क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Mar 06, 2025 10:00 AM Merolagani



क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आज (फागुन २२ गते), बिहीबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशनमा ल्याएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

 

त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वासाधारणका लागि निष्काशन गरेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले आज अर्थात फागुन २२ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो। सो आईपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि चैत ७ गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड र आरबिबि म्युचुअल फण्ड १ रहेका छन्।

कति कित्ता आवेदन दिन?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्।

मध्यम जोखिम जनाउने रेटिङ्ग

साधारण शेयरको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेड, काठमाडौँबाट रेटिङ्ग गराएको छ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको मानिन्छ।

इक्रा नेपालले कम्पनीलाई २०८१ भदौ ७ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको अवधि १ वर्ष अर्थात २०८२ भदौ ५ गतेसम्म बहाल रहनेछ।

कस्तो कम्पनी हो?

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०७९ पुस १३ नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो। बीमा ऐन २०७९ तथा बीमा नियमावली २०४९ अनुसार २०७९ चैत २८ गतेका दिन नेपाल बीमा प्राधिकरणबाट लघु जीवन बीमा इजाजत–पत्र प्राप्त गरी लघु जीवन बीमा कम्पनीको हैसियतले मिति २०८० जेठ ८ गतेदेखि लघु जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ।

कम्पनीको रजिष्टर्ड कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नं. ६, सुर्खेत जिल्लामा रहेको छ। साथै, कम्पनीको प्रादेशिक कार्यालय तथा प्रादेशिक कार्यालय रमेश कम्प्लेक्स, ललितपुरमा रहेको छ। कम्पनीले आवश्यकता अनुसार नेपाल बीमा प्राधिकरणको स्वीकृति लिई नेपाल राज्यभर आफ्नो शाखा, उपशाखा तथा सम्पर्क कार्यालय खोली लघु जीवन बीमा सम्बन्धी कारोबार गर्न सक्नेछ।

कम्पनीले हालसम्ममा प्रादेशिक कार्यालय सहित २३ वटा शाखा तथा उपशाखा कार्यालयहरुबाट आफ्नो लघु जीवन बीमा सम्बन्धी कारोबार गर्दै आइरहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्य अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पूँजी संकलन गर्न र सञ्चालक समितिमा सर्वसाधारणको समेत प्रतिनिधित्व गराउन कम्पनीले आईपीओ जारी गरेको हो।

यसका साथै, कम्पनीले आफ्नो सेवा विस्तार गर्ने क्रममा बीमा व्यवसायको जोखिम धारण क्षमता बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न पनि कम्पनीले आईपीओ निष्काशन गरेको हो।

त्यसैगरी, बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणद्वारा २०८१ साउन ३० गते प्राथमिक शेयर निष्काशन सम्बन्धमा प्रदान गरिएको सैद्धान्तिक स्वीकृतिको पालना गर्न तथा नेपाल बीमा प्राधिकरणको पत्र अनुसार वार्षिक साधारणसभा अगावै तोकिएको न्यूनतम चुक्ता पूंजी कायम गर्न पनि कम्पनीले आईपीओ जारी गरेको हो।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

साधारण शेयर निष्काशन गरी प्राप्त हुने पूँजी कम्पनी ऐन, बीमा ऐन तथा अन्य प्रचलित कानुनको अधिनमा रही कम्पनीको व्यवसायिक प्रयोजनमा उपयोग गरिनेछ। त्यसैगरी नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको नयाँ लगानी निर्देशिकाले विभिन्न पूर्वाधारजन्य क्षेत्रहरु तथा राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरुमा लगानीको अवसरहरु प्रदान गरेकोले त्यस्तो क्षेत्रहरुमा लगानी विस्तारका लागि उक्त रकम उपयोगको लागि पहल गरिनेछ।

वित्तीय अवस्था

आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सञ्चित मुनाफा ३९ लाख ५२ हजार रुपैयाँ थियो। त्यस्तै, गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको यस्तो मुनाफा ८८ लाख ५५ हजार रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ६९ लाख ५९ हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ भने आगामी आर्थिक वर्षमा ९ करोड ९४ लाख ५९ हजार रुपैयाँ सञ्चित मुनाफा कमाउने प्रक्षेपण गरेको छ।

आर्थिक वर्ष २०७९/८० को अन्त्यमा कम्पनीको प्रतिशेयर आम्दानी ८६ पैसा रहेको थियो भने प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ८६ पैसा रहेको छ। त्यसैगरी, गत आर्थिक वर्ष कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४१ पैसा र प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ २७ पैसा रहेको छ। चालु आर्थिक वर्ष कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७४ पैसा र प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ३१ पैसा हुने प्रक्षेपण गरेको छ।

सञ्चालक समितिको संरचना

कम्पनीको नियमावलीको नियम २७ मा भएको व्यवस्था अनुसार ७ जना सञ्चालक सदस्य रहेको सञ्चालक समिति गठन हुने व्यवस्था रहेको छ। जसमध्ये संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गने सञ्चालकहरु ४ जना, स्वतन्त्र सञ्चालक १ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना रहने व्यवस्था रहेको छ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा ऋषि राज मोर रहेका छन् भने अन्य सञ्चालकहरुमा मृदुला सरिया, रोहित करण बैद्य, विदुर पुरी र पवित्र लाल चुके रहेका छन्।

भावी योजना तथा रणनीति

लघु जीवन बीमा बजारको भौगोलिक, क्षेत्रगत, आर्थिक स्तर तथा साक्षरताको अवस्थालाई आधार लिई अध्ययन तथा अनुसन्धान गरी समय सापेक्ष रणनीतिक योजना सहित कम्पनीलाई अगाडी बढाउने योजना रहेको छ।

त्यस्तै, समुदायको माग र आवश्यकताको सम्बोधन हुने गरी नयाँ लघु जीवन बीमा योजनाहरु बीमा बजारमा प्रस्तुत गर्दै देशको दुरदराजसम्म सेवा प्रदान गर्ने तथा अभिकर्ता सञ्जाललाई वृद्धि गर्दै चरणबद्ध गरि क्रियाशिल बनाई व्यवसाय अभिवृद्धि गर्ने, आगामी दिनहरुमा शाखा विस्तारमा थप जोड दिने, कम्पनीको सूचना प्रविधिको विकास र विस्तारलाई थप तिव्रता दिई कार्यक्षमता र सुरक्षामा वृद्धि गर्ने कम्पनीको योजना रहेको छ।

कम्पनीको अन्य योजनाहरुमा लघु जीवन बीमा सेवालाई प्रविधिमैत्री बनाउने र सो को सरल तथा सुलभ रुपमा उपलब्ध गराउने, बीमितद्वारा संकलित बीमा शुल्कलाई उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने, कर्मचारी तथा अभिकर्ताहरुको पेशागत दक्षता अभिवृद्धिका कार्यक्रमहरु तर्जुमा गर्ने, लगानीको विविधिकरणमा विशेष ध्यान दिई उच्च प्रतिफल प्राप्त हुने सुरक्षित क्षेत्रमा लगानी बढाउँदै लैजाने रहेको छ। कम्पनीले प्रत्येक ३/३ महिनामा समीक्षा गर्दै जाने रणनीति बनाएको छ।

ओपनिङ्ग रेञ्ज कति?

आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।

आर्थिक वर्ष २०७९/८० मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ८६ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँ ८६ पैसादेखि ३०२ रुपैयाँ ५८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।




comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट

Mar 07, 2025 10:35 AM

फागुन २३ गते, शुक्रबार, नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।