कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषगरि त्यहाँ उत्पादन नहुने सामान आयात गरि औद्योगिक वातावरण प्रवर्द्धन र सर्वसाधारणलाई सुलभ रुपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्था हो ।
आयातलाई नै केन्द्रित गरि स्थापना भएको संस्थासंगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासंघको विश्वास छ । यसबाट नेपाल र दक्षिण कोरियाबीचको व्यापार घाटा कम हुने विश्वास छ । हाल, दुई देश बीचको व्यापार घाटा करिब ७ अर्ब रुपैयाँ छ ।
नेपालबाट हाल फेल्ट, गलैचा, धागो लगायतका परम्परागत सामान बढी गइरहेको सन्दर्भमा कोइमासँगको सहकार्यबाट औद्योगिक कच्चा पदार्थ एवंम् अन्य समानका लागि पनि बजार खोज्न सकिने महासंघको विश्वास छ ।
नेपाल कोरिया दौत्य सम्बन्ध स्थापनाको ५० बर्ष र समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा महासंघ अध्यक्ष ढकालले नेपाल र कोरियाबीच आर्थिक सम्बन्ध सुदृढ गर्न सकिने अपार सम्भावना रहेको बताए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सोल स्थित नेपाली दुतावासद्धारा आयोजित ‘नेपालमा व्यापार र लगानीका अवसरहरू’ शीर्षकको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालको ऊर्जाशील एवं युवा जनशक्ति, प्राकृतिक स्रोत, ठुला बजारसँगको समिप्यता कोरियाली लगानीकर्ताका लागि महत्वपूर्ण रहने बताए।
ढकालले नेपालको लगानी वातावरणमा भएका प्रगतिको जानकारी गराउँदै महासंघको सक्रिय संलग्नतामा हालै गरिएका सुधारहरूको चर्चा पनि गरे । उनले सरकारको लगानीसम्बन्धी आठ कानुन संशोधन गरेर लगानीमैत्री वातावरण सिर्जना गर्न चालिएका कदमहरूको जानकारी गराए । यसका साथै, दुईपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन गर्नु विदेशी लगानीलाई सहज बनाउने महत्वपूर्ण कदम भएको बताए।
ढकालले नेपालको अनुकूल आर्थिक सूचकाङ्कहरू पनि प्रकाश पारे । विदेशी मुद्रा सञ्चिति करिब १७ अर्ब अमेरिकी डलर पुगेको र नेपालको पहिलोपटक क्रेडिट रेटिंग भएको जानकारी पनि लगानीकर्तालाई दिए। नेपालको रेटिंग दक्षिण एसियामा सन्तोषजनक रहेको पनि उनको धारणा थियो।
ढकालले पूर्वाधार विकासको महत्त्व पनि औंल्याउँदै सडक, रेलमार्ग, विमानस्थल, शहरी योजना, होटल रिसोर्ट, केबलकार र स्मार्ट सिटीहरूमा कोरियाली विशेषज्ञता र लगानीका लागि आग्रह गरे ।
ढकालले कोरियाली व्यवसायिक समुदायलाई नेपालमा व्यापार र लगानीका अवसरहरूको खोजी गर्न निमन्त्रणा दिँदै महासंघको विदेशी लगानी सहायता डेस्कमार्फत पूर्ण सहयोगको आश्वासन दिए ।