३ विकास बैंक र २ फाइनान्स कम्पनी परे केन्द्रीय बैंकको कारवाहीमा

Apr 24, 2025 12:16 PM Merolagani



नेपाल राष्ट्र बैंकले ३ विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारवाही गरेको छ। केन्द्रीय बैंकले मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, जानकी फाइनान्स र पोखरा फाइनान्सलाई कारवाही गरेको हो।

केन्द्रीय बैंकले गरेको स्थलगत निरीक्षणको क्रममा मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको अध्यक्ष भरतराज ढकाल संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजकका हैसियतले सहभागी भएको पाइएपछि राष्ट्र बैंकले सचेत गराएको हो।

त्यसैगरी, नारायणी डेभलपमेन्ट बैंकले न्यूनतम चुक्ता पूँजी र पूँजीकोष अनुपात कायम नगरेको, तोकिएको सीमा भन्दा बढी निक्षेप संकलन गरेको र एकल ग्राहक कर्जा सीमा भन्दा बढी कर्जा प्रवाह गरेको भन्दै केन्द्रीय बैंकले नारायणीको सञ्चालक समितिलाई न्यूनतम चुक्ता पूँजी तथा पूँजीकोष अनुपात २०८२ असार मसान्तभित्र अनिवार्य कायम गर्न र निर्देशनहरु पालना गर्न लिखित आदेश दिएको छ ।

राष्ट्र बैंकले सालपा विकास बैंकले पनि तोकिएको न्यूनतम चुक्ता पूँजी हालसम्म पनि कायम नगरेको तथा तोकिएको चुक्ता पूँजी पुर्याउनका लागि दिइएका निर्देशनहरु पनि पालना नगरेको बताएको छ। यसका लागि सालपाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) खण्ड (क) बमोजिम केन्द्रीय बैंकले नसिहत दिएको छ।

राष्ट्र बैंकले पोखरा फाइनान्स र जानकी फाइनान्सलाई न्यूनतम पूँजीकोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेको भन्दै शीघ्र सुधारात्मक कारबाही गरेको हो।

साथै, पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङलाई आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै ५ लाख रुपैयाँ जरिवाना पनि गरेको छ भने पोखरा फाइनान्सले अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा ४६ हजार ७१८ रुपैयाँ २३ पैसा जरिवाना पनि तिर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।





माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।