आर्थिक वर्ष २०८१/८२ को कात्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरुको करिब ३६ हजार पोलिसी सरेन्डर भएकोमा मंसीर मसान्तसम्म पुग्दा यो संख्या ४५ हजार नाघेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार मंसीर महिनासम्ममा ४५ हजार ६० वटा पोलिसी सरेन्डरबापत् ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको देखिन्छ ।
जीवन बीमा पोलिसी लामो अवधिको हुन्छ। उक्त पोलिसीमा तोकिएको समय (त्रैमासिक/अर्धवार्षिक/वार्षिक) रुपमा केही रकम प्रिमियमस्वरुप तिर्नुपर्ने हुन्छ । आवधिक रुपमा पोलिसी तिर्न नसक्ने अवस्थामा बीमा गर्ने व्यक्तिले उक्त बीमालाई निरन्तरता नदिईकन बीचैमा बन्द गर्ने अवस्थालाई पोलिसी सरेन्डर भन्ने गरिन्छ । पोलिसी सरेन्डर गर्दा बिमितले पाउनुपर्ने रकमबाट केही प्रतिशत रकम बीमा कम्पनीले काटेर मात्रै बिमितलाई बाँकी रकम हस्तारन्तरण गर्ने गरिन्छ ।
बीमा पोलिसी सरेन्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा, फोर्सफुल्ली बीमा पोलिसी खरिद, प्रलोभन लगायत गतिविधिका कारण बीमा पोलिसी सरेन्डरको दर बढ्दै गएको हो । बीमा एजेन्टले बीमाको सकारात्मक पक्षको बारेमा मात्रै बढाई चढाई वर्णन गर्ने र सकेसम्म धेरै रकमको बीमा गराउने परिपाटी छ । पहिलोपटक बीमा एजेन्टले पनि मोटो रकम कमिसनको रुपमा हात पार्ने गर्दछ । बीमासम्बन्धी जानकारहरुका अनुसार बीमा एजेन्टले आफ्नो आम्दानीको कति प्रतिशतसम्म बीमा प्रिमियममा खर्च गर्ने भन्ने बारे पर्याप्त जानकारी नदिँदा पछि बीमा प्रिमियम तिर्न नसकेर सरेन्डर गर्नेहरु बढेको बताउँछन ।
प्राप्त तथ्याङक अनुसार संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये समिक्षा अवधिमा एलआइसी नेपालको पोलिसी सरेन्डर सर्वाधिक देखिएको छ । एलआइसी नेपालको ११ हजार ७९३ वटा पोलिसी सरेन्डर भएर १ अर्ब ९३ करोड ३५ लाख रुपैयाँ रकम बाहिरिएको हो ।
त्यस्तै, नेपाल लाइफको १० हजार ३१७ वटा बीमा पोलिसी वापत १ अर्ब ६७ करोड ९६ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको ५ हजार ४१० वटा बीमा पोलिसी वापत ५१ करोड ३२ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको हो । एशियन लाइफको ३७ सय ५२ वटा बीमा पोलिसी वापत ४० करोड १४ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको ३ हजार ३३ वटा बीमा पोलिसी सरेन्डर भएर २८ करोड ३० लाख रुपैयाँ रकम बाहिरिएको छ । नेसनल लाइफको २५ सय ४१ वटा पोलिसी वापत ३७ करोड ११ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । सूर्य ज्योति लाइफ इन्स्योरेन्सको २४ सय ८८ वटा बीमा पोलिसी सरेन्डर हुँदा ३२ करोड ६४ लाख रुपैयाँ बाहिरिएको छ भने मेट लाइफको १५ सय १६ वटा बीमा पोलिसी वापत १७ करोड २३ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ ।
पुराना जीवन बीमा कम्पनीहरुको पोलिसी सरेन्डर दर बढी छ भने तुलनात्मक रुपमा नयाँ कम्पनीहरुको पोलिसी सरेन्डर दर कम रहेको तथ्यांकले देखाएको छ । तुलनात्मक रुपमा नयाँ सन नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायल नेपाल लाइफ, आईएमई लाइफलगायतको सरेन्डर दर कम रहेको देखिन्छ ।
नयाँ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्सको बीमा सरेन्डर बढी देखिएको छ । कम्पनीले ११ सय ८ वटा बीमा पोलिसी सरेन्डर हुँदा ८ करोड रुपैयाँ रकम भुक्तानी गरेको तथ्यांक छ । आइएमई लाइफको ७६३ वटा बीमा पोलिसी वापत ८ करोड ४३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ७८७ वटा बीमा लेख सरेन्डरबापत् १० करोड ९५ लाख रुपैयाँ भुक्तानी भएको छ । रिलावल नेपाल लाइफ इन्स्योरेन्सको ७ सय ८ वटा पोलिसी सरेन्डर हुँदा ४ करोड ४६ लाख रुपैयाँ बाहिरिएको छ भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५ सय ४९ वटा पोलिसी सरेन्डर हुँदा ७ करोड ८० लाख रुपैयाँ भुक्तानी गरेका छन् । सबैभन्दा कम बीमा पोलिसी सरेन्डर भने सन नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । कम्पनीको ५ महिनाको दौरान २ सय ९५ वटा पोलिसी सरेन्डर भएर २ करोड ९४ लाख रुपैयाँ रकम बाहिरिएको छ ।