नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो

Dec 16, 2024 03:08 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक ५१.३७ अंक घटेर २६३०.९१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४० अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत बिहीबार ६ अर्ब १४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०४ स्टकको ६७ हजार ६४८ पटकको कारोबारमा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार रुपैयाँबराबरको १ करोड २७ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३०० रुपैयाँ बढेर ३ हजार ३०० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन जोशी हाइड्रोपावरको शेयरमूल्य ८.७० प्रतिशत बढेको छ भने कुमारी सबल योजनाको इकाईमूल्य ५ प्रतिशत बढेको छ। कारोबारमा आएको जानकी फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक ९.५८ प्रतिशत घटेको छ। यस दिन नेपाल फाइनान्सको शेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ४५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन जोशी हाइड्रोपावरको करिब १९ करोडको शेयर किनबेच भएको छ भने जानकी फाइनान्सको करिब साढे १८ करोडको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहका परिसूचक घटेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.४१ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिनव्यापार उपसमूहको परिसूचक साढे ३ प्रतिशत घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन बैंकिङ्ग, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




comments powered by Disqus