'अहिलेको करेक्सन लगभग सकियो, बुल त आउनै बाँकी छ'

Oct 05, 2024 10:59 AM Merolagani



पछिल्लो केहि समयदेखि निरन्तर घटेको बजार यस साता केहि सम्हालिन खोजेको छ। नेप्से सूचक सँगै कारोबार रकम पनि बढ्दा लगानीकर्तामा कन्फिडेन्स पनि बढेको छ। २४४३ विन्दुसम्म झरेको नेप्से २६०० विन्दु नजिक पुगेको छ भने ४ अर्बभन्दा तल झरेको दैनिक कारोबार रकम ७ अर्बसम्म पुगेको छ।

यस्तो छ पछिल्लो बजारको अवस्था र लगानीकर्ताले अपनाउनुपर्ने रणनीतिको विषयमा लगानीकर्ता महेश रिजालसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • पछिल्लो समय बजार भोलाटाइल छ। एकैपटक उच्च अंकले बढ्यो फेरि उच्च अंकले घट्यो। यो स्वभाविक हो कि के हो?

बजार एग्रेसिभ रुपमा बढ्यो। कारेक्सन हुँदै बढेको भए त्यहि अनुसारको घटाइ हुन्थ्याे। लगानीकर्तालाई एक हजार अंकले बढ्छ भन्ने अपेक्षा थिएन, त्यसरी बढेपछि करेक्सन पनि अलिकति अत्याउने हिसाबले भएको छ, यो स्वभाविक नै हो।

  • कारोबार रकम पनि ३० अर्बसम्म पुगेको ४ अर्बभन्दा तलसम्म झर्यो, यसलाई कसरी बुझ्ने?

पछिल्लो समयको तथ्याँक हेर्ने हो भने उच्च विन्दुबाट करेक्सन आउँदा कारोबार रकम पनि घट्छ। उच्च कारोबार रकमबाट करेक्सन आउँदा पछिल्ला तथ्याँक अनुसार ९ देखि १२ प्रतिशतसम्मको करेक्सन देखिन्थ्यो। अहिले करिब २० प्रतिशत करेक्सन हुन खोजेको देखिन्छ।

पहिलेका ट्रेण्डहरुलाई आधार मान्दा माथिल्लो विन्दुहरुबाट बजार घट्दा कारोबार रकम पनि घट्ने गरेको छ। अहिले यो कारोबार रकम घट्नु पनि अप्राकृतिक छैन प्राकृतिक नै देखिन्छ।

  • पछिल्लो दुई दिनदेखि बजार बढ्दो गतिमा देखिएको छ, अब बजारको करेक्सन सकियो भन्न सकिन्छ?

अब २४५० सम्मको लेभलसम्म झरेर नआउला कि भन्ने लाग्छ। अस्तिकै न्युन विन्दु नै अहिलेको लागि बजारको न्युन विन्दु हुनसक्छ। अहिलेको लागि करेक्सन सकिएको हो कि जस्तो लाग्छ।

  • अहिले पनि लगानीकर्ताको आकर्षण न्युन पूँजी भएका कम्पनीहरुमा नै देखिन्छ नि किन?

हामीले कसरी हेर्नुपर्छ भने जुन बेला कारोबार रकम न्युन हुन्छ न्युन पूँजी भएका कम्पनीहरुको शेयरमूल्य बढ्छ। कारोबार रकम धेरै आँउदा धेरै पूँजी भएका कम्पनीहरु पनि बढ्छन्।

अब १५ अर्ब भन्दा माथिको भोल्युम आउदा आधारभूत रुपमा दरिला र उच्च पूँजी भएका कम्पनीहरुको पनि शेयरमूल्य बढ्छ। हाइ क्याप कम्पनीहरुको मूल्य नबढी सूचक माथि जान सक्दैन। लो क्यापले मात्रै सूचकलाई माथि लैजान सक्दैन।

बजारका खेलाडिको स्ट्राटेजी पनि भोल्युम कम छ कि धेरै छ कि र हाइक्याप चलाउन सकिन्छ कि सकिदैन। कुन चलाउन सजिलो हुन्छ भन्ने कुरा हेरेर रणनीति बनाउने गर्छन। त्यसैले मलाई यो स्मार्ट मनी र बजारका अनुभवी लगानीकर्ताको रणनीतिले नै बजार ड्राइभ गरेको जस्तो लाग्छ।

  • त्यसो भए अबको समयमा कारोबार रकम बढ्दै जाँदा लगानीकर्ताले आधारभुत रुपमा बलिया र उच्च चुक्ता पूँजी रहेका कम्पनीहरुमा पनि आँखा लगाउनु पर्ने देखियो?

उच्च पूँजी भएका कम्पनीहरु नचली नेप्से बढ्नै सक्दैन। अहिले यो बुलमा नेप्से ४ हजार ४५०० पुग्छ भन्ने लगानीकर्ताहरुले अनुमान गरिरहेका छन्। त्यसको लागि हाइ क्याप कम्पनी पनि अहलेको मूल्यबाट दोब्बर हुनुपर्छ।

  • अहिले संस्थागत लगानीकर्ताको भुमिका बजारमा कस्तो छ?

अहिले समयमा संस्थागत लगानीकर्ताको लागि पनि राष्ट्र बैंकले शेयर धितो कर्जाको क्याप हटाएपछि कर्जा लिएर बजारमा लगानी गरिरहेका छन्। त्यो भयो भने बजारको लागि दिगोपन हुन्छ। उनीहरुले दीर्घकालिन लगानी गरेका हुन्छन्। उनीहरुको प्रवेश गर्नु बजारको लागि अपरिहार्य जस्तै छ।

  • अहिले संस्थागत लगानीकर्ता बजारमा सक्रिय छन्?

संस्थागत बजार प्रवेश गरिरहेका छन्। हरेक कुराले बजार बुलमा गएको करिब कन्फम छ। बियरमा गएको ३ वर्ष बढी भएको, बलियो सरकार आएको र प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नर नै एमालेका छन्। अहिले रियलस्टेट पनि त्यति चल्न सकेको छैन। नीतिगत तहमा बस्नेले पनि बजारलाई चलायमान नबनाई अन्य क्षेत्र चलायमान हुन सक्दैन भन्ने कुरा बुझ्नुपर्छ।

  • शेयर बजारको नियामक निकाय धितोपत्र बोर्ड छ तर राष्ट्र बैंकको नीतिले बजार बढी प्रभावित भएको देखिन्छ नि?

केहि कुराहरु सेबोन कै कुराले पनि बजार प्रभावित हुन्छ तर धेरै चाँही राष्ट्र बैंकको नीतिगत परिवर्तनले धेरै असर पर्छ। किनभने जबसम्म हामी धेरै शेयर धितो कर्जाको लागि बैंक तथा वित्तीय संस्थामा मात्रै निर्भर छौ तबसम्म राष्ट्र बैंकको नीतिले असर गरिरहन्छ।

  • मार्जिन ट्रेडिड. ब्रोकरमार्फत गराउने हो भने बजारमा राष्ट्र बैंकको असर कम हुन्छ?

त्यसले मात्रै पर्याप्त हुँदैन। कित छुट्टै संस्था खोलेर मार्जिन ट्रेडिङ त्यसबाट मात्रै गराउनु पर्छ। त्यसो भयो भने केहि कम प्रभाव पर्छ तर राष्ट्र बैंकको नीतिले प्रभावै नपर्ला जस्तो भने लाग्दैन।

  • बजारमा ब्रोकरले लिमिट टाइट गरेर बजार घट्यो भन्ने र प्राविधिक विष्लेषकको कारण बजार घट्यो भन्ने दुईथरी लगानीकर्ताहरु देखिन्छ, हजुरले पछिल्लो समयको बजारलाई कसरी विष्लेषण गर्नुहुन्छ?

हजुले भनेको यो दुईवटै कुरामा केहि सत्यता छ। आम लगानीकर्ताले जेलाई धेरै फलो गर्छन त्यसले बजारलाई प्रभावित बनाउछ। अहिले बजारमा आएका युवापुस्तामा धेरै प्राविधिक विष्लेषण हेर्ने प्रचलन छ यसले अन्य पुराना लगानीकर्तालाई पनि प्राविधिक विष्लेषण हेर्न बाध्य बनाएको छ।

अर्को कुरा ब्रोकरले कोल्याट्रल नदिएर बजार प्रभावित भन्ने कुरामा बजार बढ्दै जाँदा कसैलाई पनि असर पर्दैन। जब बजार घट्न थाल्यो त्यसपछि मात्रै समस्या देखिएको हो।

विगतमा पनि यस्तो समस्या देखिएको थियो। क्रेडिटको रोटेसन नमिल्दा सम्म बजार माथि जान सक्दैन। थियो। टप लेभलमा उच्च भोल्युम आयो र बजार त्यो भन्दा माथि जान सकेन भने एक महिना जति नै बजार प्रभावित हुने गरेको थियो। अहिले पनि त्यहि अवस्था देखिएको हो।

हाम्रो बजार दुईतर्फी भएको भए यस्तो अवस्था आउदैन थियो। बजार एकतर्फी भएको कारण कमाउनको लागि बजार बढ्नै पर्छ। त्यसले गर्दा पनि बजार केहि प्रभावित हुन्छ।

  • हाम्रो बजार एकतर्फी छ तर पनि बजारमा एकदमै सर्टटर्म लगानीकर्ता धेरै हाबी भएको देखिन्छ। किन?

त्यो लगानीकर्ताको आफ्नो नेचर अनुसार फरक पर्छ। अहिले ट्रेडरहरुले पनि के रियलाइज गरेका छन् भने २२०० आसपास बिक्री गर्ने लगानीकर्ताले पनि पछि महँगोमा किन्नुपर्यो। प्रविधिक विष्लेषण ठ्याक्कै मिल्ने भए त होल्ड गरेर पनि राख्न सक्ने थिए।

जो बजारमा पूर्ण रुपमा लागेको छ भने उसको लागि ट्रेडिङ ठिक हुन्छ होइन अन्य काम पनि गर्ने मान्छेलाई ट्रेड गर्दा सर्ट टर्ममा कमाएपनि दीर्घकालमा गुमाउन सक्ने सम्भावना हुन्छ।

  • हाम्रो बजारमा दीर्घकालिन लगानीकर्ता बढी भएको राम्रो कि अल्पकालिन लगानीकर्ता?

बजारको लागि राम्रो त दीर्घकालिन लगानीकर्ता बढी भएको राम्रो। व्यक्तिगत साना लगानीकर्ताको ट्रेडले बजारलाई धेरै प्रभाव पार्दैन। बजारलाई चलायमान पनि बनाउनुपर्छ। त्यसले गर्दा संस्था गत लगानीकर्ता धेरै भित्र्याउन सकियो भने साना लगानीकर्ताले जति धेरै ट्रेड गर्दैनन। ठुला लगानीकर्ताले पनि धेरै सर्ट टर्म ट्रेड गर्दैनन। साना लगानीकर्ता जो पूर्ण रुपमा बजारमा लागेका छ उनीहरुले अलि बढी ट्रेड गर्छन।

तर आफुले आफैलाई कमाए कि गुमाए भनेर प्रश्न गर्दा ट्रेड गरेर कमाउनेभन्दा गुमाउने सम्भावना बढी हुन्छ।

कतिपय मिडियाले पनि बजार सुन्दर छ भन्ने हिमाबले बजारलाई प्रस्तुत गरिरहेका हुन्छन् तर बजार जोखिम छ भनेर प्रस्तुत गर्नुपर्छ। बजारमा धेरै नै अध्ययन गर्नुपर्छ।

हरेकपटक बजारमा फस्ने भनेको नयाँ मान्छे हुन्। अहिले ३००० को विन्दुमा समेत धेरै नयाँ लगानीकर्ता नै फसेका छन्। यस्तो हुँदा लगानीaकर्ताहरु बजारबाट फर्केर नआउने सम्भावना पनि हुन सक्छ।

बजार त्यति सजिलो छैन। अध्ययन एकदमै बढी गर्नुपर्ने हुन्छ। साइकोलोजी स्टडी गर्नुपर्ने हुन्छ। वियभियर अध्ययन गर्नुपर्ने हुन्छ।

बाहिरबाट जति बजारबाट कमाउन सजिलो देखिन्छ त्यति सजिलो छैन। कुनै ट्रेडमा एक हजार कमाउदा अर्को ट्रेडबाट १० हजार गुमाउने सम्भावना रहन्छ। बजारलाई पूर्ण समय दिन सकिदैन भने सर्ट टर्म गर्नु हुँदैन।

सकेसम्म कुनै बटममा लगानी गर्ने र बुलमा निस्कने गरी लगानी गर्नुपर्छ। यसमा बटम कुन भन्ने प्रश्न आँउछ। हामी धेरै महत्वकाँक्षी नभइ हेर्दा यो पटकको बटम भनेको अघिल्लोको बुल बराबरको हुन्छ। जस्तै यो भन्दा अघिल्लो बुल १८०० को थियो भने अहिले बजार १८०० बाट घटेन। त्यो भन्दा अगाडिको पनि ११०० को विन्दुबाट बजार झरेन। बुल भनेको बटमको ३ गुणासम्म हुनसक्छ। अहिलेको अवस्थामा १८०० को ५४०० को हाराहारी हुन्छ। तर बजार त्यति पुग्दा जिडिपी भन्दा बढी हुनसक्छ त्यसले गर्दा नियामकले पनि पोलिसी करेक्सन गर्न सक्छ।

जिडिपीको आसपास बजार पूँजीकरण हुँदा, नीतिगत रुपमा कडाई हुन थालेपछि र ब्याजदर बढेर दोहोरो अंकमा पुग्न थालेपछि बजारबाट निस्किदा ठिक हुन्छ।

  • अबको बजारमा लगानीकर्तालाई सुझाव के छ?

बाहिरबाट हेर्दा जति सजिलो हुन्छ बजारमा कमाउन त्यति सजिलो छैन। अलिकति अध्ययन गरेर, डाटाहरु हेरेर स्वः अध्ययन गरेर खरिद गर्दा बटममा किन्न नपाए पनि त्यसको नजिक किन्न पाइन्छ र बुलको समयमा केहि माथि बेच्न सकिन्छ।

बजारमा कमाउने सम्भावना अथाह छ। मलाई त के लाग्छ भने बुल त आउनै बाँकी छ। अहिले कहाँ सकिनु र। जसरी तिब्र गतिमा बढेको थियो त्यसैगरी घटेर प्यानिक बनाएको हो।

बजारबाट गुमाउनु भएको छ भने बजारबाटै कमाउने हो। जहाँ लड्नु भएको त्यहिबाटै उठेर अघि बढ्ने हो।

आफु कति सफल र कति असफल भन्ने कुरा मापन गर्ने माध्यम बजार पनि हो। त्यसले पनि एउटा इन्डिकेटरको रुपमा काम गर्छ।

लगानी गरेर डुब्नु भएको छ भने अब सावाँ आएपछि निस्किन्छु र बजार छिर्दिन भन्ने मानसिकता राख्नु हुन्न्। अरुको कुरा नि सुन्ने र स्वः अध्ययन गरेर लगानी गर्ने हो भने बजार बढ्ने ठाँउ धेरै छ र बढ्न बाँकी कम्पनी पनि धेरै छन्।

  • भनेपछि अबको समयमा लगानीकर्ताले कस्ता कम्पनी अथवा कुन सेक्टरलाई टार्गेट गर्दा ठिक होल ?

कारोबार रकम बढ्दै गयो र १५ अर्ब माथि आउन थाल्यो भने हाइक्याप कम्पनी र वित्तीय रुपमा सबल कम्पनी नै चल्छन्। कारोबार रकम बढ्न सकेन भने न्युन पूँजी भएका कम्पनीहरु नै चल्न सक्छन्। बजारको सेन्टिमेन्ट जे हुन्छ त्यहि अनुसार नै कम्पनीहरु चल्छन्।

 




comments powered by Disqus