रवि लामिछानेको फोटो प्रकरणमा भुषालमाथि दोहोरो कारवाही गर्ने प्रहरीको तयारी, यस्तो छ कानुनी व्यवस्था

Dec 20, 2024 08:35 PM mero lagani



हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको तस्विर सार्वजनिक गरेको प्रकरणमा मुछिएका डा. निकोलस भुसालमाथि प्रहरीले मुद्दा दायर गर्ने तयारी गरेको छ । 

प्रहरीले विद्युतीय कारोबार ऐन र सूचनाको हक सम्बन्धी ऐन उल्लंघन गरिएकाले सोही अनुसार कारबाही हुनेछ । प्रहरीले भुसालले अनधिकृतरूपमा सामग्री सम्प्रेषण तथा प्रकाशन गरेको कास्की प्रहरीले आरोप लगाएको छ, जसलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही हुनेछ ।

ऐनको दफा ४५ मा अनधिकृत रूपमा कम्प्युटर सामग्रीमा पहुँच पुर्याउन निषेध गरिएको छ । कुनै कम्प्युटरमा रहेको कार्यक्रम, सूचना, तथ्यांकमा अनधिकृत पहुँ बनाए दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै जरिवाना हुन सक्ने व्यवस्था छ । यस्तै प्रहरीले भुषालमाथि सूचनाको हक सम्बन्धी ऐनको दफा ३ अनुसार मुद्दा दायर गर्ने तयारी गरेको छ ।

उक्त दफामा ‘अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर गर्ने विषयमा सूचनाको हक नलाग्ने’ व्यवस्था छ । भुषालले उक्त दफाको उल्लंघन गरि सूचनाको हकको अधिकारलाई दुरुपयोग गरि प्रहरीको अनुसन्धानमा अवरोध सृजना गरेको प्रहरीको ठहर छ ।

उक्त ऐन अनुसार कारवाही गर्ने तयारी गरिए पनि यो दफा विपरीत काम गर्नेलाई के कारबाही हुने भन्ने व्यवस्था नभएकोले के सजाय हुन्छ भन्ने अन्योल सृजना भएको छ । 

सूचनाको हक सम्बन्धी ऐनको दफा ३२ को उपदफा ४ का अनुसार ‘जुन प्रयोजनका लागि सूचना लिएको हो त्यस बाहेक दुरुपयोग गरेमा कसूरको गम्भीरता हेरी पाँच हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने’ व्यवस्था छ ।

त्यस्तै, दफा ४७ मा विद्युतीय स्वरूपमा गैरकानूनी कुरा प्रकाशन गर्न रोक लगाइएको छ । उक्त दफामा कम्प्युटर, इन्टरनेट लगायत विद्युतीय सञ्चारमाध्यममा कानूनले निषेध गरिएका चिज प्रकाशन गर्न नहुने भनिएको छ । यस्तो कसूर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ । भुसाललाई यही विद्युतीय कारोबार ऐन सम्बन्धी कसूर आकर्षित हुनेछ ।




comments powered by Disqus