सङ्घीय सरकारको रु पाँच करोड ९८ लाख सात सय ६१ को लागतमा पुल बनेको हो । बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने चार सय ७६ मिटर लामो उक्त ‘कोलबुङ–रमिते गौडा झोलुङ्गे पुल’ टिमाई नदीमा बनेको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागको सम्पेन्सन ब्रिज डिभिजनका साइट इन्जिनियर जयप्रसाद गुप्ताका अनुसार विसं २०८१ जेठ २४ गते उक्त पुलको निर्माण सम्झौता भएको थियो । सम्झौतामा निर्माण अवधि २०८३ जेठ २३ गतेसम्म तोकिएको थियो । सम्झौता भएको एक महिनापछि २०८१ असार २४ मा सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उक्त झोलुङ्गे पुलको शिलान्यास गरेका थिए ।
निर्माणको ठेक्का लिएको कम्पनीले शिलान्यास भएको पाँच महिना र सम्झौता भएको छ महिनामै झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न गरेको हो । “निर्माण व्यवसायी पक्षले निर्माण कार्य सम्पन्न गरिसकेको छ”, उनले भने, “सरकारी तहबाट अन्तिम परीक्षण हुन बाँकी छ । चाँडै अनुगमन गरेर पुलको हस्तान्तरण प्रक्रिया अघि बढ्नेछ ।”
दुई वर्षमा बनिसक्ने भनिएको झोलुङ्गे पुल छ महिनामै निर्माण भएको देखेर आफू चकित भएको बुद्धशान्ति –६ का शिवराज पौडेल बताउँछन् । उनी भन्छन् “हिजोअस्तिजस्तो लाग्छ पुलको शिलान्यास भएको, ठेकेदारले यति छिटो काम सम्पन्न गर्लान् भनेर कल्पना समेत गरिएको थिएन ।” मङ्सिरको अन्तिम सातादेखि पुलबाट सर्वसाधारणले आवतजावत गर्न थालिसकेका छन् । प्रदेशकै लामो पुल भएकाले घुम्न, हेर्न र फोटो भिडियो खिच्न युवायुवती आउन थालेकाले आन्तरिक पर्यटनमा समेत टेवा पुगेको छ ।
पुल बन्नुअघि बुद्धशान्तिको वडा नं ६ बाट ७ मा जान स्थानीयवासीले सकस भोग्दै आएका थिए । पुल बनेपछि बुद्धशान्तिका वडावासीलाई आउजाउका लागि मात्र नभएर इलामको रोङ गाउँपालिका वडा नं ५ र ६ का बासिन्दालाई आफ्नाे कृषिउपज झापाको बजारमा पु-याउन सुविधा पुगेको वडाध्यक्ष पौडेलले बताए । भौतिक पूर्वाधारका अधिकांश निर्माण कार्यमा ढिलासुस्तीको गुनासो आउने पाइन्छ । तर, सम्झौतामा दिइएको अवधिको तुलनामा एक चौथाइ अवधिमै पुलको निर्माण सम्पन्न भएकोमा स्थानीयवासी खुसी रहेको पौडेल बताउँछन् । ‘कोलबुङ–रमिते गौडा झोलुङ्गे पुल’ कोशी प्रदेशको सबैभन्दा लामो र नेपालको तेस्रो लामो ‘डि–टाइप’को झोलुङ्गे पुल रहेको इन्जिनियर गुप्ताले बताए ।