चार बैंकको खराब कर्जा ५ प्रतिशत माथि, १९ वटै वाणिज्य बैंकको खराब कर्जा बढ्यो, घटाउनेमा एभरेष्ट मात्रै

Jan 20, 2025 02:31 PM MeroLagani



अर्थतन्त्र सुस्त हुँदा लामो समयदेखि कर्जा असुलीमा समस्या भोगिरहेको बैंकिङ क्षेत्र थप संकटाेन्मुख देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तमसम्मको तथ्यांकअनुसार ऋण विस्तार सुस्त हुनुको साथै कर्जा असुलीमा समस्या देखिँदा खराब कर्जा झन बढ्दो क्रममा देखिएको छ ।


चालु आवको दोस्रो त्रैमासमा २० वटा वाणिज्य बैंकमध्ये १९ वटा वाणिज्य बैंकको खराब कर्जा बढेको छ भने एभरेष्ट बैंककाे मात्रै खराब कर्जा घटेको तथ्यांंक सार्वजनिक गरिएकाे छ । गत आवको पुस मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकहरूको खराब कर्जा औसत १.०९ बिन्दुले बढेर ४.४९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको पुस मसान्तमा बैंकहरुको खराब कर्जा ३.४० प्रतिशत थियो ।

यो अवधिसम्म सबैभन्दा बढी खराब कर्जा कुमारी बैंकको देखिएको छ । यस अवधिमा कुमारी बैंकको खराब कर्जा अनुपात ६.९६ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा यस बैंकको खराब कर्जा अनुपात ४.९७ प्रतिशत थियो । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज र प्रभु बैंकको खराब कर्जा अनुपात ५ प्रतिशत नाघेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.८६ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.६७ प्रतिशत र प्रभु बैंकको ५.०६ प्रतिशत पुगेको छ ।

अन्य बैंकहरुको पनि खराब कर्जा ५ प्रतिशतकै हाराहारीमा रहेको देखिएको छ । नेपाल बैंकको खराब कर्जा ४.९९ प्रतिशत, हिमालयन बैंकको ४.९८ प्रतिशत, प्राइम कमर्सियल बैंकको ४.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.९६ प्रतिशत, नबिल बैंकको ४.९३ प्रतिशत र कृषि विकास बैंकको ४.९ प्रतिशत खराब कर्जा पुगेको छ ।

सबैभन्दा धेरै खराब कर्जा बढाउने बैंकमा भने एनआईसी एसिया बैंक रहेको छ । विगतमा एकदमै आक्रामक रुपमा अगाडि बढेको एनआईसी एसिया बैंक कुनै समय नबिल बैंकको टक्करमा आउने गर्दथ्यो । एकदमै आक्रामक ऋण विस्तारमा लागेको एनआईसी एसिया बैंक पछिल्लो समय भने ऋण असुलीमा समस्या देखिएपछि खराब कर्जा सबैभन्दा बढी भएको बैंकमा पर्न आएको हो । गत वर्षको पुस मसान्तसम्म १.१९ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुस मसान्तसम्ममा आउँदा ४.६१ प्रतिशत पुगेको छ । खराब कर्जा एकदमै न्यून आउने बैंककै श्रेणीमा पर्ने सानिमा बैंकको पनि खराब कर्जा यसपटक ३.२२ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकले ५ प्रतिशतको सीमा नाघेमा लाभांश वितरण गर्न दिँदैन भने थप व्यवसाय बिस्तार गर्न नदिएर ऋण असुली गर्न निर्देशन दिने गर्दछ । खराब कर्जाहरू धेरै हुन गएमा बैंकहरूको वित्तीय अवस्था नै कमजोर हुने अवस्था सिर्जना हुन्छ । राष्ट्र बैंकको निर्देशनअनुसार खराब वर्गमा वर्गीकरण भएका कर्जाहरुको शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्छ ।

अहिले रिकभरीमा समस्या हुँदा बैंकहरुको खराब कर्जा बढेको बैंकरहरू बताउँछन् । दोस्रो त्रैमासमा पनि अधिकांश बैंकले ठूलो रकम प्रोभिजनिङ गरेका छन् । अहिले अधिकांश बैंकहरुको ध्यान नयाँ व्यवसाय विस्तार गर्नुभन्दा पनि खराब कर्जा असुलीमा केन्द्रित भएको देखिएको छ ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।