पाँच महिनामा स्वचालित प्रणालीबाट २ अर्ब १३ करोड १ लाख ७ हजार रुपैयाँबराबरको लगानी प्रतिबबद्धता आएको छ जसमध्ये मंसिरमा मात्रै स्वचालित प्रणालीबाट ५० करोड २७ लाख ५० हजार रुपैयाँको प्रतिबद्धता आएको छ ।
उद्योग विभागको प्रमाणीकरण अर्थात् नियमित प्रणालीबाट ५ महिनामा १८ अर्ब ६४ करोड ७२ लाख ५६ हजार ४ सय रुपैयाँबराबरको प्रतिबद्धता प्राप्त भएको छ । यस प्रणालीबाट मंसिरमा मात्रै १ अर्ब ६० करोड ९५ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ ।
पाँच महिनामा ३ सय १९ वटा उद्योगका लागि २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार ४ सय रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । ३ सय १९ उद्योगमध्ये १ सय ३८ वटा उद्योगले अटोमेटिक प्रणालीबाट लगानीको प्रस्ताव गरेका छन् भने १ सय ८१ वटा विभिन्न उद्योगले भने नियमित प्रक्रियाबाट लगानी स्वीकृति लिएका छन् । उद्योग विभागले मंसिरमा मात्रै अटोमेटिक प्रणालीबाट २९ वटा र नियमित प्रणालीबाट २७ वटाले स्वीकृति लिएको जनाएको छ ।
उद्योग विभागले वैदेशिक लगानीका लागि स्वीकृति दिएदेखि हालसम्ममा अटोमेटिक रुटबाट २ सय ७७ पुगेको छ भने नियमित प्रक्रियाबाट ६ हजार ४ सय ४१ पुगेको छ ।
पाँच महिनामा साना आकारका ३ सय १२ वटा, मझौला खालका ४ वटा र ३ वटा ठूला उद्योगले वैदेशिक लगानीका लागि स्वीकृति लिएका छन् । मंसीर महिनामा मात्रै स्वीकृति पाएका ५५ उद्योगमध्ये ५३ साना साना आधारका, २ वटा मझौला र १ वटा ठूलो उद्योग रहेका छन् ।
विभागका अनुसार सबैभन्दा बढी पर्यटन उद्योगमा विदेशी लगानीकर्ताले लगानी प्रतिबद्धता ल्याएका छन् । पाँच महिनामा १ सय ४५ वटा पर्यटन उद्योगका लागि प्रस्ताव परेका छन् । यो कुल संख्याको ४५ प्रतिशत हुन आउँछ । त्यसैगरी, १ सय ६ वटा उद्योग सूचना तथा प्रविधि क्षेत्रका लागि आएका छन् जुन कुल संख्यामा ३३ प्रतिशत हुन्छ । ४० वटा उद्योग सेवा क्षेत्रमा, २२ वटा उद्योग उत्पादन क्षेत्र र पाँचवटा उद्योगले कृषि क्षेत्रको लागि लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांकमा छ ।
लगानी प्रतिबद्धता रकमको आधारमा पाँच महिनामा पर्यटन क्षेत्रमै सबैभन्दा बढी अर्थात् ६२ प्रतिशत लगानी प्रतिबद्धता आएको छ । सो क्षेत्रका लागि १२ अर्ब ७६ करोड ६५ लाख ५९ हजार रुपैयाँबराबरको प्रतिबद्धता आएको हो । यसैगरी, दोस्रो स्थानमा परेको सेवा क्षेत्रमा ४ अर्ब ८३ करोड १० लाख १० हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । सूचना प्रविधिमा १ सय ६ वटा उद्योगले प्रस्ताव गरे पनि यसमा ६७ करोड ८७ लाख १३ हजार रुपैयाँबराबरको मात्र वैदेशिक लगानी प्रतिबद्धता भएको छ ।
उद्योग विभागको तथ्यांकअनुसार सुरुदेखि हालसम्ममा ५ खर्ब ४० अर्ब ५३ करोड ९८ लाख ६० हजार ७ सय ५ रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । तर, प्रतिबद्धता आए पनि लगानी भने भित्रिन नसकेको तथ्यांक रहेको छ । विभागका अनुसार चालु आवमा ऊर्जामूलक र खनिजन्य उद्योग स्थापनाको लागि कुनै वैदेशिक लगानी प्रतिबद्धता आएको छैन ।
चार महिनामा १८ अर्ब ६६ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आउँदा ५ अर्ब ७६ करोड रुपैयाँ मात्रै भित्रिएको छ । मंसिर मसान्तसम्म स्वचालित प्रणालीबाट १० अर्ब २४ करोड ६३ लाख ३७ हजार रुपैयाँबराबरको र स्वीकृति प्रणालीबाट ५ खर्ब ३० अर्ब २९ करोड ३५ लाख २३ हजार ७ सय ५ रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धतानुसार लगानी भित्रिएको अवस्थामा ३ लाख ३७ हजार ५ सय १४ रोजगारी सिर्जना हुने प्रस्ताव गरिएको विभागको भनाइ छ ।
विभागको सार्वजनिक तथ्यांकअनुसार नेपालमा वैदेशिक लगानी गर्ने प्रतिबद्धताका साथ बिजनेस भिसा लिने विदेशी बढेका छन् । पाँच महिनामा १ हजार ७ सय ८२ लगानीकर्ताले बिजनेस भिसा पाएका छन् । त्यससँगै १ सय ७८ जना प्रतिनिधि र ३ सय ९५ जनाले डिपेन्डेन्ट भिसा लिएको तथ्यांकमा छ । गत वर्ष सोही अवधिमा १२ जनाले बिजनेस भिसा लिएका थिए भने १ सय ४१ जना प्रतिनिधि र ३ सय ६० जना डिपेन्डेन्टले पनि भिसा लिएका थिए ।
पाँच महिनामा नेपालबाट ३८ करोड २२ लाख ५४ हजार रुपैयाँ, ९ लाख ५१ हजार २ सय ४० अमेरिकी डलर, २० करोड ५ लाख १ हजार १ सय २८ भारतीय रुपैयाँ र १० हजार २ सय युरो रोयल्टीबापत बिदेसिएको छ ।
गत वर्षको सोही अवधिमा ७४ करोड ८६ लाख ६७ हजार ५ सय ८९ रुपैयाँ, ५ लाख ९१ हजार ४ सय ६८ अमेरिकी डलर, १९ करोड २० लाख २५ हजार भारतीय रुपैयाँ रोयल्टीबापत विदेश गएको थियो।
यसैगरी, लाभांशबापत साउनदेखि मंसिरसम्म ८५ करोड १६ लाख २ हजार ३ सय ३८ रुपैयाँ बाहिरिएको छ । सेवा शुल्कबापत असोजसम्म ३८ करोड ८ लाख ६८ हजार १ सय ६७ रुपैयाँ, २८ हजार ६८ लाख ६ सय ४४ अमेरिकी डलर र ५ करोड ८३ लाख ४९ हजार ५ सय २३ भारतीय रुपैयाँ फिर्ता गएको छ ।