९ महिनामा ८ लाख पर्यटकले गरे नेपाल भ्रमण

Oct 02, 2024 02:50 PM MeroLagani



सन् २०२४ को सेप्टेम्बरमा नेपालमा ९६ हजार ३ सय ५ पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो अघिल्लो वर्ष सेप्टेम्बरमा आएको पर्यटक संख्या भन्दा ५.८२ प्रतिशतले र सन् २०२९ को सेप्टेम्बरको तुलनामा ४ प्रतिशतले बढी हो।

सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार १२ जना र सन् २०१९ को सेप्टेम्बरमा ९२ हजार ६०४ पर्यटक नेपाल भ्रमणमा आएका थिए।

जुन, जुलाई, अगष्ट महिनामा तुलनात्मक रुपमा नेपालमा वर्षातको समय हुने हुँदा पर्यटकको आगमन कम हुने गर्दछ। सेप्टेम्बर लागेपछि विस्तारै पानी पर्न कम हुने हुँदा विस्तारै पर्यटकको आगमन बढ्ने गर्दछ। अक्टोबर र नोभेम्बरमा नेपालमा मौसम सफा रहने, हिमाली दृष्य मज्जाले देखिने हुँदा पदयात्राको लागि आउने पर्यटकहरु बढ्ने गर्दछ तर नेपालमा यस वर्ष भएको हवाई दुर्घटना तथा पछिल्लो समय आएको अविरल वर्षा तथा बाढीको कारणले सिर्जना भएको सडक अवरोधले भने पर्यटनमा नकारात्मक असर परेको छ।

सेप्टेम्बरमा आएका पर्यटकमध्ये सबैभन्दा बढी भारतबाट २२ हजार ९ सय ८४ जना पर्यटक नेपाल भ्रमणमा आएक छन्। भारतपछि धेरै पर्यटक आउने देशमा अमेरिका परेको छ। अमेरिकाबाट सेप्टेम्बरमा मात्रै १० हजार ८४ जना पर्यटक नेपाल भित्रिएका छन्। कोभिड पछि अर्को छिमेकी देश चीनबाट आउने पर्यटक संख्यामा भने खासै वृद्धि देखिएको छैन। सेप्टेम्बरमा चीनबाट ८ हजार ४२ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्।

त्यसैगरी अष्ट्रेलियाबाट ५ हजार ३८ जना, श्रीलंकाबाट ४ हजार ९ सय १५ जना बेलायतबाट ४ हजार ४ सय ९३ जना, बंगलादेशबाट ४ हजार १ सय ३ जना, जर्मनीबाट २ हजार ७ सय ४ जना, दक्षिण कोरियाबाट २ हजार ३ सय ५१ जना र मलेसियाबाट २ हजार २ सय ८० जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। पछिल्लो समय दक्षिण एसियाली मुलुकहरुमध्ये श्रीलंका र बंगलादेशबाट पर्यटक आगमनमा सकारात्मक योगदान दिन थालेको छ। नेपाल र कोलम्बो सिधा उडानको प्रभाव श्रीलंकाली पर्यटक आगमनमा परेको पर्यटन उद्यमीहरु बताउँछन्। विशेषगरी श्रीलंकाबाट बौद्धमार्गी पर्यटकहरु नेपाल भ्रमणमा आउने गरेका छन्।

नौ महिनामा ८ लाख १६ हजार पर्यटक

सन् २०२४ को नौ महिनामा पर्यटक आगमन ८ लाख नाघेको छ। जनवरीदेखि सेप्टेम्बरसम्म ८ लाख १६ हजार ६ सय ३९ पर्यटक नेपाल आएका छन्। तीमध्ये सबैभन्दा धेरै मार्च र अप्रिलमा १ लाखमाथि आएका छन्।
कुन महिनामा कति पर्यटक आए ?
जनवरी: ७९,१००
फेब्रुअरी: ९७,४२६
मार्च: १,२८,१६७
अप्रिल: १,११,३७६
मे: ९०,२११
जुन: ७६,७३६
जुलाई: ६४,५९९
अगस्ट: ७२,७१९
सेप्टेम्बर: ९६,३०५

 

 




comments powered by Disqus