दसैँ अघि बिपी राजमार्ग नखुल्ने, वैकल्पिक बाटो प्रयोग हुँदै, कुन कुन रुटबाट छोड्न सकिन्छ उपत्यका ?

Oct 04, 2024 04:02 PM merolagani



उपत्यकाबाट पूर्वी जिल्ला जोड्ने बिपी राजमार्ग दसैँ अघि नखुल्ने निश्चित जस्तै देखिएको छ। पूर्व जाने प्रमुख राजमार्ग नखुल्ने निश्चित जस्तै भएपछि यातायात व्यवसायीले वैकल्पिक बाटो हुँदै पूर्वको यात्रा गराउन थालेका छन्।

“उपत्यकाबाट पूर्वी जिल्ला जोड्ने बिपी राजमार्ग अवरुद्ध भएपछि हामीले वैकल्पिक बाटो प्रयोग गरेर यात्रीलाई गन्तव्यसम्म पुर्‍याउन थालेका छौ,” नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मेरो लगानीसँग भने।

सिटौलाका अनुसार, अहिले पनि बिपी राजमार्गमा ६ सय भन्दा बढी गाडी फसेका छन्। जुन गाडीहरू न उपत्यका तर्फ आउन सक्छन् न त पूर्व नै फर्कन सक्छन्। उनीहरू शुक्रवारसम्म पनि ती सबारीसाधन बीच बाटोमै अलपत्र छन्। जसका कारण सबै चाप नौबिसे नाग ढुङ्गा सडकमा परेको छ। अहिले सोचेभन्दा बढी चाप यो रुटमा देखिएको छ। बिपी राजमार्ग अवरुद्ध भएका कारण अहिले यातायात व्यवसायीको अनुरोधमा सरकारले नेपाल भरिकै लागि रोड परमिट खुला गरेको छ। जस कारणले जसले जुन बाटोबाट यात्रुलाई सेवा दिन सकिन्छ। त्यही रुटबाट सेवा दिन थालेका छन्। फेरि यातायातको चाप अत्यधिक बढेको कारण बिहीबारबाट ठुला मालवाहक सबारीसाधनलाई चितवनबाट उपत्यका तर्फ आउन रोकिएको छ। जसले गर्दा यात्रुवाहक सबारीसाधनलाई सहज हुने अपेक्षा गरिएको छ।

बिस्तारै चन्द्रागिरी हुँदै चित्लाङ तर्फको बाटोबाट यात्रुलाई लैजान थालिएको छ। पूर्वी पहाडी जिल्ला खोटाङ, सङ्खुवासभा र भोजपुर जाने यात्रीलाई सिता पाइला हुँदै धार्के निकालेर नौबिसेको बाई रोडको बाटो हुँदै लैजान थालिएको छ। तर अहिले अग्रिम बुकिङ भने गर्ने गरिएको छैन। सबारीसाधन आएपछि मात्रै टिकट काट्ने गरिएको छ।  

यातायात व्यवसायीले सेवा दिन खोजेको भएपनि यात्रा भने सहज छैन। किनकि सबैभन्दा पहिले त यात्रुले पहिले नै आफ्नो गन्तव्यमा जानको लागि अग्रिम टिकट काट्ने अवस्था छैन। अर्को तर्फ टिकट पाइने नपाइने अनिश्चितताको बीच यात्रुले आफ्नो यात्रा प्रारम्भ गर्नु पर्ने हुन्छ। जसले गर्दा पुग्नै पर्ने बाध्यता भएका बाहेककाले अहिले यात्रा गर्न सहज छैन। तर यातायात व्यवसायीले भने दसैँमा जसरी पनि यात्रुलाई गन्तव्यसम्म पुर्‍याएरै छाड्ने बताउँदै आएका छन्।   




comments powered by Disqus