'गरिमा क्यापिटलको पहिलो म्यूच्युअल फण्ड भएकै कारणले गर्दा नाफा आर्जन हुने आधारहरु धेरै छन'

Dec 21, 2024 11:04 AM Merolagani



शेयर बजारका प्रमुख लगानीकर्ताको रुपमा म्यूच्युअल फण्डहरुको पनि उपस्थिती रहेको छ । बजारमा नै लगानी गर्ने उद्देश्य लिएर आएका फण्डहरुको कारोबार राणनीति अन्य व्यक्तिगत लगानीकर्ताले पनि बिशेष चासो दिएर हेर्ने गरेको पाइन्छ ।

गरिमा क्यापिटलको व्यवपस्थापनमा नै आगामी आईतबारदेखि नयाँ योजना गरिमा समृद्धि योजनाको इकाई जारी गर्दैछ । अहिलेको बजारमा म्यूच्युअल फण्डहरुको आवश्यकता र त्यसले लगानीकर्तालाई वितरण गर्ने प्रतिफलको विषयमा गरिमा क्यापिटलका चिफ अपरेटिङ अफिसर अशोक सुवेदीसँग सुधा देवकाेटाले गरेको कुराकानीः

गरिमा क्यापिटलको व्यवपस्थापनमा नयाँ गरिमा समृद्धि योजना आउँदै छ । यो कस्तो योजना हो ?

गरिमा विकास बैंकको प्रवर्द्धन र गरिमा क्यापिटलको व्यवस्थापनमा गरिमा समृद्धि योजना आउँदै छ । गरिमा म्यूच्युलफण्ड अन्तरगत पहिलो बन्दमुखी योजना हो । यसको आकार एक अर्बकाे छ भने यो १० वर्षे योजना हो । यसमा सबै संस्थागत र व्यक्तिगत लगानीकर्ताले सहज रुपमा लगानी गर्न सक्ने छन् । प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम एक हजार रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म लगानी गर्न सकिन्छ । एउटै फण्डमा सबै प्रकृतिका लगानीकर्ताले लगानी गर्न सक्ने छन । सर्वसाधारणको लागि पुस ७ गतेदेखि ११ गते सम्म जारी हुँदैछ । जारी गरिएको सबै इकाई प्राथमिक बजारबाट बिक्री हुन्छ । त्यसपछि दोस्रो बजारमा पनि सूचीकृत हुने छ । दाेस्रो बजारमा सूचीकृत भएपनि आफूलाई चाहेको समयमा खरिद बिक्री गर्न सकिने हुन्छ ।

नेपाली बजारमा म्यूच्युअल फण्ड नयाँ होइन । तर लगानीकर्ताले गरिमा समृद्धि नै किन रोज्ने ?

पहिलो कुरा के छ भने म्यूच्युअल फण्ड कस्ता लगानीकर्तालाई उपयुक्त हो भन्ने बारेमा जानकार हुनुपर्छ । शेयर बजारको बारेमा राम्रोसँग जानकार नभएको वा बजारको आरोह अवरोहलाई अध्ययन अनुसन्धान गरेर लगानीको रणनीति गराउने समय अभाव भएका लगानीकर्ताहरुको लागि म्यूच्युअल फण्ड उचित हुने देखिन्छ ।

त्यसैगरी, बजारमा लगानी गर्दा थप आर्जन गर्न सकिन्छ भन्ने कुरा मनमा लागेको र बजारबाट कमाउने मौकाबाट छुट्न नपरे हुने थियो भन्ने लागेका लगानीकर्ताले म्यूच्युअल फण्डमा लगानी अत्यान्त राम्रो हुन्छ । म्यूच्युअल फण्ड सबैका लागि भन्दा पनि बजारमा पर्याप्त समय दिन नसक्ने लगानीकर्ताहरुको लागि हो ।

संस्थागत लगानीकर्ताहरुसँग भएको पैसा परिचालन गर्नको लागि म्यूच्युअल फण्ड राम्रो हुन्छ । सबैलाई नाफा आर्जन गर्ने सोच भएको हुन्छ । संस्थागत लगानीकर्ताले दीर्घकालिन लगानी गर्न सक्नुहुन्छ । उहाँहरुको लागि म्यूच्युअल फण्डमा गरिने लगानी अत्यान्तै फलदायी र नाफामुखी हुनेछ।

वर्तमान अवस्थालाई नियालेर हेर्दा बजारमा प्रर्याप्त तरलता भएको अवस्था छ । यस्तो बेला बैंकमा ३ देखि ४ प्रतिशतको अन्तरालमा निक्षेप राख्नु भन्दा म्यूच्युअल फण्डमा गरिने लगानीले बढी प्रतिफल दिलाउने छ । यहाँ संस्थागत र व्यक्तिगत दुवै प्रकारका लगानीकर्ताहरुको लागि लाभदायक छ । संस्थागत लगानीकर्ताले सस्तो ब्याजमा बैंकमा राख्नु भन्दा र व्यक्तिगत बजारमा पर्याप्त समय दिन नसक्नेहरुको लागि म्यूच्युअल लगानीको राम्रो क्षेत्र बन्न सक्छ ।

शेयर बजार पनि उत्साहित छैन । फेरि म्यूच्युअल फण्डहरुको ईकाई बिक्री नहुने र बैंकले नै सकार्नु पर्ने त होइन नि ?

अहिलेको अवस्था त्यस्तो छैन । बजारमा पर्याप्त मात्रामा तरलता रहेको छ । म्यूच्युअल फण्डले पनि दोस्रो बजारमा नै लगानी गर्ने हो । बजार बिस्तारै बढ्ने नै हो । त्यसैले यो अवस्थामा निष्काशन भएको फण्डको इकाई बिक्री हुन्छ भन्नेमा हामी ढुक्क छौं । फेरि गरिमा क्यापिटलको पहिलो म्यूच्युअल फण्ड भएकै कारणले गर्दा नाफा आर्जन हुने आधारहरु धेरै छन । जुन किसिमसँग बजारबाट प्रतिकृया आएको सबै इकाई बिक्री हुने देखिन्छ । त्यसैले इकाई बिक्री हुँदैन भन्ने हामीलाई लागेको छैन ।

म्यूच्युअल फण्डको महत्व तपाईले बताउँदै गर्दा लगानीकर्ताहरु किन आकर्षित हुन सकिरहेका छैनन होला ?

मैले अघि नै भने नि, नेपालमा म्यूच्युअल फण्ड सम्बन्धी सचेतना कम छ । कुनै व्यक्तिले शेयर बजारमा लगानी गर्दा प्रतिफल आउने तर त्यही बजारमा म्यूच्युअल फण्डले लगानी गर्दा प्रतिफल नआउने भन्ने हुँदैन । बरु एउटा ब्यक्तिले बजारको विषयमा प्रर्याप्त रुपमा अध्ययन अनुसन्धान गर्नबाट चुकेको हुन सक्छ । तर म्यूच्युअल फण्डहरुले बजारमा विज्ञ समूहहरुको अध्ययन अनुसन्धानबाट लगानीका रणनीतिहरु अपनाउने भएका कारण अझै धेरै प्रतिफल प्राप्त हुने र लगानी जोखिम पनि कम हुने सम्भावना रहेको हुन्छ ।

बजारको उतार चढाव र बुल एण्ड वियर भएको समयमा म्यूच्युअल फण्डको एनएभीमा समेत प्रभाव पारेको हुन्छ । धैर्यवान भएर दीर्घकालिन योजना सहित लगानी गरिन्छ भने राम्रो आकर्षक प्रतिफल प्राप्त गर्न सकिन्छ ।

प्राथमिक बजारमा भन्दा दोस्रो बजारमा नै न्यून मूल्यमा म्यूच्युअल फण्डको ईकाई खरिद गर्न सकिन्छ भने मँहगो मूल्यका म्यूच्युअल फण्डको इकाइ रुचाएका हुँदैनन् । विज्ञ समूहबाट लगानी रणनीति बने पनि एनएभीलाई स्थिर किन राख्न सकिदैन् ?

म्यूच्युअल फण्डको एनएभी बजारको उतार चढावसँग नै चलेको हुन्छ । दोस्रो बजारमा सूचीकृत भएपनि फण्डको ईकाई पनि अन्य कम्पनीको शेयर जस्तै माग र आपूर्ति अनुसार मूल्य निर्धारण हुन्छ । म्यूच्युअल फण्डहरुले बजारमा नै लगानी गर्ने हो ।

बजार बढेको छ भने फण्डहरुको आम्दानीमा पनि वृद्धि हुन्छ । बन्दमुखी म्यूच्युअल फण्डको हकमा दोस्रो बजारबाट निर्धारित मूल्य र फण्डको एनएभी फरक हो । म्यूच्युअल फण्डलाई विश्वास गरेर लगानी गरिएको छ भने बजारको सूचक जुनसुकै अवस्थामा भएपछि पेनिक भएर बिक्री गर्न आवश्यक छैन ।

तपाईहरुले लगानी व्यवस्थापनको काम पनि गर्दै हुनुहुन्छ । अहिलेको बजारलाई कसरी हेर्नु भएको छ ?

वर्तमान अवस्थामा राजनीति अस्थितालाई लिएर बजारको मनोभावना बिथोलिएको अवस्था छ । तर हामी संस्थागत लगानीकर्ता र योजना व्यवस्थापनहरुले बजारलाई लामो अवधिलाई मध्येनजर गरेर हेर्न थालेका छौं । बजारलाई विभिन्न चरणमा नियालेर फरक फरक अवस्थाहरु देखिन सक्नेछन । बजारलाई दैनिक तथा मध्यम दृष्टिकोणले हेर्दा बजार सुस्ताएको अवस्था हो ।

 

 




comments powered by Disqus