावना रहन्छ। चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको प्रगति विवरण सुधारात्मक आउने सम्भावनाहरु देखिईसकेका छन् र त्यसले बैंकका शेयरधनीको मनोबल उकासिदिन सक्छ। केही संस्थागत लगानीकर्ताहरुले वाणिज्य बैंकका शेयरहरु उठाउन शुरु गरिसकेका छनक पाईएको छ भने केही ठूला व्यक्तिगत लगानीकर्ताहरु पनि बैंककै सस्ता शेयर खरिदमा केन्द्रित भएका सूचनाहरु सार्वजनिक भएका छन्।
वाणिज्य बैंकको संस्ता शेयर खरिद गर्दा १८० दिनको औसत मूल्यको वा अघिल्लो दिनको कारोबार मूल्यको ७० प्रतिशतसम्म प्रायः सबै बैंकबाट कर्जा पाईन्छ भने यस्ता कम्पनीको शेयरको मूल्य घेरै घट्ने सम्भावना कम हुँदा मार्जिन कल आउने सम्भावना पनि हुन्न। बजारमा अनायास हुने घटाई वा कुनै कारणले शेयर बिक्री गर्नुपर्यो भने पनि एकैदिनमा लाखौं कित्ता शेयर बिक्री गरेर बाहिरिन सकिन्छ, जुन अरु साना कम्पनीमा सम्भव हुन्न। त्यसैले पनि ठूला व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुको रोजाईमा अहिले वाणिज्य बैंककै शेयर पर्नु स्वभाविक छ। केही वाणिज्य बैंकहरुको डिबेन्चरको म्याद सकिएर त्यसबाट आर्जित नाफा समेत यसै वर्षको वित्तीय विवरणमा देखिने भएकाले त्यस्ता बैंकको शेयर सस्तिएको बेला हात पार्नेहरु सक्रिय भएका हुनसक्छन्। एक जना चर्चित लगानीकर्ताले हालै एउटा सस्तो वाणिज्य बैंकको २५ लाख कित्ता शेयर दोस्रो बजारबाट किनेको उदाहरण हेर्ने हो भने बैंकको शेयरमा लगानीको रहस्य बुझ्न कठिन छैन।
१९ वटा वाणिज्य बैंकहरु रहेकोमा शेयर बजारमा १८ वटा वाणिज्य बैंकको मात्र शेयर कारोबार भईरहेको छ। कम्पनीको संख्या कम भए पनि साधारण शेयरको आपुर्ति बढी भएकाले एकैदिन धेरै मूल्य बढ्न सक्दैन। तर दुई महिना अघि प्रतिकित्ता १२९ रुपैयाँसम्म मूल्य तल झरेको बैंकको अहिले झण्डै दोब्बर शेयर मूल्य भएकाले वाणिज्य बैंकको शेयर मूल्य बढेन भन्नु नबुेझेर बोल्नु हो। अहिलेको मूल्यमा दोब्बर बढोत्तरी भए पनि वाणिज्य बैंकको शेयरमूल्य तुलनात्मक रुपमा सस्तै देखिने हुँदा लगानीकर्तामा कम जोखिम हुन्छ। पहिले जस्तो जथाभावी हकप्रद, थप नयाँ साधारण शेयर अर्थात एफपीओ बिक्री वा धेरै मात्रामा बोनस वितरण गरेर शेयरको संख्या बढाउने प्रतिस्पर्धा नहुने र संस्थापक शेयर समेत तत्कालै साधारणमा परिवर्तन भएर नआउने हुँदा आपुर्ति नियन्त्रित नै रहन्छ।
बजारमा माग बढ्दा बैंकको शेयरको मूल्य पनि बढेर जान्छ र क्रमबद्ध रुपमा प्रगति गरेको विवरणहरु प्रकाशन हुँदा लाभांश क्षमतामा पनि बढोत्तरी हुन जाने देखिन्छ। आउने वर्ष हरेक वाणिज्य बैंकले १० प्रतिशत लाभांश वितरणको क्षमता प्रदर्शन गर्नसक्ने सम्भावनालााई नकार्न सकिँदैन।
अन्तरराष्ट्रिय अभ्यासहरु हेर्दा प्रति शेयर नेटवर्थको तीन गुणासम्म शेयर मूल्य र ३० सम्म मूल्य आम्दानी अनुपात हुँदा सामान्य मानिन्छ र नेपालका कयौं वाणिज्य बैंकहरुको प्रति शेयर नेटवर्थको दोब्बर पनि मूल्य छैन र अधिकांशको मूल्य आम्दानी अनुपात २० हाराहारीमै रहेको पाईन्छ।
बैंकको शेयरमा सर्वसाधारण लगानीकर्ताले लगानी गर्नुपर्ने अर्को कारण नेपाल राष्ट्र बैंकको कडा निगरानीमा रहनु पनि हो। अलिकति बदमासी हुनासाथ राष्ट्र बैंकले सञ्चालक, कर्मचारी र ऋणीलाई समेत कडा कारबाही गर्ने हुँदा कमै बदमासी हुने गरेको छ र बैंकहरु डुबेर बचतकर्ता, ऋणी र शेयरधनीले अहिलेसम्म रित्तो हात फर्किनु परेको छैन। यसमा विकास बैंकहरुकै पनि अवस्था उही हो यद्यपी फाईनान्स कम्पनीहरुमा नियमन अझै कमजोर नै छ। यसरी कडा नियम र नियमनले बाँधिएका कम्पनीहरु नेपालको शेयर बजारमा कमै छन्। बीमा प्राधिकरणले पछिल्लो समयमा बीमा कम्पनीहरुलाई कडा नियमन गर्न थाले पनि राष्ट्र बैंककै दाँजोमा पुग्न सकेको छैन, जलविद्युत कम्पनीहरुमा विद्युत नियमन आयोगको नियमनको परीक्षण भईरहेको छ। जहाँ कडा नियमन हुन्छ, त्यहाँ बदमासी कम हुन्छ र बदमासी भए पनि तत्कालै कारबाही भएर असुल उपर हुन्छ, सर्वसाधारणको लगानी सुरक्षित हुन्छ।
अन्तिममा, कस्ता कम्पनीको शेयर किन्नु उचित होला भन्ने सवालमा केही सुझावहरु प्रस्तुत गरिन्छ, तर लगानीकर्ताले आफ्नै अध्ययन, विश्लेषणबाट मात्र किनबेचको निर्णय लिनुपर्छ। नयाँ सर्वसाधारण लगानीकर्ताले कम जोखिम लिएर शेयर किन्ने हो भने सामूहिक लगानी कोषका ईकाईहरुमा लगानी गर्नु उत्तम हो तर दोस्रो बजारमा अरु कम्पनीको शेयर किन्ने हो भने धेरै कुरा विचार गर्नुपर्छ। आफुले शेयर किन्न चाहेको कम्पनीको धनात्मक नेटवर्थ भएको, प्रति शेयर नेटवर्थको तेब्बरभन्दा बढी मूल्य नरहेको, वितरणयोग्य आय धनात्मक भएको, प्रतिशेयर आम्दानी पाँच रुपैयाँभन्दा बढी रहेको, लाभांश र पूँजीगत लाभ दुबै हुने, बोनस शेयरभन्दा नगद लाभांश वितरण गर्ने, ३० भन्दा तल मूल्य आम्दानी अनुपात रहेको, क्रमबद्ध रुपमा प्रगति गर्दै गएको, निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतभन्दा तल रहेको, सहजै बैंकको धितो स्वीकार्य हुने, १८० दिनको औसत मूल्य हाराहारी दोस्रो बजारमा शेयर मूल्य रहेको, संस्थागत सुशासन राम्रो रहेको, बजारमा शेयर आपुर्ति तुलनात्मक रुपमा कम रहेको र निकट भविष्यमा आपुर्ति थपिने सम्भावना नरहेको, धेरै शेयर आपुर्ति रहेको ठूलो बैंकसँग मर्जरमा जाने सम्भावना नभएको र राम्रो काम गरेको समाचार पस्कन सक्ने कम्पनी हेर्नु उचित हुन्छ। कतिपय अवस्थामा विगतमा नराम्रो भएर आगामी दिनमा राम्रो गर्ने संकेत देखाएकका कम्पनीहरुले पनि लगानीमा राम्रो प्रतिफल दिन सक्छन्।
यहाँ सबैले बुझ्नुपर्ने कुरा के हो भने शेयर बजारमा नाफा नै हुने ग्यारेन्टी हुन्न र लगानी नडुब्ने कुराको कसैले जिम्मा लिन सक्दैन। जतिसुकै सुरक्षित लगानी गरे पनि जोखिम रहन्छ र लगानी सुरक्षाको सवाल जहिले पनि चुनौतिपूर्ण हुन्छ। ्
(स्पष्टिकरणः यहाँ प्रस्तुत सुझावहरु लगानीकर्ताहरुको अध्ययनका लागि आधार वस्तु मात्र हुन, शेयर किन्न प्रोत्साहन वा नकिन्न दुरुत्साहन गरिएको हैन। लगानीकर्ता आफ्नो जोखिमबहन क्षमता, रणनीति र अध्ययन विश्लेषण गरी निर्णय गर्न स्वतन्त्र छन्।)