राप्ती हाइड्रोको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

Jun 15, 2025 06:57 AM Merolagani



राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) ले आज (असार १ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ ६ गते बुकक्लोज गरेको थियो। यस अनुसार जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ क्यापिटल नारायणचौर नक्साल काठमाडौं र राप्ती हाइड्रोको कर्पोरेट कार्यालय त्रिपुरेश्वर, काठमाडौंबाट आवेदन दिन सकिनेछ। मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु विर्तामोड झापा, विराटनगर मोरङ, विरगंज–पर्सा, जनकपुर–धनुषा, नारायणगड– चितवन, पोखरा कास्की (चिप्लेढुङ्गा), बुटवल रुपन्देही नेपालगञ्ज बाँके, वीरेन्द्रनगर सुर्खेत, धनगढी कैलाली र महेन्द्रनगर कञ्चनपुरबाट आवेदन दिन सकिनेछ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।