याे फण्डमा लगानी गर्दा विदेशमा पनि सहजै रकम लैजान सकिन्छ । याे फण्ड यही नयाँ वर्ष अर्थात सन २०२५ भित्र ल्याउने तयारी भइरहेकाे एनआरएन नेपाल डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई बताउँछन् । एनआरएन नेपाल डेभलपमेण्ट फण्ड ल्याउनका लागि भइरहेकाे तयारी,यसका फाइदालगायतका बिषयमा केन्द्रीत भएर मेराेलगानीका उप सम्पादक सुवास निराैलाले उनै भट्टराईसँग गरेकाे कुराकानीकाे सारसक्षेपः
पछिल्लो समय नेपाल धितोपत्र बोर्डले एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई सहयोग पुग्ने गरी निर्देशिका जारी गरिसकेको छ। त्यसपछि फण्डले के कस्तो तयारी गरिरहेको छ ?
निक्कै लामो समयको मेहनतपछि हामीले नयाँ बाटो तय गर्यौ। हुन त गैर आवासीय नेपालीको लगानी संरक्षित र सुरक्षित गर्ने गरी निर्देशिका आएको छ। गैर आवासीय नेपाली र नेपाल सरकार दुवैको योजना के थियो भने मुलुक बाहिरबाट नेपालमा लगानी भित्र्याउ भन्ने थियो। त्यो पनि औपचारिक च्यानलबाट आओस्। पैसा फिर्ता लैजान पनि सहजीकरण होस्। रकममा पनि एक किसिमको लचकता होस् भन्ने थियो। कुनै पनि विदेशीले नेपालमा लगानी गर्नु पर्यो भने कम्तीमा पनि दुई करोड गर्नु पर्ने हुन्छ। तर यस कम्पनीको हकमा भने एक हजार डलर बनाएका छौं। यो ठुलो उपलब्धि हो।
हामीले करिब करिब ८६ वटा देशमा रहेका गैर आवासीय नेपालीलाई लक्षित गरेर प्राथमिक निष्कासन गर्न सक्छौ। हुन त गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न कुनै कठिनाइ छैन। तर नेपालीमूलका गैर आवासीय नेपालीलाई भने समस्या छ। फिटाले के भन्छ भने कुनै पनि विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्दा कम्तीमा दुई करोड रुपैयाँ गर्नुपर्छ भनेको छ। तर हाम्रो फण्ड मार्फत लगानी गर्दा लगानी गर्न र लैजान दुवै सहज हुन्छ। किनकि हाम्रो फण्ड नेप्सेमा लिस्ट हुन्छ।
नेप्सेमा लिस्ट हुने अन्य शेयर र एनआरएन फण्डमा फरक हुन्छ कि हुँदैन ?
यसमा अलिकति फरक हुन्छ। जस्तो अहिले नेप्सेमा लिष्टेड भएका कम्पनीको शेयर बिक्री गरेर विदेश लैजान पाउँदैन। फेरि लाँदा पनि लाँदैनन्। तर हाम्रोमा दुई वटा स्टेप थपिने छ। हाम्रो फण्डमा लगानी गर्दा जुन फारम भर्नु हुन्छ त्यसमा थप केही कुरा बढी लेख्नु पर्ने हुन्छ। किनभने उहाँहरुले त्यो शेयरबाट भएको आम्दानी र क्यापिटल दुवै लैजान पाउने भएकोले थप कुरा लेख्नु पर्ने भएको हो। हामीले प्राथमिक निष्कासन गर्दै उद्योग मन्त्रालयलाई चाहिने केही विषय त्यसैमा थप गर्छौ। केही नेपाल राष्ट्र बैंकलाई लेखाङ्कन गराउने विषय थप गर्ने छौ। अर्को तर्फ प्राथमिक निष्कासन प्रक्रिया केही सहज होस् भनेर लगिरहेका छौ।
आउने कति समयसम्ममा निष्कासन खुल्ला होला ?
अरू प्राथमिक निष्कासन र यो निष्कासन अलि फरक भएकोले थोरै समय लाग्ने अनुमान गर्न सकिन्छ। किनकि यसमा एफडिआइ अनुमति र राष्ट्र बैंकको समेत अनुमति चाहिने भएकोले समय लाग्ने देखिएको हो। हाम्रो लागि सबैभन्दा अप्ठ्यारो कुरा के छ भने यस अघि जति पनि विदेशी लगानीकर्ताले गरेको लगानीको खरिद बिक्री शेयरको सम्झौता अनुसार गर्ने गरिन्थ्यो। र अहिले पनि गरिँदै आएको छ। तर यसमा दैनिक रुपमा हजारौ शेयर खरिद र बिक्री हुन्छ। ती सबैको सम्झौता हरेक दिन गर्न सम्भव हुँदैन। त्यसैले गर्दा हामीले नेप्सेमा कारोबार भएको र सिडिएससीले राफसाफ गरेको कारोबारलाई मानिदिनु पर्छ भनेर नेपाल राष्ट्र बैंक र उद्योग मन्त्रालयलाई भनिरहेका छौ। त्यसमा अलिकति काम हुन बाँकी छ।
यस विषयमा खुसीको कुरा के छ भने धितोपत्र बजारमा भएको कारोबारलाई उद्योग विभागले मान्यता दिने भन्ने निर्णय भइसकेको छ। तर त्यतिले मात्रै पुग्दैन कि भन्ने लागिरहेको छ। हामीले फिटामा पनि केही संशोधन चाहिन्छ कि भनेर वर्क आउट गरिरहेका छौ। किनकि अझै सहजीकरण होस् भन्ने हाम्रो चाहना हो। विभागीय निर्णयले एक किसिमको सहजीकरण गरेको हुन्छ। कतिपय कुरामा कानुनी अड्चन हुन्छ कि भनेर हेरिरहेका छौ। यस विषयमा पनि हामीले उद्योग विभागलाई दिई सकेका छौ। उता उद्योग मन्त्रालयमा पनि दिइसकेको अवस्था छ। त्यो समस्या समाधान हुन्छ भन्नेमा छौ। त्यसले गर्दा हामीले यही सन २०२५ मा शेयर निष्कासन गरिसकेर २०२६ मा सूचीकृत गराउने लक्ष्य राखेका छौ।
मुलुकको लागि यो फण्ड किन आवश्यक छ ?
नेपाल विकासोन्मुख देशबाट प्रगति भएर विकसित देशमा फड्को मार्दै छ। अर्को तर्फ विदेशीले दिने ऋणको ब्याजदर पनि बढ्दै छ। अनुदान पनि कम हुँदै जान्छ। त्यसकारणले गर्दा अब मुलुकले आफ्नो डायस्पोरा फराकिलो पार्दै लैजानुको विकल्प छैन। त्यसकारण अब मुलुकले आफ्नै नागरिकबाट लगानी खोज्नु राम्रो विकल्प हुन्छ। त्यसमा पनि मुलुक बाहिर रहेका नेपालीहरूलाई एक्टिभ गर्नु राम्रो हुन्छ। जसको लागि एनआरएन नेपाल डेभलपमेण्ट फण्ड सहयोगी हुन्छ। यसले बाटो खोलेपछि नेपाल सरकारको लगानी भएका धेरै यस्ता फण्ड आउने छन्। जसले लगानीको क्षेत्रमा नयाँ आयाम सुरु गर्छ। त्यसकारण विकास साझेदारहरू यसले अलि चाडै काम गरोस् भन्नेमा छन्। जसले गर्दा हामी सहयोग गर्छौ भन्नेहरू पनि धेरै आएका छन्। थुप्रै दातृ संस्थाहरूले तपाईहरूलाई के सहयोग गर्नु पर्यो भनिरहेका छन्।
अब नेपालले पाउने सहयोग र सदभाव भनेको नै नेपाली डायस्पोरा नै हो। हुन त अहिले नेपालको रेटिङ पनि भएको छ। तर नेपालले सहयोग र लगानी प्राप्त गर्न आफ्नो रेटिङमा सुधार गर्दै लैजानु पर्छ। तर अरूले लगानी गर्दा प्रतिफल हेर्छन् भने गैर आवासीय नेपालीलाई नेपालको माया छ। उनीहरूले प्रतिफल भन्दा पनि आफ्नो मुलुकलाई हेरेर लगानी गर्छन्। त्यसकारण यो फण्ड नेपालको लागि अति आवश्यक छ।
बिस्तृत कुराकानीका लागि भिडियाे खाेल्नुहाेस्