आजदेखि नै मेलम्चीको खानेपानी काठमाडौँ आउने

Oct 08, 2024 05:07 PM Merolagani



आजदेखि नै मेलम्चीको खानेपानी काठमाडौँ आउने भएकाे छ । खानेपानी मन्त्री प्रदीप यादव र मेलम्ची सङ्घर्ष समितिबीच वार्ता सफल भएपछि मंगलबारबाट नै मेलम्चीबाट पानी काठमाडौँकाे सुन्दरीजल ल्याउन लागिएको हाे ।

गए राती खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच वार्ता भएको थियाे । साेहि वार्तामा काठमाडौँमा पानी पठाउने विषयमा सहमति भएको थियो । उक्त सहमति पश्चात् आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याउने तयारी मेलम्ची खानेपानी विकास समिति गरेकाे थियाे ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रसाद लामिछानेका अनुसार काठमाडौँमा मेलम्चीबाट पानी पठाउने विषयमा खानेपानी मन्त्री र सङ्घर्ष समितिबीच सहमति भएको छ । आजै मेलम्चीको पानी सुन्दरीजल ल्याउने तयारी हुँदै भइरहेकाे पनि उनले जानकारी दिए ।

यसका साथै, वार्तापछि बाढीपीडित सङ्घर्ष समितिले आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने भएकाे छ । यसैगरी, काठमाडौँमा पानी पठाउन मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको छ । सुरुङभित्र पानी पठाएपछि पानी आजै काठमाडौँ आइपुगेर वितरण प्रणालीमा जोडिनेछ ।

खानेपानी मन्त्री यादवले दसैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । मन्त्री यादवसहितकाे टोलीवार्ताका लागि सोमबार मेलम्ची पुगेको थियो ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार समितिले काठमाडौँ पानी ल्याउन पहिलेदेखि तयारी गरेकाले पानी ल्याउन छिटो हुनेछ । २०७८ काे असार १ गते तथा साउन १६ र १७ गतेको बाढीपछि मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति गरेपछि काठमाडौँमा हिउँदयाम भरि पानी ल्याउने र बर्खामा सुरुङ बन्द गर्ने गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ ।




comments powered by Disqus