सरकार अन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र दुग्ध विकास संस्थान (डीडीसी)ले छुट सहितका आउटलेट र घुम्ती सेवा सञ्चालनमा ल्याएका छन्।
छुट दिनेमा सबैभन्दा अघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी छ। खाद्यले ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गरिरहेको जनाएको छ। दसैँ अघि बाटै सञ्चालनमा ल्याएको छुट अफर आउने माघ २ गतेसम्म रहने छ। यस वर्ष सहुलियत पसलबाट कम्पनीले ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य राखेको छ । उसले चामल र दालमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको छ । जुन गत वर्षको तुलनामा कम हो । गत वर्ष सोही वस्तुमा प्रतिकिलो ७ रुपैयाँ छुट थियो ।
कर्णालीको सिमी, गेडागुडी, फापर दाना, चिनो, उवा र जुम्ली मार्सीमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको छ । गत वर्ष यी खाद्यान्नमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको थियो । विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा र चना, चिनीमा ५ रुपैयाँदेखि ७ रुपैयाँसम्म छुट दिइएको छ ।
यसैगरी अर्को सहुलियत पसल खोल्ने निकाय साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड हो। उसले गत असोज ७ देखि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । उसले उपत्यकाका ११ स्थानबाट सहुलियत दिँदै आएको छ । उपत्यकाबाहेक २१ जिल्लामा रहेको आउटलेटबाट पनि उसले छुट दिई रहेको जनाएको छ । उसले नुनमा २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, तेलमा ७ रुपैयाँ, चिउरामा ७ रुपैयाँ, पिठो र मैदामा पनि प्रतिकिलो ७ रुपैयाँ छुट दिँदै आएको छ । सहुलियत पसल सँगै उसले तीन वटा घुम्ती सेवा पनि सञ्चालन गरिरहेको जनाएको छ ।
यता दुग्ध विकास संस्थानले पनि आफ्नो उत्पादनमा छुट दिएको छ । डीडीसीले गत भदौ १ देखि नै छुट दिँदै आएको जनाएको छ । डीडीसीले प्रतिलिटर दहीमा २५ रुपैयाँ, आइसक्रिममा ९० रुपैयाँ, पनिर (आधा किलो) मा २० रुपैयाँ र कञ्चन चिज, केक प्रति किलोमा ९५ रुपैयाँ छुट दिइरहेको जनाएको छ । सबैभन्दा बढी छुट याक चिजमा दिएको छ। उसले चिजमा किलोमै एक सय ४० रुपैयाँसम्म छुट दिएको जनाएको छ । त्यसका अतिरिक्त संस्थानले प्रतिबट्टा रसबरीमा २० रुपैयाँ, क्यान रसबरीमा ४० रुपैयाँ, प्रतिबट्टा लालमोहनमा २० रुपैयाँ, प्रतिबट्टा पेडामा २० रुपैयाँ, प्रतिबट्टा घिउमा ७५ रुपैयाँ, खुला मखनमा ६५ रुपैयाँ, २ सय मिलिग्राम फ्रेस मिल्कमा १० रुपैयाँ, ३ सय मिलिलिटर स्ट्रबेरी लस्सीमा १० रुपैयाँ छुट दिँदै आएको जनाएको छ।