गत साता तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो सुनको भाउ, अझै कतिसम्म घट्ला?

Dec 21, 2024 06:29 AM Merolagani



गत साता सुनको भाउ तोलामा ४ हजार ५०० रुपैयाँले घटेको छ। अन्तराष्ट्रिय बजारमा सुनको भाउ निरन्तर घट्दा नेपाली बजारमा पनि सुनको भाउ घट्दै गएको हाे।

अघिल्लो साताको अन्तिम दिन प्रतितोला १ लाख ५३ हजार रुपैयाँ रहेको छापावाला सुनको भाउ गत साताको अन्तिम दिन प्रतितोला १ लाख ४८ हजार ५०० रुपैयाँमा झरेको छ।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ निरन्तर घट्दो क्रममा छ। गत सातामात्रै सुनको भाउ प्रतिआउन्स करिब १०० डलरले घटेको थियो। अहिले अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रतिआउन्स २६०० डलरभन्दा तल झरिसकेको अवस्था छ। यसले गर्दा पनि नेपाली बजारमा सुनको भाउ निरन्तर घटेको हो

यसैगरी गत साता चाँदीको भाउ पनि तोलामा १०० रुपैयाँले घटेको छ। अघिल्लो साता प्रतितोला १ हजार ८६० रुपैयाँ रहेको चाँदी गत साताको अन्तिम दिनसम्ममा प्रतितोला १ हजार ७६० रुपैयाँमा झरेको छ।

सुनको भाउ निरन्तर घटेपनि अझै उपभोक्ताले सहर्ज सुन भने पाउन सकेका छैनन्। अहिले व्यवसायीले नै सुन खरिद गर्दा महासँघले तोकेको भन्दा केहि महँगो मूल्य तिरेर सुन खरिद गर्नु परेको छ। सुनको भाउ एकैपटक ह्वातै घटेको कारण पनि बजारमा सुनको अभाव देखिएको हो।

अहिले सिजन नरहेको कारण पनि पुस लागेपछि सुनको ठुलो कारोबार भने नरहेको व्यवसायीहरु बताउछन्। भाउ घटेको कारण माग केहि आइरहेको भएपनि मंसिरको तुलनामा भने माग घटेको उनीहरु बताउँछन्।

अहिले अन्तराष्ट्रिय बजारमा सुनको भाउ घट्दो क्रममा देखिएकोले नेपालमा सुनको भाउ अझै घट्न सक्ने आँकलन गरिएको छ। अन्तराष्ट्रिय केहि सञ्चारमाध्यमले सुनको भाउ प्रतिआउन्स २५०० डलरको आसपास आउनसक्ने आँकलन गरेका छन्। त्यसो हुँदा नेपालमा पनि सुनको भाउ १ लाख ४५ हजार रुपैयाँभन्दा तल आउने छ।

 

 




comments powered by Disqus