चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत २ अर्ब ९३ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.१२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ अर्ब ७१ करोड ५८ लाख रुपैयाँ थियो।
गत असोज १२ गते गएको पहिरोका कारण बाँधस्थल क्षेत्रमा रहेको बाँध सञ्चालन नियन्त्रण भवन, सेटलिङ्ग बेसिन, बक्स कल्भर्ट, हाइड्रोमेकानिकल था इलेक्ट्रोमेकानिकल उपकरणहरु, ट्रान्समिसन लाइन तथा बाँधस्थल प्रवेश मार्ग लगायतका संरचनाहरुमा क्षति हुन भएकोले सो दिनदेखि उत्पादन बन्द भएका कारण कम्पनीको विद्युत बिक्री आम्दानी घट्न पुगेको हो।
विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घटेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ अर्ब रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३७.२६ प्रतिशत घटेर ६३ करोड १९ लाख रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा २९.८५ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ११४.४६ प्रतिशत बढेको छ भने वित्तीय खर्च २४.८८ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १३ रुपैयाँ २६ पैसा घटेर ११ रुपैयाँ ९४ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६० रुपैयाँ ४२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९.०५ गुणा रहेको छ।
२१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ९ अर्ब २९ करोड ५९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।