सुनकाे भाउले दिनानुदिन नयाँ रेकर्ड बनाउँदै, कारण यस्ताे

Oct 05, 2024 06:39 AM Merolagani



पछिल्लाे समययता सुनकाे भाउले दिनानुदिन नयाँ रेकर्ड बनाइरहेकाे छ । साेहि क्रममा यो साता पनि सुन र चाँदी दुवैको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको पछिल्लो कारोबार भएको दिन, शुक्रबार सुनकाे मुल्यले नयाँ उचाई छाेएको हो ।

विश्व बजारकाे प्रभावसँगै नेपाली बजारमा यो साता सुनको मुल्यले रेकर्ड कायम गर्यो । साताको पहिलो दिन सुन ताेलाकाे एक लाख ६० हजार ६०० रूपैयाँ ताेकिएकाे थियाे ।  त्यसपछि,  सुनको मुल्य सस्तिएर साताको दोस्रो दिन एक लाख ६० हजार ५०० रूपैयाँ र तेस्रो दिन एक लाख ६० हजार रूपैयाँमा झर्याे । यद्धपी, बुधबारदेखि भने सुनकाे भाउ बढ्न शुरु भयाे । त्यस दिन, सुन प्रतिताेला एक लाख ६० हजार ८०० रूपैयाँ ताेकिएकाे थियाे । बढ्ने क्रम जारी रहँदै बिहीबार एक लाख ६० हजार ९०० रूपैयाँमा खरिदबिक्री भएकाे सुनकाे भाउले याे साताको छैटौं दिन भने उच्च रेकर्ड राख्याे । शुक्रबार सुन ताेलाकै एक लाख ६१ हजार ३०० रुपैयाँकाे उचाइमा पुग्यो । यो मुल्य साताको पहिलो दिन,आइतबारको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार ताेलामा  ७०० रुपैयाँले बढी हो ।

चाँदीमा पनि रेकर्ड

यो साता नेपाली बजारमा चाँदीको मुल्यले पनि रेकर्ड कायम गेर्यो । आइतबार, प्रतिताेला एक हजार ९४५ रुपैयाँ रहेको चाँदीकाे मुल्य लगातार दुई दिन घटेर मंगलबार ताेलाकाे एक हजार ९२५ रूपैयाँमा झरेकाे थियाे । तर पुनः तीन दिन निरन्तर रूपमा चाँदीकाे मूल्य वृद्धि भएकाे थियाे । बुधबार चाँदी ताेलामा १० रूपैयाँले, बिहीबार ताेलामा १५ रूपैयाँले र शुक्रबार ताेलामा ३० रूपैयाँले महंगिएकाे हाे । शुक्रबार चाँदीकाे मूल्यले प्रतिताेला एक हजार ९८० रुपैयाँ कायम भई उच्च रेकर्ड बनायाे । यसरी, साताको पहिलो दिनकाे तुलनामा साताको पछिल्लो कारोबार भएको दिन चाँदी ताेलामा ३५ रूपैयाँले बढेकाे हाे ।

सुनकाे भाउ बढ्नुकाे कारण के हाे ?

अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावसँगै हालै सार्वजनिक भएको अमेरिकी अर्थतन्त्रको प्रभावले सुनचाँदी जस्ता बुहुमुल्य वस्तुको मुल्य बृद्धिमा टेवा पुगेको बिश्लेषकहरुको भनाई छ ।

शुक्रबार बिहान सार्वजनिक तथ्यांक अनुसार अमेरिकी अर्थतन्त्र मजवुत हुनुका साथै त्यहाँ रोजगारीको अवस्थामा समेत सुधार देखिएको छ ।

विश्व बजारमा शुक्रबार सुनकाे भाउ ६ डलर भन्दा बढीले बढेर २ हजार ६६२ डलर बराबरसम्म पुगेकाे थियाे ।




comments powered by Disqus