विगतको तुलनामा निर्यात बढे पनि समग्रतामा निर्यातको तुलनामा आयातको अवस्था निकै उच्च रहेको छ । प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८१÷८२ को ६ महिनामा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भई रु.९८ अर्ब ७९ करोड पुगेको छ ।
जबकी आयात भने कुल वस्तु आयात जम्मा ७.१ प्रतिशतले बढ्दा पनि रु.८ खर्ब २२ अर्ब ३७ करोड पुगेको छ ।
यो अवधिमा मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । २०८१ पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ ।
राष्ट्र वैंकका अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.१ प्रतिशतले र अमेरिकी डलरमा १.१ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति रु.२४९ अर्ब २६ करोडले बचतमा रहेको छ । २०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई २०८१ पुस मसान्तमा रु.२३१६ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको छ ।
आर्थिक वर्ष २०८१÷८२ को छ महिनामा नेपाल सरकारको कुल खर्च रु.६६७ अर्ब ६० करोड रहेकोछ । समीक्षा अवधिमा चालु खर्च रु.४५२ अर्ब, पँुजीगत खर्च रु.५६ अर्ब ९४ करोड र वित्तीय व्यवस्था खर्च रु.१५८ अर्ब ६६ करोड रहेको छ ।
नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.५५९ अर्ब ६१ करोड पुगेको छ । यस अन्तर्गत कर राजस्व रु.४८९ अर्ब ४० करोड र गैर कर राजस्व रु.७० अर्ब २१ करोड परिचालन भएको छ ।
यो अवधिमा विस्तृत मुद्राप्रदाय ३.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ६.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा विस्तृत मुद्राप्रदाय १०.२ प्रतिशतले बढेकोछ । यो अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु.२४९ अर्ब २६ करोड (१२.५ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.२७३ अर्ब ५२ करोड (१८.८ प्रतिशत) ले बढेको थियो ।
राष्ट्र वैंकका अनुसार २०८१ पुस मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.४३०२ अर्ब ८८ करोड कायम भएको छ । २०८० पुस मसान्तमा बजार पुँजीकरण रु.३३३० अर्ब ७५ करोड रहेको थियो ।