२०८० साउन १५ गते नै अवकाश पाउनु पर्ने सिलवालले नागरिकतामा केरमेट गर्दै पदमा टिकीरहेको आरोप लगाउँदै अख्तियारले मुद्दा दायर गरेको छ । अख्तियारले मुद्दा दायर नगरेको भए सिलवाल फागुन ९ गतेसम्म कार्यरत रहने थिए ।
प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गत जेठ ११ गते अवकाश पाएका थिए । त्यसयता अर्थमन्त्रालयले कार्यकारी निर्देशक नियुक्त गर्न सकेको छैन । मन्त्रालयले कार्यकारी निर्देशक नियुक्त नगरि केही समय पहिले विशिष्ठ श्रेणी सरहको तलव सुविधा दिने गरि दुईवटा उपकार्यकारी निर्देशकको दरबन्दी सृजना गरेको छ । तर, ती पदमा मन्त्रालयले नियुक्त गरेको छैन ।
झण्डै ८ महिनादेखि कार्यकारी निर्देशक खाली रहदा प्रशासनिक तहबाट हुनु पर्ने कतिपय कामहरु ‘पेण्डिङ’ भैरहेको बेला अध्यक्ष पनि निलम्बित भएपछि प्राधिकरणका नीतिगत कामहरु नै ठप्प हुने अवस्था सृजना भएको छ । ‘अर्थमन्त्रालयले अध्यक्ष र कार्यकारी निर्देशक नियुक्तिको लागि तत्काल कदम चालेन भने बीमा क्षेत्रको नीतिगत कामहरु ठप्प हुनेछन् । यसले प्राधिकरणको मात्र नभएर बीमा कम्पनीहरुकै गतिविधिलाई गम्भीर नकारात्मक असर पर्नेछ,’ प्राधिकरणका एक कर्मचारीले मेरो लगानीसँग भने ।