“राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उनी अस्वस्थ्य भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको” सिफारिस समितिले जारी गरेको सूचनामा भनिएको छ।
कानुन त नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनौट समितिको संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुने गर्छन्। अहिले योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी छन्। उनी बिरामी भएर अस्पताल भर्ना भएको कारण अन्तरवार्ता क्यान्सिल हुन पुगेको बताइएको छ। जबकि उनी बुधवारसम्म कार्यालयमा उपस्थित थिए। अधिकारीको सचिवालयका अनुसार बुधवार बेलुकीसम्म कार्यालयमा नै काम गरेर गएका अधिकारी बिहीबार सार्वजनिक बिदा भएका कारण कार्यालय आएनन्। शुक्रवार भने उनले बिरामी बिदा लिएको सचिवालयको भनाई छ।
तर अधिकारी बिरामी भएर उपस्थित हुन नसकेको भन्दा पनि अर्थमन्त्रीको चाहना विपरीत अन्तरवार्ताको मिति तोकिएको कारण उनी उपस्थित नभएको आशङ्का गरिएको छ। यस अघि अर्थमन्त्री नेपालमा नभएको बेला एक्कासी अन्तरवार्ताको मिति तोकेर सार्वजनिक सूचना निकालिएको थियो। जुन सूचना अर्थ सचिवको निर्देशनमा आएको बुझिएको छ। जसमा अर्थमन्त्रीले चित्त बुझाएका थिएनन्। सोही कारण यस पटक अधिकारी एक्कासी बिरामी हुन पुगेको बहाना बनाइएको आशङ्का छ। खासगरि कसलाई अध्यक्ष बनाउने भन्ने विषयमा कुरा नमिल्दा सरकारले नियुक्ति प्रक्रिया लम्ब्याएको हो। यस अघिका अर्थमन्त्री वर्षमान पुनले तीन जनालाई उपस्थित नहुन उर्दी जारी गरेर प्रक्रिया अवरुद्ध पारेका थिए भने यस पटक सरकार नै प्रक्रियाबाट पछि हटेको छ।
शुक्रवार बिहान तोकिएको अन्तरवार्ताको लागि तीन मध्ये दुई उम्मेदवार उपस्थित भएका थिए। जसमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी निर्देशक कृष्णबहादुर कार्की थिए। “अन्तरवार्ताको लागि आज बिहानै तोकिएको समय अघि नै हामी दुई जना पुगेका थियौ। तर संयोजकज्यू उपस्थित हुन नसकेको कारण अन्तरवार्ता क्यान्सिल हुन पुगेको जानकारी हामीलाई गराइयो। त्यसपछि हामी फर्कियौ,” धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीले मेरो लगानीसँग भने।
तर अर्का उम्मेदवार चिरन्जीबी चापागाईँ भने यस पटक पनि अन्तरवार्तामा उपस्थित हुन पुगेका थिएनन्। यस अघि पनि दुई पटककै अन्तरवार्तामा गयल भएका थिए। उनी तेस्रो पटक गयल भए।
यस अघि अन्तरवार्ता दिनेले बिरामी भएको बहाना बनाएका थिए भने यस पटक अन्तरवार्ता लिने बिरामी परेको बताइएको छ। अन्तरवार्ता दिने र लिने पटक पटक बिरामी पर्दा धितोपत्र बोर्ड अध्यक्ष नियुक्त भने अन्योलमा पर्दै आएको छ। यही अन्योलताको बीच धितोपत्र बोर्डको अध्यक्ष पद गत पुस २० गते देखि रिक्त छ।