दाेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नाफा घट्यो, कुन बैंकले कमायो सर्वाधिक नाफा?

Jan 20, 2025 09:04 AM Merolagani



वाणिज्य बैंकहरुले दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।

 

२० वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकहरुको नाफा घट्दा समग्रमा बैंकहरुको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा ११ बैंकहरुको नाफा भने बढेको छ।

प्रभु बैंककाे नाफा सर्वाधिक बढ्याे

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा बढाउन सफल बैंक प्रभु बैंक रहेको छ। सो बैंकको खुद नाफा समीक्षा अवधिमा ८५.४९ प्रतिशत बढेको हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै, समीक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ५७ प्रतिशतभन्दा बढी बढेको छ भने ग्लोबल आइएमई बंकको साढे ४९ प्रतिशत र एनएमबि बैंकको साढे ४५ प्रतिशत बढेको छ।

एनआईसी एशिया बैंकको खुद नाफा समीक्षा अवधिमा सबैभन्दा बढी ९२.०३ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १५ करोड १७ लाख रुपैयाँ मात्र नाफा कमाएको छ। त्यसैगरी, समीक्षा अवधिमा कुमारी बैंकको खुद नाफा ६८ प्रतिशतभन्दा बढी घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको नाफा ६२ प्रतिशतभन्दा बढी घटेको छ।

नबिल बैंकको नाफा सबैभन्दा बढी

पुस मसान्तसम्ममा २० बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ। सो बैंकले पुस मसान्तसम्ममा ३ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२९ प्रतिशत मात्र बढी हो। त्यस्तै, ग्लोबल आइएमई बैंकले पुस मसान्तसम्ममा ३ अर्बभन्दा बढी नाफा कमाएको छ।

सो अवधिसम्ममा सबैभन्दा कम नाफा कमाउने बैंक भने एनआईसी एशिया बैंक रहेको छ। सो बैंकले यस अवधिमा १५ करोड रुपैयाँ मात्र नाफा कमाएको छ।

अर्ब क्लबमा ११ बैंक

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ११ बैंकहरुले १ अर्बभन्दा बढी नाफा कमाएका छन्। जसमध्ये दुई बैंकहरुले ३ अर्बभन्दा बढी नाफा कमाएका छन् भने ३ बैंकहरुले २ अर्बभन्दा बढी नाफा कमाएका छन्। बाँकी ६ बैंकहरुको नाफा भने १ अर्बभन्दा बढी रहेको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।