राष्ट्र बैंकले माैद्रिक नीतिकाे समीक्षामा जोखिम भार १२५ प्रतिशतबाट घटाउने र १५ करोडकाे सीमा हटाउने काम गर्ला?

Nov 09, 2024 11:12 AM Merolagani



यतिबेला शेयर बजार अब कता जाला भन्ने बिषय आम लगानीकर्ताको चासोको विषय बनेको छ । केही समय पहिला निकै बढेकाे बजार अहिले सुस्ताएको छ ।

दशैं र तिहारको बीचमा बजार २६ सयको विन्दु वरपर नै रह्याे । तिहारपछि भएको दुई कारोबारमा दिनमा बजारमा खासै घट्बढ भएन । चाडपर्वको प्रभाव सकिए पछि बजार बढ्ने अपेक्षा गरेका थिए । तर बजार पर्ख र हेरको अवस्थामा नै रह्याे ।

बजार बढ्नु पर्ने प्रसस्तै कारण हुँदा हुँदै बढ्न सकेको छैन । यद्यपि बजारले सकारात्मक गति समाउनको लागि अब धेरै समय नपर्खने लगानीकर्ता रमा खड्काले बताइन । बजारमा कम पूँजी भएका कम्पनीहरुको प्रभाव कम हुन थालेको छ । यसले बजारमा लगानीकर्ताहरु आधारभूत रुपमा बलिया कम्पनीहरु रोजाईमा पर्न थालेको प्रष्ट हुन्छ ।

बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर घटेर तल्लो बिन्दुमा झरेको छ । शेयर धितो प्रकृतिको कर्जाको माग तुलनात्मक रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले भदौ महिनामा सार्वजनिक गरेको विवरण अनुसार झण्डै १ खर्ब रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ । लगानीकर्ताले बजार बढ्ने विश्वास गरेकै कारण मार्जिन प्रकृतिको कर्जा लिनेहरुको संख्या बढेको खड्काको बुझाई छ ।

सामान्यतया नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थाले बजारलाई प्रभावित गराउने गरेको छ । राष्ट्र बैंकको मौद्रिक नीतिमा लचकता अपनाएसँगै आक्रामक गतिमा बढेको बजारले ठूलो करेक्सन लिएर फर्कने सुरमा छ । यद्यपि पछिल्ला केही कारोबार दिनदेखि बजार सुस्ताएको अवस्था छ । चाडपर्बको प्रभाव र शेयर एकुमुलेसनको समय भएकाले बजार सुस्ताएको हुनसक्ने शेयर बजारका विश्लेषक सुवास चन्द्र ढुङ्गानाले बताए ।

पछिल्ला कारोबारमा बजार साईडवयजमा छ । कारोबार रकम उल्लेख्य रुपमा भित्रन सकेको छैन । अबको बजारमा भित्रने कारोबार रकमले नै बजारको गति निर्धारण गर्ने उनको बुझाई छ । अहिलेकै अवस्थामा बजार रहेमा बजारको सूचक नघटेपनि उत्साहित भएर बढ्न सक्ने देखिदैन । विस्तारै बजार बढ्न थालेपछि स्मार्ट मनि प्रवेश बढ्ने र बजार बढ्ने ढुङ्गानाको धारणा छ ।

दोस्रो बजारमा सूचीकृत भएका कम्पनीहरुले वार्षिक साधारण सभा गर्ने सिजन छ । अहिलेकाे समय कम्पनीहरुले गत आर्थिक वर्षमा गरेको कम्पनीको नाफा सम्बन्धित शेयरधनीलाई प्रतिफलको रुपमा वितरण गर्ने समय हो । यो अवस्थालाई लगानीकर्ताले पाकेको फल भित्र्याउने समयको रुपमा लिने गरेका हुन्छन् ।

अर्कोतर्फ नेपाल राष्ट्र बैंकको पहिलो त्रैमासिककाे मौद्रिक नीतिकाे समीक्षाले बजारलाई उत्साहित बनाउने आशा लगानीकर्ताले लिएका छन्। राष्ट्र बैंकले समीक्षा मार्फत शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाउनु पर्ने र मार्जिन प्रकृतिको व्यक्तिगत कर्जामा १५ करोड रुपैयाँसम्मको सीमा हटाउनु पर्ने माग लगानीकर्ताले राख्दै आएका  छन् ।

आउँदै गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा थप लचिलो हुनसक्ने अनुमान लगानीकर्ताहरुको छ।

‘यसपटक मौद्रिक नीति ल्याउँदा गभर्नर लचिलो देखिनु भयो, पहिलो त्रैमासमा पनि केही खुकुला नीतिहरू आउन सक्ने अनुमान गरिएको छ,’ एक लगानीकर्ताले भने।

व्यक्तिगत लगानीकर्तालाई शेयर कर्जामा कायम गरिएको सीमा हटाउने पक्षमा गभर्नर महाप्रसाद अधिकारीलाई मनाउने प्रयास भइरहेको ती लगानीकर्ताले बताए । अधिकारी आफ्नो कार्यकालको अन्तिम वर्षमा रहेकाले उनी लचक हुन सक्ने अनुमान गरिएको छ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत धेरै लचिलाे नियम ल्याइसकेको छ । राष्ट्र बैंकले समीक्षा मार्फत शेयर बजारलाई सम्बोधन हुने नीतिगत परिवर्तन नगरेर यथास्थितीमा राखे पनि बजारले सकारात्मक गति समाउनेमा लगानीकर्ता विश्वस्त देखिन्छन्। बजारमा आजको भोलि नै ठूलो उतारचढाव हुँदैन । तर यो विन्दुमा प्रवेश गर्ने लगानीकताहरुले नोक्सानी व्यहोर्न नपर्ने लगानीकर्ताहरूले अनुमान गरेका छन्  ।

 




comments powered by Disqus

मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंक मौन, भएन कुनै नीतिगत परिवर्तन

Nov 29, 2024 10:34 AM

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंक मौन देखिएको छ। केन्द्रिय बैंकले शुक्रबार सार्वजानिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनै पनि नीतिगत परिवर्तन गरेको छैन।