र, यो इतिहास रच्दैछन् बैंक अफ इङ्गल्याण्डका पूर्व गभर्नर मार्क कार्नीले । सन् २०१३ देखि २०२० सम्म बेलायतको केन्द्रीय बैंक अर्थात् बैंक अफ इङ्गल्याण्डको गभर्नर रहेका कार्नी मार्च ९ तारिखमा क्यानडाको प्रधानमन्त्री बन्दैछन् ।
लिबरल पार्टीको नेतृत्वका लागि भएको निर्वाचनमा पूर्व वित्त मन्त्री क्रिस्टिया फ्रील्याण्डलाई हराउँदै विजयी भएपछि कार्नी प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको हो । उनले हालका प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थान लिनेछन् ।
‘राष्ट्रवादको हावा’ चलिरहेको बर्तमान समयमा एउटा देशको केन्द्रीय गभर्नर भएको व्यक्ति अर्काे देशको प्रधानमन्त्री बन्नु कुनै आठौं आश्चर्य भन्दा कम छैन । तर, कार्नीको लागि त्यो ठूलो कुरा नहुन सक्छ । किनकी उनी बेलायतको मात्रै होइन, क्यानडाको केन्द्रीय बैंक (सेण्ट्रल बैंक अफ क्यानडा)को पनि गभर्नर भइसकेका छन् ।
सन् २००८ देखि २०१३ सम्म क्यानडाको गभर्नर रहेका उनी त्यहाँबाट अबकास पाएको केही दिनमै बेलायतको केन्द्रीय बैंकका गभर्नर बनेका थिए । सन् २०२०मा त्यहाँबाट अबकाश पाएका थिए ।
२००८ देखि शुरु भएको मानिएको विश्वव्यापी आर्थिक मन्दीलाई क्यानडामा प्रभाव कम गर्न कार्नीको भूमिका ऐतिहासिक रहेको चर्चा गर्ने गरिन्छ । त्यसैको प्रतिफलस्वरुप उनी बेलायतको गभर्नर बनेका थिए र त्यहाँ पनि निकै राम्रो प्रभाव छोडेका थिए ।
क्यानडा, बेलायत र आयरल्याण्ड गरी तीन देशको नागरिक रहेका ५९ वर्षिय कार्नी जन्मले भने क्यानेडियाली नै हुन् ।
शायद दुई देशको गभर्नर लगायतका विभिन्न पदमा रहेर निर्वाह गरेको प्रभावकारी भूमिकाकै कारण उनी क्यानडाको राजनीतिमा प्रवेश गरेको केही वर्षमै प्रधानमन्त्री बन्दैछन् ।
विश्वव्यापीरुपमा ‘राष्ट्रवादी राजनीति’को हावा फैलिरहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई आफ्नो ५१ औं प्रान्त बनाउने घोषणा गरिसकेको अवस्थामा कार्नीको प्रधानमन्त्रीत्वकाल कस्तो रहला ? त्यो भने अहिले नै भन्न सकिन्न ।