स्टेलेन्टिसले तीन लाखभन्दा बढी -याम ट्रक फिर्ता मगायाे, के थियो समस्या ?

Dec 10, 2024 02:02 PM Merolagani



स्टेलान्टिसले तीन लाख भन्दा बढी -याम (Ram) हेभी-ड्युटी पिकअप ट्रकहरू फिर्ता मगाएकाे छ। केही जीर्ण भागहरूका कारण ब्रेकिङ र ट्र्याकिङ प्रणालीहरू असफल हुन सक्ने भन्दै कम्पनीले यस्ताे कदम उठाएकाे हाे ।

नेदरल्याण्डस्थित अटोमेकरले ट्रकहरूमा हाइड्रोलिक कन्ट्रोल युनिटहरू खराब भएको जानकारी दिएका छन्। साेहि कारण एन्टि-लक ब्रेक, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र ट्र्याक्सन कन्ट्रोल सिस्टमले राम्ररी काम नगर्न सक्छ। स्टेलेन्टिसले नियमित ब्रेकिङ सिस्टमलाई दोषपूर्ण भागले असर नगर्ने खुलाएकाे छ। यो समस्याका कारण अहिलेसम्म कसैलाई चोटपटक लागेको बारे जानकारी नआएको पनि कम्पनीले जनाएको छ।

फिर्ता बोलाइएका ट्रकहरू सबै मोडल वर्ष २०१७/१८ का हुन्। यसमा २५००, ३५००, ४५०० र ५५०० -याम समावेश छन्। क्यानडा, मेक्सिको र अन्य स्थानबाट आएका सहित कुल ३ लाख १७ हजार ६३० ट्रकहरू फिर्ता बोलाइएको हाे।

स्टेलान्टिसले सेवा प्राप्त गर्दा प्रभावित हुन सक्ने ग्राहकहरूलाई नि:शुल्क सल्लाह दिने बताएकाे छ।

गत महिना, स्टेलेन्टिसले अमेरिकामा लगभग २ लाख ७ हजार जीप र डज एसयूभीहरू फिर्ता मगाउने घोषणा गरेकाे थियाे। एन्टी-लक ब्रेक र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्राेल सेफ्टी फीचर्सहरू निष्क्रिय पार्न सक्ने कम्प्युटरकाे एक समस्या समाधान गर्नका लागि यस्ताे गरिएकाे थियाे। सेप्टेम्बरमा, स्टेलेन्टिसले इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्राेल सिस्टमलाई निष्क्रिय पार्ने सफ्टवेयर समस्या समाधान गर्न विश्वव्यापी रूपमा १.५ मिलियन -याम पिकअप ट्रकहरू फिर्ता मगाएकाे थियाे।

गत साता, स्टेलेन्टिसले कार निर्माताको शीर्ष पदकाे जिम्मेवारी सम्हालेकाे करिब चार वर्ष पछि सीईओ कार्लोस टाभरेसले  राजीनामा गर्न लागेकाे घोषणा गरेकाे थियाे ।

यस बाहेक, स्टेलेन्टिसकाे बिक्री घट्दै गएको छ। त्यसैले, कटाैती र डिलर लटकाे सूचीमा वृद्धि भएको छ। पछिल्लो त्रैमासमा, स्टेलेन्टिसले गत वर्षको सोही अवधिको तुलनामा शुद्ध राजस्वमा २७ प्रतिशत कमी आएको रिपोर्ट गरेको थियो।

विश्वको चौथो ठूलो अटोमेकर,स्टेलेन्टिस २०२१ मा पीएसए प्यूजाे र फियाट क्रिसलर अटाेमाेबाइल्सको मर्जरबाट गठन भएको थियो।

एजेन्सी ।




comments powered by Disqus